लामिडाँडा विमानस्थल उपयोग विहीन « Khabarhub

लामिडाँडा विमानस्थल उपयोग विहीन


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित लामिडाँडा विमानस्थल उपयोग विहीन बनेको छ । कालोपत्रे गरिएपछि ३ असार २०७६ मा सफल परीक्षण उडान भरिएको लामिडाँडा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित उडानको व्यवस्था गर्न नसकेको हो । खोटाङका तीन वटा विमानस्थलमध्ये लामिडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । कालोपत्रे भएको लामिडाँडा विमानस्थल परीक्षण उडानमै सीमित भएपछि स्थानीय निराश छन् । 

साबिकको सदरमुकाम दिक्तेल नजिकै मनमाया राई खानीडाँडा विमानस्थल सञ्चालनमा आएपछि लामिडाँडा विमानस्थल बन्दजस्तै बन्न पुगेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा रहेको खानीडाँडा विमानस्थलमा बेलाबेला उडान भइरहँदा लामिडाँडा विमानस्थल सुनसान छ ।

कालोपत्रे गर्नु अगाडि उडान हुँदैआएको लामिडाँडा विमानस्थलमा कालोपत्रेपछि भने उडान रोकिएको हो । सेड्युलमा उडान नहुँदा र यात्रु नपाउँदा लामिडाँडामा उडान रोकिएको स्थानीय युवा नेता खेमराज देउसाली बताउँछन् । 

‘हप्तामा एक दिन सेड्युल हुने । सेड्युल भएका दिन पनि उडान नहुने । जहाज पर्खंदा कति बिरामीले ज्यान गुमाए,’ देउसालीले भने, ‘उडान हुने भनेको दिन उडान नभएपछि धेरैपल्ट यात्रु ढाँटिए, बिस्तारै यात्रु घटे । त्यसपछि उडान नै रोकिएको हो ।’ 

हिजोआज कच्ची सडक बनेपछि गाउँ गाउँमा यात्रुवाहक सवारी साधन पुग्ने वातावरण बनेको छ । लामिडाँडा विमानस्थलबाट आधा घण्टामाथि उक्लिएपछि मध्य पहाडी लोकमार्ग भेटिन्छ । अधिकांश स्थानीले सडक सवारी साधनबाटै यात्रा गर्न थाले । सडक यातायातको पहुँच विस्तारका कारण पनि लामिडाँडा विमानस्थलमा उडान नभएको स्थानीय बताउँछन् ।

२०२८ सालदेखि सञ्चालनमा आएको लामिडाँडा विमानस्थलमा उडान नहुँदा रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुङ्गाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन् । 

होटेलमा लाग्यो ताला 

खानीडाँडा विमानस्थल र खोटेहाङ गाउँपालिका–४ बड्का दियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनु अगाडि लामिडाँडा विमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो । लामिडाँडामा दैनिक यात्रुको घुइँचो लाग्ने गरेको थियो । होटेल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो ।

होटेलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दै आएका थिए । तर उडान हुन छाडेपछि लामिडाँडाका दर्जनौँ होटेलमा ताला लागेको छ । लामिडाँडा विमानस्थलमा उडान नहुँदा यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा असर परिरहेको छ । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ०८ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा