काठमाडौँ– आमाको पहिलो बिगौती दूध शिशुका लागि अमृत समान हुन्छ । जसले धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
आमाको दूधमा कीटाणुनाशक तत्वहरू हुन्छन् । तर, अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन ।
आमाको दूधले शिशुको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तर, पछिल्लो समय आफ्नो सुन्दरता बिग्रन्छ भनेर धेरै जनाले शिशुलाई दूध नखुवाउने गरेको पाइन्छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । शिशु जन्मेपछि उसले स्तनपान गर्न पाउनु नैसर्गिक अधिकार हो ।
पछिल्लो समय केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रनेजस्ता गलत धारणा रहेको पाइन्छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सहानुभूति हुनुका साथै गौरव महसुस हुने गर्छ ।
स्तनपान गराउँदाका फाइदा
पहिलेको समयमा स्तनपान गराउँदा शिशुको स्वास्थ्य राम्रो हुने भनेर स्तनपान गराएको पाइन्थ्यो । तर अहिले नयाँ ट्रेन्ड भएर हो या आमाहरु व्यस्त भएर हो, स्तनपान नगराएको पाइन्छ ।
धेरै आमा एक/दुई महिनामा काममा फर्किने भएकाले पनि शिशुलाई चाहिने जति स्तनपान नगराइएको पाइन्छ ।
आमाको दूधमा डाइरिया, वान्ता रोक्न सक्ने क्षमता हुन्छ । गाईको दूध खुवाउँदा पनि यी रोगबाट जोगिने सम्भावना हुन्छ। शिशुलाई स्तनपान गराउँदा आमासँगको सबन्ध आत्मीय हुन्छ । साथै बच्चालाई हाइपरथर्मीयाबाट समेत जोगाउँछ । आमाको दूधले शिशुको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोग लाग्न पाउँदैन ।
स्तनपान नगराउने चलन
हामीले शिशु जन्मिसकेपछि जहिले पनि सुत्केरीलाई ब्रेस्ट फिडिङ गराउन सल्लाह दिन्छौँ ।
सकेसम्म हामी बोतल फिडिङलाई राम्रो होइन भनेर बुझाउन खोज्छौँ । हामीले शिशु जन्मेपछि कसरी ब्रेस्ट फिडिङ गराउने, कुन पोजिसनमा राखेर गराउने भन्ने कुरा सम्झाउँछौ ।
ब्रेस्ट फिडिङ प्राकृतिक हुन्छ । त्यसैले शिशुलाई चाहिएको बेला महिलाले दूध खुवाउँदा कुनै समस्या हुँदैन ।
कतिपयले भने दूध आएन पनि भन्ने गर्नुहुन्छ । शिशुले जति आमाको दूध चुस्यो त्यति नै दूध आउने हो । त्यसैले शिशुलाई धेरैभन्दा धेरै दूध चुसाउनु पर्छ । हामीले यो सबै कुरा परिवारको सबै जनालाई राखेर बुझाउने पनि गर्छौँ ।
स्तनपान गराउनु र बोतलको दूध खुवाउनुमा फरक
आमाको दूधले शिशुलाई विभिन्न रोगबाट बचाउँछ । यसले शिशुको आमासँग सम्बन्ध राम्रो हुनुको साथै आत्मीयता पनि बढ्छ । बोतल फिडिङ गर्दा बच्चालाई इन्फेक्सन हुने सम्भावना पनि उत्तिकै हुन्छ ।
राम्रोसँग बोतल सफा गरेको छैन भने धेरै प्रकारका संक्रमण लाग्ने डर हुन्छ । आमाको दूध शिशुलाई कम्तीमा ६ महिनासम्म खुवाउनुपर्छ । तर, स्वभाविक रुपमा बाहिर काम गर्ने आमालाई गाह्रो हुन्छ ।
कुनै आमाले शिशुलाई काम गर्ने कार्यालयमै लगेर दूध खुवाउने गरेका पनि उदाहरण छन् । कुनै अफिसमा शिशुलाई राख्ने ठाउँ पनि बनाइएको हुन्छ ।
त्यहाँ आमा आएर एक/दुई घण्टाको फरकमा दूध खुवाउने गर्छन् । त्यो सम्भव भएन भने बिहान घरमा आमाको दूध दुहेर घरमा राखेर फेरि तताएर पनि खुवाउन मिल्छ । तर, सकेसम्म बोतल फिडिङ गराउनु राम्रो मानिँदैन ।
किन आउँदैन आमाको दूध ?
आमाको दूध नआउने भनेको शिशुलाई दूध नखुवाएर हो । शिशुलाई जति दूध खुवायो त्यति दूध आउँछ । तर, आमालाई डाइबिटिज, हाइपरटेन्सन, हाइपरथाइराडिज्म, डिप्रेसन, ब्रेन ट्युमर लगायतका रोगको समस्या छ र औषधी पनि खाइरहेको छ भने दूध नआउने समस्या हुन्छ ।
यो अवस्थामा चिकित्सकले नै नखुवाउनु भनेर सल्लाह दिन्छन् । कसैले कडा एन्टिबायोटिक खाएको छ भने २/३ हप्ता दूध खुवाउनु हुँदैन । केही नभएको अवस्थामा आमाले जतिसक्दो शिशुलाई दूध खुवाइरहनु पर्छ । साथै आमाले ज्वानोको झोल, जेरी, घिउ लगायतका पौष्टिक तत्व खाँदा पनि दूध आउने हुन्छ ।
शिशुलाई कुन दूध खुवाउँदा राम्रो
शिशुलाई आमाको दूधभन्दा राम्रो अरु केही हुँदैन । तर, आमाको दूध आउँदै नआएमा सब्चिच्युट दिनुपर्ने हुन्छ । ल्याक्टोजिन , गाईभैँसीको दूध खुवाउनुपर्छ । तर, अरु दूध खुवाए पनि शिशुलाई आमाको दूध चुसाइरहनु पर्छ ।
शिशुले दूध चुस्यो भने आमाको पाठेघर पनि छिटो आफ्नो ठाउँमा जान्छ । महिलामा रगत बग्ने समस्या पनि कम हुन्छ । जति शिशुलाई दूध खुवायो आमालाई गर्भनिरोधकका साधन पनि प्रयोग गर्नुपर्दैन ।
दूध खुवाएपछि ब्रपिङ गराउनुपर्छ
शिशु जन्मिएपछि हामीले कसरी दूध खुवाउने भनेर पनि हामी शतर्क हुनुपर्छ । शिशुलाई देब्रेतिर राखेर एउटा हातमाथि एउटा हात तल पारेर दूध खुवाउनुपर्छ ।
शिशुलाई दूध खुवाएपछि ढाड मसाज गरेर ब्रपिङ गराउनुपर्छ । अनि मात्र शिशुलाई सुताउनुपर्छ । यदि शिशुले खाएको दूध वान्ता गर्यो भने त्यो राम्रो हुँदैन ।
स्तनपानले आमालाई धेरै फाइदा
आमाले शिशुलाई दूध खुवाउँदा आमालाई ब्रेस्ट क्यान्सर हुनबाट जोगाउँछ । आमालाई मानसिक तथा शारीरीक रुपमा सन्तुष्टि प्राप्त हुन्छ । आमाको पाठेघर पनि छिटो आफ्नो ठाउँमा जान्छ, जसले गर्दा पाठेघरमा समस्या हुन दिँदैन ।
स्तनपानसम्बन्धी कानुनी व्यवस्था
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति विदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवर्धन र सहजीकरणका लागि ९८ दिन पूर्ण तलबी विदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ ।
सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ ।
हरेक कार्यालय, स्कूल, बसपार्क र एयरपोर्टजस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ ।
स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा परिभाषित गरिएको छ ।
स्तनपान र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु विक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको छ ।
प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवर्धन तथा स्थापित गर्न मातृशिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
प्रतिक्रिया