माधवनारायण व्रतका ब्रतालुले गरे पशुपतिनाथमा पूजा आराधना | Khabarhub Khabarhub

माधवनारायण व्रतका ब्रतालुले गरे पशुपतिनाथमा पूजा आराधना


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।

पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथको दर्शन गरेको बर्तालुसँगै रहेका लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले बताए ।

पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अघ्र्यदान गरेका छन् । ताम्रेश्वरमा अघ्र्यदानपछि बर्तालु पैदल हिँडेर सलम्पाख भनिने सानोगौचरणमा आएर भोजन गर्ने तयारीमा रहेको जानकारी पनि उनले दिएका छन् । भोजनपछि बर्तालु सिंहदरबार हुँदै दक्षिणकाली नगरपालिकाको शेषनारायणमा गएर बास बस्छन् ।

माधवनारायणलाई भने नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा दर्शन गराएर भोटाहिटी र हनुमानढोका दरबार क्षेत्रमा पूजा गरी टेकु हुँदै शेषनारायण लगिन्छ । राजसंस्था हुञ्जेलसम्म नारायणहिटी दरबारमा राजालाई पनि माधवनारायणको दर्शन गराउने परम्परा थियो ।

माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा गर्छन् । सोमबार बिहान साँखुबाट बज्रयोगिनी माइको दर्शन गरी साँखुमा आएर बर्तालुले भोजन गरेका थिए । भोजनपछि पैदल हिँडेर बर्तालु सोमबार बेलुकी पशुपति क्षेत्रमा आइपुगेका थिए ।

कोरोनाको तेस्रो लहर फैलिरहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको बर्तविधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर माधवनारायणका बर्तालुको दर्शन विधि पूरा गर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

पर्व पूजा भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी माधवनारायणका बर्तालुलाई पशुपतिनाथ मूल मन्दिरमा दर्शन गराइएको उनले सुनाए ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । व्रतमा यसवर्ष १०६ जना महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ ।

हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ०० बजे

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम

बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान

दमौली– जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत

एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी 

काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने

जाऊँ है हेर्न चित्लाङको भेडाफार्म (तस्बिरहरू)

काठमाडौं– बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नं. ६ मा

बाँझिएका बारीहरूमा उखुखेती, पाँच महिनामा एक करोडको कारोबार

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर