विश्वभर आजः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आजः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुन १८, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च २, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

युक्रेनी शहर रुसी कब्जामा
युक्रेनमा रुसी हमलाको सातौँ दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ ।

औषधी र खानेकुरालगायत खाद्यन्नको आपूर्ति सुनिश्चताका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न यो सहरका मेयरले आह्वान गरेका छन् ।

रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानकारी दिएका छन् । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

उत्तरपश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपतकालीन कर्मचारीहरूले रुसी सेनाको मिसाइल हमलामा आवसीय भवनमा लागेको आगो निभाइरहेका छन् । यो सहरमा चार जना मारिएको रुसी अधिकारीहरूले जनाएका छन् ।

‘तानाशाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्नेछ’
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई कमजोर आँकेर युक्रेनमाथि आक्रमण गरेको टिप्पणी गरेका छन् । अमेरिकी काँग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।

पुटिन नियोजित रूपमा र अकारण युद्धमा होमिएको समेत बाइडेनले बताए । पुटिनले बारम्बारका कूटनीतिक पहलको पनि बेवास्ता गरेको सम्बोधनका क्रममा बाइडेनले बताए ।
उनले भने ‘उनलाई पश्चिमा मुलुक र नेटोले केही नगरी बस्छन् भन्ने लागेको थियो, र घरमा हामीलाई फुटाउँला भन्ने पनि उनको चाल थियो ।’

‘पुटिन गलत थिए, हामी तयार थियौँ ।’ बाइडेनको भनाइ थियो । उनले ‘तानाशाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्ने’ विश्वासमा आफू अडिग रहेको समेत बताए ।

अब अमेरिकी आकाशमा पनि रुसी जहाज नउड्ने
अमेरिकाले पनि आफ्नो आकासमाथि रुसी जहाजमा प्रतिबन्ध लगाएको छ । काँग्रेसमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसी जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

यसअघि अमेरिकाकै जहाज निर्माता कम्पनी बोइङले रुसी एअरलाइन्सहरूलाई कलपुर्जा बिक्री, मर्मतसम्भार र प्राविधिक सहयोग उपलब्ध नगराउने घोषणा गरिसकेको छ ।

यसअघि अमेरिकाको उत्तरी छिमेकी क्यानाडा र युरोपेली युनियनले पनि रुसी जहाजलाई उड्न नदिने घोषणा गरिसकेका छन् । युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा मुलुकहरूले नाकाबन्दी र प्रतिबन्ध लगाउने क्रम जारी रहेको अवस्थामा बाइडेनले पछिल्लो घोषणा गरेका हुन् ।

गत सोमबार मात्रै क्यानाडाले रुसबाट कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

भारतमा ७ हजार ५५४ नयाँ कोरोना भाइरस संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका सात हजार ५५४ नयाँ सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कुल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना सुरु भएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा १४ हजार १२३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ३८ हजार ६७३ जना कोरोना मुक्त भएका समाचारमा जनाइएको छ ।

पाकिस्तानमा विदेशी ऋण बढ्यो
पाकिस्तान सरकारले चालु आर्थिक वर्षको पहिलो सात महिनामा १३ बिलियन डलरभन्दा बढी वैदेशिक ऋण प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले बढेको छ ।

पाकिस्तानको बढ्दो ऋणबाट तत्काल राहत नपाएको अवस्थामा वैदेशिक ऋण थपिएपछि मुलुकमा आर्थिक संकट सिर्जना भएको हो ।

आर्थिक मामिला मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार आर्थिक वर्ष २०२१–२२ को जुलाई–जनवरीको अवधिमा ११.८ बिलियन डलरको कुल वैदेशिक ऋण उच्च ब्याजदरमा कबुल गरेको छ ।

पाकिस्तानको स्टेट बैंक (एसबीपी) को तथ्यांकअनुसार प्रधानमन्त्री इमरान खानको नयाँ पाकिस्तान सर्टिफिकेट अन्तर्गत अत्यधिक महँगो विदेशी ऋणमा लगभग १.३ बिलियन अमेरिकी डलर पनि प्राप्त गरेको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सरकारले पेस गरेको नयाँ उधारो साधन अधिक विदेशी ऋण रहेको छ ।

नयाँ कुल विदेशी ऋणले करिब ८२ प्रतिशत बजेट घाटा कम गर्ने र कृत्रिम रूपमा विदेशी मुद्रा सञ्चितिलाई वर्तमान स्तरमा कायम राख्ने लक्ष्य राखिएको थियो ।

यसको मतलब विदेशी ऋणदाताहरूलाई फिर्ता तिर्न दिगो स्रोत हुन्, यी ऋणहरूबाट कुनै सम्पत्तिहरू सिर्जना गरिएको थिएन ।

नयाँ पाकिस्तान सर्टिफिकेट अन्तर्गत आर्थिक वर्ष २०२२ को जुलाई–जनवरी अन्तर्गत १.३ बिलियन डलर ऋण डलर शर्तमा ७ प्रतिशत ब्याज दरमा अधिग्रहण गरिएको थियो, जबकि स्थानीय मुद्रामा ११ प्रतिशतसम्म फिर्ता गर्नुपर्ने हुन्छ ।

फलस्वरूप, चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुरक्षित भएको सञ्चित कुल वैदेशिक ऋण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४ बिलियन डलर (वा ७० प्रतिशत) बढेर १३ बिलियन १० मिलियन डलर पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

अष्ट्रेलियामा बाढी
अष्ट्रेलियाका पूर्वी राज्यहरूमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

न्यू साउथ वेल्सको प्रहरीले बुधबार राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको हो ।
बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण

मृत्यु हुनेमध्ये आठ आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ ।

गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यू साउथ वेल्सलाई अत्यधिक वर्षा पछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मौसम पूर्वानुमान कार्यालयले जनाएका छन् ।
हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध्य तथा दक्षिणी टेबलल्यान्ड्स जिल्लाका केही भागहरूमा भारी वर्षाद्वारा आउन सक्ने विपत्तिको पूर्वानुमान गरिएको छ ।

यी क्षेत्रहरूमा आगामी ६ घण्टासम्ममा ८० देखि १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

युक्रेनीस्थित जापानी दूतावास बन्द
जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ ।

युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

जापानको विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकलाई भने तत्काल युक्रेन छोड्न यसअघि नै आग्रह गरेको थियो । तर पनि गत फेब्रअरी २३ तारिखसम्म युक्रेनमा जापानका १२० नागरिक मात्रै रहेका थिए ।

अहिले जापानबाट त्यस तर्फ जान पूरै प्रतिबन्ध लगाइएको जापानको मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले जानकारी दिए ।

अष्ट्रेलियन प्रधानमन्त्रीलाई कोरोना संक्रमण
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड –१९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन् । उनले मंगलबारको परीक्षणबाट कोभिड–१९ देखिएको उनको आधिकारिक वेभसाइटमा उल्लेख गरिएको छ ।

हाल उनी सिड्नीस्थित आफ्नै निवासमा आइसोलेसनमा रहेको जनाइएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री मोरिसनले आफूलाई रुघाखोकीको लक्षण देखिएको र आगामी एक साता आराम गर्ने समेत जनाएका छन् ।

उनी गत साता सार्वजनिक कार्यक्रमहरुमा व्यस्त थिए । मंगलबार रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सहयोगको घोषणा गर्ने समारोहमा पनि उनलाई खोकीले सताएको थियो । यसबाहेक मंगलबार नै उनले दक्षिण प्रशान्त क्षेत्रको मुलुक नउरुका राष्ट्रपति लियोनल एङ्गीमासँग सिड्नीमा भेटवार्ता गरेका थिए ।

युक्रेनले ईयू सदस्यताका पाउन युद्ध रोकिनुपर्छ
रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लाइनले युक्रेनलाई युरोपियन युनियनको सदस्यताका लागि युद्ध रोकिनुपर्ने बताएकी छिन् ।
उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसङ्ग उल्लेख गर्दै युद्ध रोकिनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको छ, पक्कै पनि हामी यतिखेर युक्रेनसँग इतिहासमै सबैभन्दा धेरै नजिक भएका छौँ, तर पनि सदस्यता अघि नै त्यहाँ युद्ध रोकिनुपर्छ र बल्ल हामीले अर्को चरणको प्रक्रिया सुरु गर्नेछौँ ।

यता रुसले युक्रेनमा हमला रोकेको छैन । करिब एक साता यतादेखि रुसले युक्रेनमा हमला जारी नै राखेको बताइएको छ । रुस र युक्रेनका बीचमा बेलारुसको एउटा गाउँमा भएको पहिलो चरणको शान्ति वार्ताबाट कुनै निष्कर्ष भने निस्किएको छैन ।

रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरूले जनाएका छन् । युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन् ।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने बताएका छन् । रुसले युक्रेनको राजधानी सहर किभका साथै अन्य आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ ।

युक्रेनमा मानवीय सहयोगको खाँचो छ गुटर्रेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहायताका लागि अपिल गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए ।

उनले भने– ‘युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।’ उनले रुसको सैन्य आक्रमणबाट युक्रेनका दशौँ हजार नागरिक विस्थापित भइसकेका भन्दै उनीहरूको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिए ।

उनले मंगलबारसम्मको तथ्यांक अनुसार हाल युक्रेनका करिब ६० लाख मानिस विस्थापित भएका र त्यसका लागि कम्तिमा पनि एक अर्ब अमेरिकी डलर सहायताको कोष आवश्यक रहेको बताए ।

रुसी ग्याँसमाथिको निर्भरता घटाउने इटालीको तयारी
इटालीले रुसी ग्याँसमाथिको निर्भरतालाई घटाउँदै जाने भएको छ । इटाली सरकारले रूसको ग्याँसमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको प्रधानमन्त्री मारियो ड्रागीले संसदलाई जानकारी गराएका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका बेला इटालीले रूसी इन्धनको विकल्पबारे अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ड्रागीले भने ‘सरकारले सम्भावित इन्धन सङ्कटबाट आउने अवस्थासँग जुझ्न निरन्तर अध्ययन गरिरहेको छ ।’

यूक्रेनमा रूसले आक्रमण गरेसँगै इटालीलगायतका यूरोपेली मुलुकमा इन्धनको मूल्य आकासिएको छ । इटालीको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार इटालीमा प्राकृतिक ग्यासको मूल्यमा डिसेम्बरमा २९.१ प्रतिशतले बढेकोमा जनवरीमा यसमा थप वृद्धि भई ३८.६ प्रतिशत पुगेको छ । प्रारम्भिक तथ्याङ्कहरूले इन्धनको मूल्य आगामी दिनमा थप बढ्ने प्रक्षेपण गरेका छन् ।

ड्रागीका अनुसार इटालीले प्रयोग गर्ने प्राकृतिक ग्याँसमध्ये ९५ प्रतिशत विदेशबाट ल्याइन्छ भने यसको ४० प्रतिशत रूसबाट आपूर्ति हुने गर्दछ । उनले भने ‘रूसबाट आयात हुने ग्यासमा कुनै अवरोध नआउने विश्वास व्यक्त गर्दै कुनै हालतमा आपूर्ति रोकिएमा यसको वैकल्पिक व्यवस्था गर्न सरकारले गृहकार्य थालेको छ ।’

इटालीमा बढ्दो गर्मीसँगै ग्यासको मागमा कमी आउने बताइएको छ । इटालीसँग अहिले २ं५ अर्ब क्युविक मिटर ग्यास भण्डारण अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : ४२ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट