ट्राभल

जलवायु परिवर्तनको जोखिममा नेपालको पर्वतीय पर्यटन

By खबरहब

December 01, 2022

काठमाडौँ : जलवायु परिवर्तनको तीव्र असर देखिएका बेला थपिएको पर्यटन चुनौतिसँगै त्यसको न्युनिकरणका लागि काठमाडौँमा तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

पृथ्वीको बढ्दो तापक्रम, त्यसले पर्यटनमा ल्याउने असर र नेपालको पर्वतीय पर्यटनमा थपिएको चुनौतिका विषयमा गम्भीर छलफल गर्दै आगामी दिनमा निर्णायक कदम चाल्न सहयोग होस् भन्ने उदेश्यले दाताहरुको सहयोगमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य पर्यटन सरोकारवाला संघ संस्था र व्यक्तित्वको सहभागिता छ ।

चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा सुरु भएको सम्मेलनको उद्घाटन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले गरेका छन् । बुधबार उद्घाटन भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन विषयका विज्ञहरुले महत्वपूर्ण तथ्य र पछिल्लो पर्यटनका विषयमा आफ्नो ‘प्रिजेन्टेसन’ राखेका छन् ।

सम्मेलनमा अमेरिकन भूगर्भविद् डा. आलटेन बायरले नेपालमा हुने पूर्वाधार विकास निर्माणको कामले पर्वतीय पर्यटकीयस्थल लोप हुँदै गएकोतर्फ विशेष रिपोर्ट प्रस्तुत गरेका थिए । जलवायु परिवर्तनका कारण नेपालको पर्यटकीय क्षेत्र जोखिममा रहेको उनको भनाई थियो ।

कार्यक्रममा पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले पनि नेपालको पर्यटनको इतिहास, विगत र वर्तमान अवस्था र चुनौतिबारे आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालका पर्यटन व्यवसायी, सरोकारवाला, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

पर्यटन बोर्ड, युएनडीपी लगायत विभिन्न दाताहरुको सहयोगमा सूरु भएको कार्यक्रममा आधा दर्जन बढी संघ संस्थाहरुको सहयोग समेत छ ।