किन हुँदैछ हिटलरसँग पुटिनको तुलना ? | Khabarhub Khabarhub

किन हुँदैछ हिटलरसँग पुटिनको तुलना ?



काठमाडौं। रुस–यूक्रेन युद्ध लम्बिदै जाँदा विश्वमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको छवी एक ‘खलनायक’को रुपमा स्थापित हुँदैछ। पुटिनको युद्धपिपासु हर्कतविरुद्ध विश्वभर हजारौं जनता प्रदर्शन गरिरहेका छन्। रुसमा समेत पुटिनविरुद्ध जनता सडकमा उत्रिएका छन्।

दोश्रो विश्वयुद्धपछि पहिलो पटक रुस–युक्रेन युद्धले तेश्रो विश्व युद्धको संत्रास विश्व जनमतमा फैलाइरहेको छ। राष्ट्रपति पुटिनले परेमा आणविक अस्त्रकै उपयोग गर्ने धम्की दिएपछि नाटो सदस्य राष्ट्र पनि गम्भीर देखिएका छन्। पुटिनको विवेकहीन र एक हिसाबले ‘साइको’ भूमिका देखेपछि विश्वभर उनलाई जर्मनीका नाजी शासक क्रूर तानाशाह हिटलरसँग तुलना गर्न थालिएको छ।

सामाजिक सञ्जालमा पुटिन र हिटलरको तुलना गरेर विभिन्न ट्रोल र कार्टूनहरु पोस्ट गर्नेक्रम बढेको छ। युक्रेनको आधिकारीक ट्वीटर ह्यान्डलमा २५ फेब्रुअरीमा हिटलर र पुटिनको कार्टून ट्वीट भयो। कार्टूनमा हिटलरको प्रशन्न मुद्रा देखिन्छ र उनले पुटिनलाई युद्धको ताण्डव मच्चाउन अनुमति दिएको देखाइएको छ।

अमेरिकाको ह्वाइट हाउसका प्रवक्ता न्यान्सी पेलोसीले पनि रुसी राष्ट्रपतिको आक्रमक रवैयाको तुलना हिटलरसँग गरेकी छन्। सन् १९३८ मा हिटलरले सुडेटेनल्याण्डमा उसैगरी कब्जा गरेका थिए, जसरी अहिले पुटिन यूक्रेनमा कब्जा जमाउन खोज्दैछन्।

अहिले रुसी राष्ट्रपति पुटिनले सुरुमा पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कजस्ता क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिए। तर, यिनै क्षेत्रमा कब्जा जमाएर उनले युक्रेनका बाँकी भूभागमा हमला गरिरहेका छन्।

हिटलरले तिनताक अस्ट्रिया कब्जा गरेको केही महिनापछि फ्रान्स र बेलायतसँग म्यूनिखमा सम्झौता गरेका थिए। तर, त्यसपछि पनि उनको विस्तारवादी सनक शान्त भएन। सन् १९३८ मा चेकोस्लोभाकिया र सुडेटेनल्याण्ड पनि हडपे। हुँदाहुँदा उनले फ्रान्समा समेत कब्जा जमाए। त्यसको परिणाम दोश्रो विश्व युद्ध भयो।

अहिले रुसी राष्ट्रपति पुटिनले पनि सुरुमा पूर्वी यूक्रेनका दोनेत्स्क र लुहान्स्कजस्ता रुसी भाषी क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिए। तर, यिनै क्षेत्रमा कब्जा जमाएर उनले युक्रेनका बाँकी भूभागमा हमला गरिरहेका छन्। यूक्रेनमाथि कब्जा जमाएको खण्डमा बाल्टिक क्षेत्रका राष्ट्रतर्फ उनको आँखा सोझीने संत्रास छ।

‘पुटिन हिटलर हुन्, माफ गर युक्रेन’
हिटलरसँग पुटिनको तुलना स्वयं रुसमै गर्न थालिएको छ। २५ फेबु्रअरीमा युक्रेन युद्धविरुद्ध रुसमै व्यापक प्रदर्शन भयो। राजधानी मास्कोमा विरोध प्रदर्शनमा उत्रिएका मानिसहरु यूक्रेनका जनतासँग पुटिनको हर्कतका लागि माफी मागिरहेका थिए। अनि पुटिनको तुलना हिटलरसँग गरिरहेका थिए। उनीहरुले लेखेको प्ले कार्डमा लेखिएको थियो, ‘पुटिन हिटलर हुन्, माफ गर युक्रेन।’

जब यूक्रेनमा निर्दोष नागरिक मारिन थाले, रुसी जनताले हस्ताक्षर अभियान थालेका छन्। खार्किभ र किवमा भारी बम वर्षा हुन थालेपछि रुसमा मानिसहरुले धमाधम हस्ताक्षर गरिरहेका छन्। अनलाइन र अन्य खुला कागजमा हस्ताक्षर अभियान चलाएर युद्ध रोक्न पुटिनमाथि दबाब सिर्जना गरिदैछ।

हिटलरसँग पुटिनको तुलना यसअघि पनि हुँदै आएको हो। सन् २०१८ मार्च २२ मा बेलायतका विदेशमख्न्त्री बोरिस जोनसनले पुटिनको व्यक्तित्वमा हिटलरको छाप परेको बताएका थिए।

यहुदीबाट नाजीहरुलाई कुनै खतरा थिएन, तैपनि हिटलरले लाखौं यहुदीलाई मारे। तिनको छालाबाट कम्मरपेटी र ब्याग बनाइयो, हाडबाट औंठी र ब्रेसलेट !

‘पुटिनले फिफा विश्वकपको आयोजना गर्नु भनेको हिटलरले आयोजना गरेको ओलम्पीक खेल सरह हो। जसरी हिटलरले सन् १९३६ मा आयोजित बर्लिनमा ओलम्पिक खेलको उपयोग प्रचारका लागि गरे, सोही काम पुटिनले विश्वकप टुर्नामेन्टमार्फत गरिरहेका छन्’, विदेशमन्त्री बोरिसले भनेका थिए।

पुटिनमाथि हिटलर बिम्बको प्रयोग सन् २०१४ मा बेलायतका राजकुमार चाल्र्सले समेत गरेका थिए। राजकुमार चाल्र्सले क्यानडा भ्रमणका क्रममा ‘हिटलरले पहिला जे गरेका थिए, अहिले पुटिन त्यही गरिरहेका छन्’ भनेका थिए। चाल्र्सको यो भनाइ सार्वजनिक भएपछि पुटिनले गम्भीर आपत्ति जनाएका थिए।

पुटिनको हिटलरी शैली
रुसी राष्ट्रपति पुटिन र हिटलरको तुलना हुनुको कारण के हो भने हिटलरले झैं पुटिनले पनि युक्रेनपछि अन्य राष्ट्रमाथि धावा बोल्ने खतरा छ। खासगरी लिथुयानिया, लातविया र एस्टोनियामाथि उनको गिद्धे दृष्टि पर्नसक्छ।

हुन पनि यूरोपको भूगोलमाथि कब्जा जमाउन पुटिनले हिटलरकै शैली उपयोग गरिरहेका छन्। क्रिमिया र जर्जिया यसको उदाहरण हो। हिटलरले झैं पुटिनले पनि पूर्वी युरोपमा अवशेषका रुपमा रहेका तानाशाह शासकसँग मित्रताको हात बढाउँछन् र उनीहरुमाथि आफ्नो प्रभाव स्थापित गर्छन्।

एस्टोनिया, लातविया र लिथुयानिया पहिला सोभियत संघमै थिए। सोभियत संघको पुनस्थापनासम्मको महत्वाकांक्षा पालेका पुटिनले कतै यूक्रेनपछि आफूहरुमाथि पनि आक्रमण गर्ने त होइन भन्ने साना मुलुकहरुको आशंका छ।

रुसी राष्ट्रपति पुटिन र हिटलरको तुलना हुनुको कारण के हो भने हिटलरले झैं पुटिनले पनि युक्रेनपछि अन्य राष्ट्रमाथि धावा बोल्ने खतरा छ। खासगरी लिथुयानिया, लातविया र एस्टोनियामाथि उनको गिद्धे दृष्टि पर्नसक्छ।

एस्टोनियाका गुप्तचर सेवाका प्रमुख मिक मारनले संभावित सैन्य संघर्षको चेतावनी दिइसकेका छन्। उनले देशमा विभिन्न प्रकारका संकट उत्पन्न हुने सम्भावना भएको बताउँदै भनेका छन्, ‘रुसले यूक्रेनमाथि हमला गरेकाले अब बाल्टिक देशमाथि स्वतः दबाब बढेको छ।’

एस्टोनिया, लातविया र लिथुयानिया तिनवटै देश नाटोका सदस्य हुन्। यी देशमाथि रुसले आक्रमण गरेमा नाटोले पनि शसक्त प्रत्याक्रमण गर्नुपर्ने हुन्छ। बल्टिक क्षेत्रका हरेक देशमा नाटोका करिब एक हजार सेना तैनाथ छन्। रुसले सन् २०१४ मा क्रिमियामाथि कब्जा जमाएपछि नै नाटो सजग भएको हो।
यी तीन देशको सीमा रुससँग जोडिएको छ र कलिनिनग्रादस्थित रुसी सैन्य आखाडा नजिकै छ। त्यसैले युक्रेनमाथि कब्जा जमाउन सफल भएको खण्डमा रुसले यी देशमा कुनै पनि बेला कुनै पनि बहानामा हमला नगर्ला भन्न सकिन्न। यदि यो हिटलरी शैली पुटिनले अपनाएमा तेश्रो विश्व युद्धलाई टार्न हम्मेहम्मे पर्नेछ।

तानाशाहको भर हुँदैन
अहिले रुसी राष्ट्रपति पुटिनले विश्वको लोकतान्त्रिक, मानवतावादी र विवेकशील जनमतको उपेक्षा गर्दै जसरी अधिनायकवादी, अविवेकी र अमानविय शैली प्रर्दशन गरिरहेका छन्, ठिक यस्तै केही तानाशाहका कारण विश्व मानव इतिहास कलंकित भएको छ।

क्रूर तानाशाहले आफ्नो शक्ति दम्भको आडमा लाखौं निर्दोष मानिसको ज्यान लिए। कतिपय तानाशाहले त मान्छेकै मासुसमेत खाए। यस्तै एक खुनी आक्रमणकारी थिए, मंगोल आक्रमणकारी चंगेज खान, जसले १३ औँ शताब्दीमा हिंसात्मक बबण्डर मच्चाएका थिए।

चंगेज खान आफ्ना मंगोल सेनालाई लिएर विभिन्न सहरमा आक्रमण गर्थे र त्यसलाई बर्बाद पार्थे। लुटपाट, हत्या र बलात्कार गर्थे। त्योबेला मंगोल साम्राज्य चीनको राजधानी बेइजीङदेखि रुसको राजधानी मस्कोसम्म फैलिएको थियो। चंगेज खानले लाखौं मान्छे मारे, धेरै चेलीको बलात्कार गरे। हजारौं महिलालाई उनले काम वासना मेटाउनकै लागि बन्धक बनाएका थिए।

रोमानिया, वालाशियाका राजकुमार व्लाद थर्डलाई मानिस ‘ड्रयाकुला’ नै भन्थे। ड्रयाकुला यस्तो मिथकीय नरपिचास हो, जसले मान्छेकै रगत पिउँछ। सन् १४३१ मा ट्रान्सिल्वेनियामा जन्मिएका व्लादले मान्छेके रगत पिउँथे भन्नेहरु पनि छन्। उस्मानीया साम्राज्य विरुद्धको युद्धमा व्लादले आफ्ना शत्रुलाई भालामा टाँगेर झुण्डयाउँथे। हजारौं युद्धबन्दीलाई उनले भालामा उनेर झुण्डयाएकै कारण उनलाई ‘ड्रयाकुला’ भनिएको हो।

रुसी सेनाले बर्लिनमै आक्रमण गरेपछि बंकरमा लुकेका हिटलर आक्रोशित हुँदै आफ्ना सैन्य अधिकारीसँग भन्थे, ‘साला कामचोरहरु, रुसी सेनालाई जर्मनीबाट धपाउ, उनीहरुको एउटै चिहान बनाउ।’ जर्मनीका सैन्य अधिकारी भन्थे, ‘हामीसँग अब पर्याप्त हतियार र युद्धपोतहरु छैनन्, अब समर्पण गर्नुमै भलाइ छ।’

यस्तै अर्का क्रूर तानाशाह हुन्, युगाण्डाका ईदी अमिन। उनलाई मान्छेकै मासु खाने शोख थियो। यही कारण उनलाई नरभक्षी शासकसमेत भनिन्थ्यो। कहाँसम्म भने उनी बाटोमा माग्दै हिँड्ने मगन्तेलाई देख्यो कि गोलीले भुटिदिन्थे।

आफ्नो ८ वर्षे कार्यकालमा ईदी अमिनले कम्तीमा ५ लाख मानिसको हत्या गराए, जसमा उनका कयौं राजनीतिक प्रतिद्वन्द्वी पनि थिए। राक्षसी स्वभावका कारण उनलाई ‘म्याड म्यान अफ अफ्रिका’समेत भनिन्थ्यो। एक दाबी अनुसार उनको फ्रिजमा मान्छेको मासु भेटिएको थियो। सन् १९७९ मा तांजानिया र ईदी अमीनविरोधी सेनाले हात मिलाए, त्यसपछि उनी भागेर साउदी अरब गए। त्यही सन् २००३ मा उनको निधन भयो।
चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्से तुङलाई ‘महान नेता’ मान्नेहरु नेपालमै पनि होलान्। तर, इतिहासले माओलाई पनि खुंखार तानाशाहकै कोटीमा राखेको छ। माओकै नीति र अत्याचारका कारण चीनमा कम्तीमा ४ करोड मानिस मारिए।

माओको उपचारमा संलग्न चिकित्सक जी शी लीको पुस्तकमा उल्लेख भए अनुसार माओले आफ्नो पुरै जीवनमा कहिल्यै दाँत माझेनन् र कहिलेकाँही मात्र नुहाउँथे। चिनियाँ सांस्कृतिक क्रान्तिका क्रममा लाखौं चिनियाँ मारिए। भोकमरीको शिकार भए। धन्न, पछिल्लो कालखण्डमा देङ सियाओ पिङको नयाँ उदारवादी अर्थनीतिका कारण चीनले प्रगति गर्दै गएको हो।

हिटलर पनि इतिहासका यिनै क्रुर तानाशाहमध्ये एक हुन्, जसको अत्याचारबाट पुरै विश्व कामेको थियो। दोश्रो विश्वयुद्धका क्रममा हिटलरले कम्तीमा २० लाख बढी यहुदीलाई उनीहरुको धर्मकै कारण ग्यास च्याम्बरमा हुलेर मारे। हिटलरकै सनकका कारण दोश्रो विश्वयुद्धमा करिब ७ करोड मानिस मारिए।

हिटलर जर्मनीको नाजी पार्टीका नेता थिए। उनले पनि दुहाइ त समाजवादकै दिएका थिए। नेशनल सोशलिस्ट जर्मन वर्कर्स पार्टीलाई नाजी भनिन्थ्यो, जसको चिह्न उल्टो स्वस्तिक थियो।

जब आफ्नो शक्ति दम्भ कमजोर भइसकेको हिटलरले चाल पाए, अनि बंकरभित्रै उनले प्रेमिकासँगै आत्महत्या गरे। उनको लास रुसी सेनाले फेला नपारुन् भनेर रातारात जलाउन लगाइयो।

नाजी पार्टी जर्मनीमा एक राजनीतिक पार्टी थियो, जुन सन् १९१९ मा पहिलो विश्वयुद्धपछि स्थापना भएको थियो। नाजी पार्टीको एउटै उद्देश्य थियो, विश्वबाट यहुदीलाई समाप्त गर्नु। यसबाटै जर्मन नागरिक र समग्र मानवताका लागि फाइदाजनक हुने उनीहरुको नारा थियो। यद्यपी, यहुदीबाट नाजीहरुलाई कुनै खतरा थिएन, तैपनि हिटलरले लाखौं यहुदीलाई मारे। तिनको छालाबाट कम्मरपेटी र ब्याग बनाइयो, हाडबाट औंठी र ब्रेसलेट !

यति क्रूर तानाशाह हिटलरलाई दोश्रो विश्व युद्धमा रुसी सेनाले नै तह लगाएका थिए। युद्धमा त्यसबेला अमेरिका, बेलायत, रुस सबै एकठाउँमा थिए। जर्मनी र जापान अर्को धु्रवमा। रुसी सेनाले बर्लिनमै आक्रमण गरेपछि बंकरमा लुकेका हिटलर आक्रोशित हुँदै आफ्ना सैन्य अधिकारीसँग भन्थे, ‘साला कामचोरहरु, रुसी सेनालाई जर्मनीबाट धपाउ, उनीहरुको एउटै चिहान बनाउ।’

जर्मनीका सैन्य अधिकारी भन्थे, ‘हामीसँग अब पर्याप्त हतियार र युद्धपोतहरु छैनन्, अब समर्पण गर्नुमै भलाइ छ।’ अनि क्रुर हिटलर आक्रोश, अविवेकी हूँदै भन्थे, ‘बर्लिनको एक–एक घरबाट मानिसहरुलाई शहरमा उतार र उनीहरुलाई लड्न पठाऊ।’

अन्ततः जर्मनीका सैन्य अधिकारीले हार माने। जब आफ्नो शक्ति दम्भ कमजोर भइसकेको हिटलरले चाल पाए, अनि बंकरभित्रै उनले प्रेमिकासँगै आत्महत्या गरे। उनको लास रुसी सेनाले फेला नपारुन् भनेर रातारात जलाउन लगाइयो।

कुनैबेला हिटलरको दबदबामा रहेको र कालान्तरमा कम्युनिष्ट अधिनायकवादले जकडिएका जर्मनी अहिले विश्वकै उम्दा लोकतान्त्रिक मुलुकमा परिणत भएको छ। जुन तानाशाहविरुद्ध दोश्रो विश्वयुद्धमा रुस भिडेको थियो, त्यही रुसमा अहिले पुटिनका रुपमा हिटलरी शैलीकै तानाशाहको उदय भएको छ।

संयोग पनि कस्तो, कुनैबेला हिटलरको दबदबामा रहेको र कालान्तरमा कम्युनिष्ट अधिनायकवादले जकडिएका जर्मनी अहिले विश्वकै उम्दा लोकतान्त्रिक मुलुकमा परिणत भएको छ। जुन तानाशाहविरुद्ध दोश्रो विश्वयुद्धमा रुस भिडेको थियो, त्यही रुसमा अहिले पुटिनका रुपमा हिटलरी शैलीकै तानाशाहको उदय भएको छ। अनि यो द्वन्द्वमा हिटलरको देश जर्मनी चाहिँ लोकतान्त्रिक कित्तामा उभिएको छ र यूक्रेनलाई आवश्यक हतियार र आर्थिक सहयोग गरिरहेको छ।

देश जुनसुकै होस्, इतिहास जेसुकै होस्, तर शासक लोकतान्त्रिक छ भने उसको विश्वभर छवी चम्किलो हुन्छ। देश जतिसुकै शक्तिशाली र सैन्य क्षमताले ओतप्रोत किन नहोस्, शासक अधिनायकवादी छ भने उसको विश्व छवी बदनाम हुन्छ।

२१ औँ शताब्दीमा पनि अधिनायकवादी मुलुकका तीनजना तानाशाहका कारण विश्व जनमत संत्रस्त छ। चिनियाँ राष्ट्रपति सी चिन फिङ, उत्तर कोरीयाका राष्ट्रपति किम जोन उन र रुसी राष्ट्रपति पुटिनप्रति विश्व जनमत विश्वस्त हुन सकिरहेको छैन। आणविक अस्त्रको ध्वाँस दिइरहेका यी शासककै कारण विश्व शान्तिमा बेलाबेलामा खतरा उत्पन्न हुने गरेको छ।

अहिले पनि पुटिनको आक्रामक रवैया र आणविक अस्त्र चलाउने धम्कीले नाटोका शक्तिशाली देशसमेत चिन्तित छन्। हिटलरको सनकका कारण दोश्रो विश्व युद्ध भए झैं पुटिनको आवेगी कदमले कतै तेश्रो विश्वयुद्ध हुने त होइन भन्ने संत्रासले स्वयं रुसी जनतालाई समेत पिरोलिरहेको छ।

आफ्नो दम्भ तुष्टिका लागि पुरै मानव सभ्यतालाई संकटमा पार्ने हदसम्मको धम्की दिने शासक र तिनका मतियारबाट विश्व कल्याण त परै जाओस्, स्वयं रुसकै भलो हुनेछैन। आखिर हिटलरको अन्ध र आवेगी राष्ट्रवादले जर्मनीलाई ध्वस्त पारेको इतिहास अझै आलै छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : २६ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न