साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

 साँझ ५ बजेसम्मका मुख्य १० समाचार


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ :  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।  साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः 

१. ‘पत्रकारितामा पेशागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको हाे’

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारलाई स्वस्थ, प्रतिस्पर्धी, मर्यादित बनाउन र पत्रकारितामा पेशागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको  बताएका छन् । 

मिडिया काउन्सिल विधेयक, २०७६ माथि पनि सैद्धान्तिक छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै उनले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न विधेयक ल्याइएको  बताएका हुन्  ।

उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै नेपाललाई प्रेस स्वतन्त्रताका क्षेत्रमा अग्रणी  मुलुकका रुपमा विकास गर्नुपर्ने बताए ।

उनले साविकको प्रेस काउन्सिलको गतिविधिले पत्रकारिता क्षेत्रको सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले उक्त संस्थालाई प्रतिस्थापन गरि सूचना र सञ्चार क्षेत्रको प्रविधिमा भएको विकास तथा पत्रकारिताको क्षेत्रमा देखिएका नवीन अभ्यास र चूनौतिलाई सम्बोधन गर्न मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको धारणा राखे ।

विधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवार अभ्यास बढ्ने, सञ्चारसँग सम्बन्धित बिभिन्न पक्षबीचको गुनासालाई स्वनियमबाट सम्बोधन गर्न सकिने उनको भनाई छ ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

त्यसअघिसांसद पदम गिरीले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएका थिए  । प्रतिनिधि सभाको अर्को बैठक भदौ १९ गते आइतबार बोलाइएको छ

२. विश्वविद्यालयका समस्याको हल पहिल्याउन प्रतिवद्ध हुनुपर्छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्ताल तथा पठनपाठन अवरुद्ध गरेर  विश्वविद्यालयका समस्या समाधान हुन नसक्ने बताएका छन् ।  काठमाडौंमा  आज ६९ औँ वाणिज्य दिवसका अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्याको रचनात्मक हल पहिल्याउन सबै प्रतिवद्ध हुनुपर्ने पनि  बताए ।

शैक्षिक क्षेत्रमा देखिने समस्या समाधानका लागि बिद्यार्थी, प्राध्यापक लगाएत सरोकारवाला सबै गम्भीर हुनुपर्ने उनको भनाई छ । प्रधानमन्त्री देउवाले गुणस्तरिय शिक्षा मुलुकको बिकासका लागि सबै भन्दा महत्वपूर्ण आधारको बिषय भएको भन्दै नेपालको शिक्षा क्षेत्रलाई विश्वबजारमा प्रतिपर्धा गर्ने किसिमको बनाउनुपर्ने धारणा राखे ।

 व्यवस्थापन शिक्षाका लागि ठाउँ अभाव भएको विषयमा क्याम्पसलाई आवश्यक जग्गा उपलव्ध गराउने जिकिर  गरे । त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वबिद्यालयका देखिने समस्याहरुलाई छलफलबाटै समाधान गर्नुपर्ने बताए ।

उनले बिषयगत क्याम्पसको क्षमता र गुणस्तरलाई बढाउन सरकार प्रद्धिवद्ध रहेको धारणा राखे । कार्यक्रममा क्याम्पसको नवनिर्मित नयाँ भवनको समेत उद्घाटन गरिएको थियो ।

३. विपद् व्यवस्थापनका लागि छुट्याइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ : खाँण

गृहमन्त्री बालकृष्ण खाँणले विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन् । सिंहदरबारमा आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार रकम खर्च गर्नुपर्ने बताएका हुन् ।

विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने  उनले बताए । उनले गतवर्ष बिभिन्न भूभागमा बाढी र पहिरोले क्षति गरेको र यस वर्ष पनि केही भूभागमा क्षति पुगेकाले केन्द्रले नै समन्वय गर्नुपर्ने धारणा राखे ।

सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भइनसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

बैठकमा पाँचथर, उदयपुर, गोरखा, डडेल्धुरा, बझाङ्ग लगायत अन्य जिल्लामा मनसुनजन्य विपद्बाट क्षतिग्रस्त भएका अत्यावश्यक संरचनाहरूको तत्का पुननिर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भएको थियो ।

 ४. एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् । काठमाडौंमा  आज नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताएका हुन् ।

उनले आगामी निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षेत्र, राष्ट्रियता र देश बनाउनका लागि गरेका हिजो गरेका कामहरू सुरक्षित रहेको जिकिर  गरे । त्यस्तै पोखरेलले गठबन्धन सरकारले गरेका अपराधपूर्ण कामका बारेमा पनि जनतालाई सजग गराउनुपर्नेमा उनले जोड दिए ।

उनले स्थानीय निर्वाचनमा जनताको लोकप्रिय मत प्राप्त गरेको देखाएको र कतिपय सिट उम्मेद्वारी सम्बन्धी व्यवस्थापकीय कमजोरीले प्राप्त हुन नसकेको भन्दै एमालेलाई जनताले गर्ने समर्थन कमजोर नभएको दावी गरे । कार्यक्रममा पोखरेलले निष्पक्षढंगले सेवा प्रवाहमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे ।

५. ललितपुर महानगरपालिकाद्धारा अवैध संरचना हटाउन सुरु

ललितपुर महानगरपालिकाले  (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । महानगरले आज  ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो ।

सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिए  ।

महानगरभित्र अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैपछि हटाउने र सूचना जारी समेत भइसकेको उनले बताए । अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाई छ  । 

 ६. नेप्सेमा सामान्य गिरावट

शेयर बजार परिसुचक नेप्से आज पनि घटेको छ । नेप्से आज १ दशमलव ६७ अंकले घटेर १ हजार ९ सय  ७० दशमलव ६२ विन्दुमा पुगेको हो । आज दुई सय १९ वटा कम्पनीको १८ लाख एक हजार कित्ता शेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको शेयर  कारोबार भएको छ । बजार घटेपनि आज सर्पोर्ट लघुवित्त र रु जलविद्युत परियोजनाको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको शेयर ओरालो लागेको छ ।

७. कोरोना सङ्क्रमणका कारण एकै दिन ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।

८.  राष्ट्रपति पुटिन नेता गोर्बाचोभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनद्धारा पुष्टि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिका अनुसार शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले जानकारी दिए ।

पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । गोर्बाचोभको  गत मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो ।

गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध  भएका थिए ।

सन् २००५ मा पुटिनले सोभियत संघको विघटन २०औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप बताएका थिए  । पश्चिमा देशका वाहवाह बटुलेका गोर्बाचोभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए ।

९. महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पुरा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सातादेखि काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

 एन्फाले  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २१ देखि असोज ३ गतेसम्म हुने साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित कुल बजेट ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।

१०. साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली श्रीलंका प्रस्थान  

श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।नेपाली टोली  आज श्रीलंकाको कोलम्बो प्रस्थान गरेका हुन् ।नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले  हिजो नै बिदाइ गरेको थियो ।

प्रतियोगिताका लागि यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् ।साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ ।प्रतियोगितामा नेपाल समूह ’बी’ मा रहेको छ ।

नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ’ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ५ : ०२ बजे

जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी

एजेन्सी– जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको

संविधान संशोधन : बतासिएको एजेण्डा

काठमाडौं– अहिले कांग्रेस र एमाले नेतृत्वको सरकार छ । सातबुँदे

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह

भक्तपुर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको

चट्याङ लागेर वृद्धको मृत्यु

बाजुरा– चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ ।

चन्द्रपुरमा अवैध सालको काठ बरामद

रौतहट– पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध