वनहराका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल | Khabarhub Khabarhub

वनहराका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिकाको पूर्वी सीमा नदी वनहरा छेउमा झुपडी बनाई बस्दै आएका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ । वनहरा नदीले भूमिहीन परिवार बसोबास गर्दै आएको क्षेत्रतर्फ कटान गर्न थालेपछि उनीहरू जोखिममा परेका हुन् ।

 “एकातर्फ नदीले जग्गा कटान गरिरहेको छ”, पीडित दलबहादुर बोहराले भने, “अर्कातर्फ नालामा वर्षाको पानी भरिन्छ, बाढी आए भाग्ने ठाउँ नै छैन ।” आकाशमा वर्षा गराउने बादल आउने क्रम सुरु भएसँगै झुपडी छाडेर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता भएको उनले बताए।  रातिका बेला वर्षा हुन थालेपछि नजिकैको नदीमाथि बनाइएको पुलमा ओत लाग्नका लागि जाने गरेको पीडित प्रकाश साउदले बताए।

 “वर्षा कति बेला हुन्छ थाहा हुँदैन”, उनले भने, “त्यही भएर बालबालिकासहित पुलमुनि छाडा चौपायासँगै सुत्नुपर्ने बाध्यता छ ।” दिउँसो झुपडीमा गर्मीका कारण बस्नै सकिँदैन । वर्षा भए झोपडी चुहिन्छ । यस्तो अवस्थामा पुलमुनि सुत्नुको विकल्प नभएको उनी बताउँछन्। शिविरमा बस्दै आएका परिवारका छानामा राखिएका त्रिपाल पुराना भइसकेका छन् । त्यसबाट वर्षात्को पानी चुहिन्छ । अत्यावश्यक सामान जोगाउनका लागि निकै समस्या भएको भूमिहीन परिवारको दुःखेसो छ ।

वन क्षेत्र नजिकै बस्दै आएका भूमिहीन परिवारलाई नदीको बाढीसँगै जङ्गली जनावरको समेत उत्तिकै डर छ । “झुपडी छेउबाटै गए राति बाघले गाईलाई मारेर घिसार्दै वन क्षेत्रमा लग्यो”, पीडित अमृता साउदले भने, “जीउ जोगाउनसमेत मुस्किल भइसकेको छ, सुरक्षित स्थानमा शिविर सार्न पाए ज्यान जोगिन्थ्यो ।”

डडेल्धुराको आलितालमा पहिराले घरखेत सबै बगाएर लग्दा भूमिहीन भएर शिविरमा बस्न आएको उनले बताए । “पीडित भएर बस्नका लागि ठाउँ खोज्दै यहाँ आइपुग्यौँ, यहाँ पनि सुरक्षित रूपमा बस्न नपाइने भएको छ, राति लामखुट्टेले टोकेर हैरान बनाउँछन्, बालबालिकालाई लामखुट्टेबाट जोगाउन जाग्रामसमेत बस्नुपर्छ, नदीमा बाढी आए पुरै परिवार जाग्राम नै बस्छौँ”, उनले भने ।

पुनः स्थापनको आशैआशमा बस्नुपर्ने अवस्था आएको उनले दुखेसो पोखे । नदीको वारि र पारि गरी दुई ठाउँमा आर्यघाटसमेत रहेको छ । “नजिकमा मजदुरी पाइँदैन, कयौँ रात भोकै पनि सुतेका छौँ”, पीडित मानध्वज लुहारले भने, “टाढा गएर फर्कन सकिँदैन, परिवारलाई एक्लै छाडेर जान पनि सकिँदैन, यसै गरी दुई दशक बित्नै लागे पनि पुनः स्थापनको कुनै निकायबाट पहलसम्म हुन सकेको छैन ।”

नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले बालबालिकासहित युवादेखि बूढापाकासम्म बिरामी पर्ने गरेका उनीहरुको भनाइ छ । पीडित कलावती दमाइले भने, “उपचारका लागि आर्थिक अभाव हुँदा झुपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था रहेको छ, आधारभूत स्वास्थ्य केन्द्रबाट सामान्य किसिमको औषधिमात्रै पाइन्छ, स्वास्थ्यकर्मीले औषधि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने लेखिदिन्छन्, पैसा हुँदैन, औषधि खरिद गर्न पाउँदैनाँै, त्यसपछि एउटै विकल्प पीडा सहनु मात्रै रहन्छ ।” दुई दशकदेखि भूमिहीन परिवारले बस्दै आएको शिविरमा १२ परिवार मात्रै बस्दै आएका थिए ।

“शव जलाएको धुवाँ शिविरसम्म पुग्ने गर्दछ, पहिला पहिला शव जलाएको गन्ध आउँदा निकै अप्ठ्यारो हुन्थ्यो”, शिविरका बासिन्दाले भने, “अब बानी नै परिसक्यो, यो क्षेत्र छाडेर अरू ठाउँ जान सकिँदैन, कुन ठाउँ गएर बस्ने हो, पहाडमा छदा बाबुबाजेले अरूको काम गरे, कामै नपाइने भएपछि बाध्य भएर यहाँ आइपुगेका हौँ, यस क्षेत्रमा समेत जीवन जिउन निकै कठिन छ ।”

डडेल्धुराका पहिरो पीडितसमेत थपिएपछि शिविरमा २८ परिवार बस्दै आएका छन्। शिविरमा बाजुरा, बझाङ, अछाम, बैतडी र डडेल्धुराबाट आएका भूमिहीन परिवारको बसोबास रहेको छ । शिविरमा बसोबास गर्दै आएका परिवारको एउटै भनाइ रहेको छ, “हामीलाई सुरक्षित स्थानमा पुनः स्थापन गरिदिनुपर्‍यो ।”

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ६ : ५० बजे

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि