डोटीमा प्रेम आले, मुख्यमन्त्री भट्ट र बलायरको भिडन्त | Khabarhub Khabarhub

चुनावी चर्चा

डोटीमा प्रेम आले, मुख्यमन्त्री भट्ट र बलायरको भिडन्त

एउटै टिकट मिलाउन सत्ता गठबन्धनलाई नै सकस


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिममा प्रभाव राख्ने जिल्लामा डोटी पनि पर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएका कारण डडेल्धुराको चर्चा धेरै हुने भए पनि राजधानी र पहिलेको मुख्य प्रशासनिक केन्द्र भएका कारण डोटी पनि चर्चित ठाउँ हो ।

डोटीमा यसपटकको चुनावी भिडन्त रोचक हुने देखिएको छ । हेभीवेट नेताहरु त्रिपक्षीय भिडन्तमा लागेका कारण डोटीको चुनाव यसपटक रोचक हुने देखिएको हो । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्वमन्त्री प्रेम आले र वीरबहादुर बलायर यतिबेला टिकटको लागि रस्साकस्सी गरिरहेका छन् ।

भट्ट माओवादीबाट, आले नेकपा एकीकृत समाजवादी र बलायर कांग्रेसबाट लगभग एक्ला उम्मेदवार जस्तै हुन् । तर संयोग, तीनै जना हेवीवेट नेताहरु सत्ता गठबन्धनका हुन् । एउटै निर्वाचन क्षेत्र डोटीमा ती नेताको भिडन्तमा कसले बाजी मार्छ भन्ने चासो र चिन्ता अहिलेदेखि सुरु भइसकेको छ ।

समाजवादीबाट आलेको अराजक दाबी
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा वनमन्त्री भएपछि प्रेम आले चर्चामा आए । विगतका दिनमा डोटीबाट भएको काठ तस्करी अभियान सिंहदरबारमा वन संरक्षणमा पुगेपछि चर्चा हुनु स्वाभाविक नै थियो ।

त्यसमाथि आलेले अरु धेरै स्टन्ट पनि गरे । जसकारण उनको चर्चा काममा कम, मिडियामा धेरै‌ हुन थाल्यो । राम्राभन्दा नराम्रा र आवश्यक भन्दा अनावश्यक काम र बोलीले उनको चर्चा बढेको थियो ।

‘रुखले कार्बनडाइअक्साइड फ्याक्छ’ भनेर चर्चामा आएका तत्कालीन मन्त्री आले पछि पर्यटनमन्त्री बन्दा झन् बढी चर्चामा आए । देउवा प्रधानमन्त्री भएका बेला ओली छाडेर एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट आले पर्यटनमन्त्री बनेका थिए ।

त्यतिबेला उनले ओलीविरुद्धको भाषणदेखि नेपालमा सलमान खान ल्याउँछु भन्नेसम्मका अभिव्यक्तिले चर्चा कमाए । एक जना सुदूरपश्चिमकै युवासँग अश्लील फोन संवाद बाहिरिएपछि भने उनको थप आलोचना पनि सुरु भयो । त्यसपछि उनले पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीलाई ‘साढे’को संज्ञा दिएर झन् चर्चा पाए ।

यसरी चर्चा, विवाद र विरोधाभासमा रमाउने पूर्व मन्त्री आले यतिबेला डोटीबाट चुनाव लड्ने धाउन्नमा छन् । एमालेमा रहँदा शक्तिशाली मानिने आले अहिले समाजवादीबाट त्यति बलियो छैनन् । तर पनि उनी गठबन्धनबाट सुदूरपश्चिममा समाजवादीका लागि एक सिट जित्ने क्षमता राख्छन् ।

यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि आले पराजित भएका थिए । २०७४ सालको चुनावमा भने कांग्रेसका जिल्ला सभापति वीरबहादुर बलायरलाई हराउँदै आले सांसद र मन्त्री बन्न सफल भएका हुन् ।

बलायरलाई हराएका आले यसपटक देउवासँग कसरी ‘डिल’ गर्छन्, त्यसैमा उनको टिकट निर्भर छ । माधव नेपालबाट स्वतः अनुमोदन भएका उनी बलायरलाई पन्छाएर सांसद बन्न जति चुनौती छ, त्यो भन्दा बढी जोखिम पनि छ ।

२०७४ सालको चुनावमा हारेका बलायरको दाउ
गएको चुनावमा एमालेले माओवादीसँग गठबन्धन गरेपछि एक्लिएका वीरबहादुर बलायर तत्कालीन एमाले उम्मेद्वार आलेसँग पराजित भएपनि अहिले साटो फेर्ने रणनीतिमा छन् ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासँग निकट रहेका बलायर यसपटक टिकट आफैँ लिएर जित्ने दाउमा छन् । बलायरले पार्टीभित्र यसबारे छलफल तथा बैठक पनि गरिरहेको बुझिएको छ ।

२०७० सालको संविधानसभा निर्वाचन जितेरै एकपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका बलायर बलियो उम्मेदवारको रुपमा देखिएका छन् । हालै सम्पन्न स्थानीय तहको चुनावमा ९ पालिका रहेको डोटीमा ७ ओटामा कांग्रेसले जितेको थियो । त्यसैले पनि कांग्रेसले बलायरलाई नै अघि सार्ने तयारी गरिरहेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीको केन्द्रीय दाउ
पाँच वर्ष एकल सरकार चलाउन सफल सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि यतिबेला केन्द्रीय मन्त्री बन्ने दाउमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिएका उनी सुदूरपश्चिमका पहिलो मुख्यमन्त्री पनि हुन् ।

भट्टले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रमै चासो देखाएका छन् । पाँच वर्षमा प्रचण्डकै भरथेगले सुदूरपश्चिम प्रदेश सरकार चलाएका मुख्यमन्त्री भट्टले अहिले आफू केन्द्रीय राजनीतिमा आउन चाहेको भनिरहेका छन् । पाँच वर्षसम्म सुदूरपश्चिममा एकल सत्ता चलाएको अनुभव उनीसँग छ ।

तर यसको हिसाबकिताब प्रचण्डले कसरी मिलाउँछन् यसै भन्न सक्ने अवस्था छैन । त्यसमाथि प्रेम आले र बलायरले गठबन्धनमा प्रभावशाली दाबी गरिरहेका बेला भट्टले कसरी आफूलाई माथि राख्छन् ? यो उनको क्षमतामै भर पर्ला ।

यस्तो अवस्थामा डोटीमा आले, भट्ट र बलायरको रोचक भिडन्तमा कसले बाजी मार्छ भन्ने चासो बढेको छ । जसले सत्ता गठबन्धनलाईसमेत असहजता पैदा भएको बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १० : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र