विश्वासको मत लिनुपर्ने बाध्यतामा मुख्यमन्त्री गुरूङ « Khabarhub

विश्वासको मत लिनुपर्ने बाध्यतामा मुख्यमन्त्री गुरूङ



पोखरा– गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतबार शुरु भएको छ । प्रदेश सभाको वर्षे अधिवेशनको पहिलो दिन सबै दलका संसदीय दलका नेताहरुले सम्बोधन गरेका छन् ।

अधिवेशनको पहिलो बैठकमा आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली (पोखरेल), माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सम्बोधन गरेकी थिइन् ।

बजेट अधिवेशनको पहिलो दिन उनीहरुले नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार १५ जेठमा प्रस्तुत गरेको बजेटको आलोचना गरेका छन् ।

यसअघि गण्डकी प्रदेशको सरकार गठनका क्रममा पार्टी निर्देशन विपरित कार्य गरेको भन्दै पार्टी सदस्यबाटै एक वर्षका लागि निलम्बर गरिएका राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्णबहादुर थापा अनुपस्थित थिए । थापाको अनुपस्थितिमा सचेतक पियारी थापाले सम्बोधन गरेकी थिइन् ।

सोमबारदेखि प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने जनाइएको छ । गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङकाअनुसार बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेश गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट निर्माण गरिनेछ । प्रदेश सरकारले असार १ गते संसदमा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता छ ।

आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले बजेटको आकार भने घटाउने भएको छ । संघबाट करिब १५ अर्बको वित्तीय हस्तान्तरणको सिलिङ प्रस्तुत गरेकाले प्रदेश सरकारले बजेटको आकार घटाउने बताइएको छ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्ने

प्रदेशसभाको यसै अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् ।

गत वैशाख २ गते गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई वैशाख २७ गते मतदान हुनुअघि वैशाख २६ गते गुरुङले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

गण्डकीका प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार बनाउन आह्वान गरेपछि बहुमतको सरकार दाबी नपुगेको भन्दै ठूलो दलका नेताका हैसियतमा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका गुरुङले  ३० दिनभित्र जेठ २९ गतेअघि नै संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

हालै खेलकुदमन्त्री बनाइएका स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सहित सत्तारुढ एमालेको २८, कांग्रेसको १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ८ : ४५ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा