नाग पञ्चमीको महिमा र यसको सांस्कृतिक पक्ष | Khabarhub Khabarhub

नाग पञ्चमीको महिमा र यसको सांस्कृतिक पक्ष



नागको अर्थ प्राण हो। प्राणको पूजा नाग पूजा हो। प्राण भएको कारणले नै जीव, जन्तु, पंक्षी र किरालाई प्राणी भनिएको हो। त्यसैले सम्पूर्ण प्राणीमा प्राणको निवास छ। यसैले डरलाग्दो, डस्न सक्ने वा विषालु भएर पनि सर्पको पूजा गर्नुको अर्थ प्राणको पूजा गरिएको हो। अरु प्राणीको पूजा गर्न त्यति कठिन छैन। तर, सर्पको पूजा गर्न मानिसले चाहँदा पनि चाहँदैन वा चाहेमा पनि गर्न गाह्रो हुन्छ।

वास्तविक प्राणको पूजा गर्ने हो भने सबै प्रकारका जीव, जन्तु र किराको पूजा गर्नुपर्ने हुन्छ। नागको पूजा पञ्चमी तिथिलाई लिनुको अर्थ पञ्चमी शिवप्रीय तिथि हो। श्रावण महिना यसै पनि शिव प्रीय महिना र अर्को पञ्चमी तिथि झनै पवित्र दिन भएकोले यस दिन नागको विशेष पूजा गर्नु स्वभाविक हुन्छ। यसैले नागको पूजा गर्नको लागि श्रावण शुक्ल पञ्चमीको दिनलाई विशेष रुपमा मान्दै आएको पाइन्छ। हाम्रा चाडपर्वहरु पनि विचित्रका छन, जसमा मानिसदेखि पशुपंक्षी तथा किराहरुको समेत पूजा गर्ने प्रचलन छ।

जनावरहरुमा गाई, गोरु, कुकुर तथा हात्ती आदिको पूजा गर्ने गरिन्छ। यस्तैगरी पंक्षीमा कागको पूजा गर्ने गरिन्छ भने किरामा नागको प्रतीक सर्पको पूजा नाग पञ्चमीको दिन गरिन्छ। सर्पहरु विषालु, रिसाह र त्यसको नजिक पर्न नसक्ने भएकाले उसको प्रतीक बनाएर पुजा गर्ने चलन छ। नाग पञ्चमीको दिनमा नाग देवताको पूजा गरेमा घरमा आगोको भय हुँदैन्, सर्पको भय हुँदैन्, चोरको भय हुँदैन् एवं शत्रुको भय हुँदैन् भन्ने जनविश्वास रहेको छ। उक्त दिन खेतीपाती गर्नेहरुले पनि खेतवारीका खाली जग्गामा नागको स्थापना गरेर पुजा गरिन्छ। अन्नबाली राम्रो उब्जने, बालीनाली किराले खाँदैन वा दुःख दिँंदैन भन्ने विश्वास भएअनुरुप नै यस्तो प्रथा चल्दै आएको हो। यसको अर्थ सर्प जातिले अन्न नोक्सान गर्ने किराहरु खाइदिन्छ, जस्ले गर्दा अन्नवाली बढ्ने हुन्छ।

सर्प जातिको पूजा गर्ने प्रचलन वैदिक कालदेखि चल्दै आएको हो। सर्पलाई नागको प्रतीकको रुपमा मानिन्छ। यिनीहरु थुप्रै प्रकारका पाइन्छ। कुनै–कुनै सर्पहरु यति विषालु हुन्छन् कि जसले टोक्यो भने तुरुन्त शरीरमा विष पैmलिएर २४ घण्टाभित्र मानिसको मृत्यु हुन्छ। कुनै–कुनै सर्पले टोक्यो भने औषधिको प्रयोगले ठिक हुन्छ। यस्तो विषालु भए पनि सर्प जातिलाई नाग देवता मानेर पूजाआजा गर्ने चलन हिन्दू संस्कृतिमा छ। अघिपछि गर्न नसके पनि वर्षको एकपल्ट नागपञ्चमीमा नाग देवताको पुजा गर्ने प्रचलन छ।

श्रावण शुक्ल पञ्चमीलाई नागपञ्चमी पर्वको रुपमा हिन्दूले मनाउँदै आएका छन्। यस दिन प्रत्येक घर–घरमा नागको फोटो टाँसेर पुजा गरी मनाउँछन्। घरको प्रमुख द्वारमा नागको फोटो टाँसेर नागलाई द्वारमा स्थापना गरेर दही, दूध, घिउँ, अक्षता, फूल, दुवो, धूप, दिप र नैवेद्य गरेर धुमधामसँग पूजा गरिन्छ। नाग टाँस्ने र पूजा गर्ने काम ब्राम्हण वा पुरोहितबाट हुने गर्दछ। सो कार्य गरे वापत पुरोहितलाई दान दक्षिणा दिएर खुशीपार्ने चलन छ।

सर्पलाई नाग देवता मान्नुमा वैज्ञानिक विश्लेषणबाट पनि प्रमाणित गर्न सकिन्छ। किनकी सर्पको संरक्षण भएमा तिनीहरुले वालीनालीमा लाग्ने र त्यसलाई नष्ट गर्ने किरा खाइ दिन्छन्, जस्तै मुसा, भ्यागुतो, र अन्य किराहरु खाइदिन्छ जस्ले गर्दा बालीनाली नष्ट हुनबाट बचाउँछ। अर्कोकुरा सर्पलाई संरक्षण गर्नुको अर्थ प्राकृतिक इकोसिस्टमलाई ब्यालेन्स राख्नको लागि पनि हो। सर्पले सूक्ष्म रुपमा विचरण गर्ने विषादिवायुलाई पनि खाइदिन्छ। जसले गर्दा सो वायुको प्रकोपबाट मानिस बच्नसक्छ। त्यसैले सर्प विषादी किरा भए पनि प्राकृतिक रुपमा यसलाई बचाएर राख्नु अत्यन्तै आवश्यक देखिन्छ। त्यसकारण पनि नागको प्रतीक रुप सर्पको संरक्षण होस भनेर पूजाआजा गर्ने चलन रहिआएको हुनुपर्छ।

विष्णु भगवान् शेषनागमा सुत्नु भएको छ, शिवजीको गलामा पनि नाग नै छ। पाँच प्राणमा प्राण, अपान, समान, ब्यान र उदान प्राणलाई पनि नागकै संज्ञा दिइएको छ। उप–प्राणमा त नाग प्राण नै हुन्छ। जस्तै पाँच उप–प्राणमा नाग, कूर्म, कर्रिकर, देवदत्त र धनञ्जय। यसरी शरीरमा पनि नाग उप–प्राण विद्यमान छ। प्राणरुपी नागको पुजा, अर्चना र प्रार्थना गर्नाले शरीरमा लाग्न सक्ने रोग व्याधी, संसारको दुःख, भय र क्लेश नाश हुन्छ भन्ने शास्त्रमा उल्लेख छ।

सर्पहरुका थुप्रै जातिमा गोमन तथा करेट जातिका सर्प अत्यन्तै विषालु हुन्छन्। तिनीहरुको टोकाईबाट छिटो उपचार भएनभने मानिसको मृत्युसम्म हुन्छ। गोमन सर्पले टोकेको विष कम लाग्छ। पानीमा वस्ने सर्पले टोके पनि विष कम लाग्छ। यसरी सर्पहरु ज्यादै विषालु भएकाले तिनीहरुको टोकाइबाट मानिसको ज्यानजान सक्ने भएकोले नै यस जातिलाई देख्नासाथ मारीदिन्छन्। तर, यसरी धमाधम सर्पलाई मार्ने हो भने हाम्रो प्रकृतिमा नकारात्मक असर पर्न गएर सन्तुलन बिग्रन सक्छ। त्यसैले सर्प जाति नाग देवताको प्रतीक भएकोले यसको संरक्षण गर्नु आवश्यक भएको हो। मानिसको ज्यानजाने अवस्था भएमा मात्र सर्पलाई मार्नु पर्दछ।

सकेसम्म सर्पलाई मार्न हुँदैन्। सर्पलाई मारेमा दोष लाग्छ भन्ने बुढापाकाको भनाइ पनि यथार्थ सत्य छ। स्त्रीजातिले त सर्पलाई मार्नु नै हुँदैन् भन्ने भनाइ छ। यदि कुनै स्त्री जातिले कसैले सर्प मार्न लागेको देखेमा नमार भनेर भन्नुपर्छ भन्ने कथन पनि पहिले–पहिलेका मानिस भन्छन्। एक नाग देवताको प्रतीक अर्को कुरा यो स्वतन्त्र विचरण गर्ने किरा भएकोले यसलाई नचलाएमा यसले केही गर्दैन्। सर्पबाट सतर्क त हुनुपर्छ। तर, त्यस्बाट डराउनु पर्ने अवस्था भने होइन्। तर सर्पहरुको बिगबिगीबाट बच्नको लागि भने नाग देवताको प्रार्थना गर्नुपर्छ। नाग देवता रिसाए भने सर्पको भयहुने, पानी वा वर्षा हुँदैन भन्ने पनि भनाइ पनि छ। वर्षा, चिसो र सिमसारमा नागको वास हुन्छ भन्ने भनाइ छ।

नागको पूजाअरु महिनामा पर्ने पञ्चमीमा पनि गरिन्छ। तर वार्षिक रुपमा नाग देवतालाई पुजा गर्ने पर्व श्रावण शुक्ल नाग पञ्चमीनै हो। शिवप्रीय तिथि पञ्चमी भएकोले उक्त दिन नाग देवताको पनि प्रियदिन नै मानेर पूजा गरिएको हो। नाग देवताको पूजा गर्दा शिव तथा विष्णु खुशी रहने भएकोले नागको पूजा गरिएको हो। यो दिन कसै–कसैले घरमा रुद्रीलगाएर शिवको आराधना गरेर नागदेवतालाई प्रशन्न गराउँछन्।

नाग देवता प्रशन्न भएमा रोगव्याधि, अनिकाल, अकाल मृत्यु, दैवी प्रकोप र घरमा अनिष्ट आउँदैन् भन्ने मान्यता छ। त्यसैले हाम्रो समाजमा नाग पञ्चमीको दिन प्रत्येक घरमा नागको पूजा गरेर मनाउने चलन रहिआएको हो। यस दिनदेखि नागहरुले आफ्नो स्थान परिवर्तन गर्ने भएकाले पूजा गरिएको हो। स्थान परिवर्तन गर्दा मानिसलाई हानिकारक पनि हुनसक्छ। त्यसैले यस्तो प्रथा चल्दै आएको हो। यस दिन कल्की अवतार भगवानको जयन्ती पनि मनाउने गरिन्छ। उक्तदिन काठमाडौंको चोभारस्थित नागदहमा मेला लाग्दछ। उक्तदिन टौदहका नाग पनौतीमा जान्छन् र पनौतिका नाग टौदहमा जान्छन् भन्ने बुढापाकाको कथन छ। टौदहमा नागको पूजा गर्नको लागि थुप्रै श्रद्धालु भक्तजन उपस्थित भएर नागपञ्चमी मनाउँछन्। यिनै कारणले गर्दा नागपञ्चमीलाई समस्त धर्मालम्बीले श्रद्धा, भक्तिपूर्वक मनाउनु उपयुक्त हुन्छ।

(लेखक : आध्यात्मिक चिन्तक, योग प्रशिक्षक हुनुहुन्छ)

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ०१ बजे

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं – नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप

प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा संकटमा

इनरुवा– सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा

गाजामा पोलियो खोप अभियान सम्पन्न 

रोम– जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको

यु–१९ महिला टि–२० विश्वकप : नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

खाँदबारी – सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार