सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी « Khabarhub

सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ । सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिन जानेक्रममा  बाटोमै सुत्केरी हुने क्रम बढेको हो । ६ घण्टाभन्दा बढी स्टेचर, डोकोमा बोक्दा बाटोमै सुत्केरी हुने क्रम बढेको हो । सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ वर्षीया मिना नेपालीलाई स्वास्थ्य संस्था लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी भएकी छिन् । करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले च्यापेपछि उनले बाटोमै सुत्केरी हुनुपरेको हो । 

बारेकोट गाउँपालिका सुरक्षित सुत्केरी गराएको भन्दै रिपोर्टमा १ नम्बर रहेको छ । महिनापिच्छे यस्ता खालका घटनाहरू भइरहेको बारेकोट गाउँपालिका–२ का पत्रकार कालीबहादुर नेपाली बताउँछन् । गाउँपालिकाको स्वास्थ्य शाखाले सुरक्षित सुत्केरी गराएको भन्दै जिल्लाकै नमुना भएको प्रमाणपत्र पाउँदै गर्दा यो तस्बिरले गिज्याएको छ । 

रुकुम पश्चिमको आठबीसकोट–११ चौरकी २२ वर्षीया पार्वती विकलाई गत साता सुत्केरी बेथाले च्यापेर आफन्त र छिमेकीले हतारहतार नगर अस्पताल आठबीसकोट ल्याएर उपचार हुन नसकेपछि अस्पतालले चौरजहारी अस्पताल लैजादै गर्दा चौरजहारी–३ दमार नजिकैको सडकमा उनी सुत्केरी भएकी थिइन्  । 

आठबीसकोट नगर अस्पतालकी स्वास्थ्यकर्मी चम्पा खड्कका अनुसार बिहान ६ बजे अस्पताल आएकी उनको १० बजेसम्म पाठेघरका चार घर खुलेको थियो, त्यसपछि क्रमशः १० वटै घर त खुले, तर बच्चा बाहिर निस्किएन, त्यसपछि चौरजहारी अस्पताल पठाएको त बाटैमा बच्चा जन्मिएको खबर पाइएको छ । सामान्य अवस्थाभन्दा लामो समय बेथा लागेपछि प्रसूति गराउन नसकिएको उनको भनाइ छ । 

जाजरकोटको भेरी नगरपालिकास्थित मटेला पुगेपछि पार्वतीलाई गाडीबाट निकाली स्ट्रेचरमा राखेर झोलुंगे पुल तारेपछि  त्यसपछि अर्को गाडी चढ्नुपर्ने थियो । तर झोलुंगे पुल तर्नेबित्तिकै पार्वती सुत्केरी भएकी थिइन् ।  उपल्लो डोल्पाका अधिकांश महिलाहरू घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । पालिकाको तथ्यांक हेर्दा सुरक्षित सुत्केरी हुने महिलाहरूको संख्या नै उल्लेख नभएको पाइएको छ ।

पहुँचमा हुने व्यक्तिले हेलिकोप्टरमा उद्धार गरी सुविधा सम्पन्न ठाउँमा सुत्केरी गराउने गर्दै आएका छन् । राष्ट्रपति महिला उत्थान कोष मार्फत केही गर्भवती महिलाहरूको उद्धार भएको पाइएको छ । पहुँचमा हुने महिलाहरूले मात्र यो सुविधा लिएको आरोप लाग्दै आएको छ । भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन् । 

कर्णालीमा २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने तथ्यांक कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग छ । बाँकी जनसंख्या घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । कर्णालीका १० जिल्लामध्ये हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशभरि ३५९ वटा बर्थिङ सेन्टरहरू छन् । सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन । निर्देशनालयका अनुसार सबैभन्दा कम बर्थिङ सेन्टर डोल्पामा १४ वटा छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १२ : ३६ बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार