पर्यटकको पर्खाइमा सौराहा « Khabarhub

पर्यटकको पर्खाइमा सौराहा


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

चितवन– दसैँको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा धेरैले पालो पाउँदैनथे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चापसँगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष पनि पूर्ववत् अवस्थामा फर्कन सकेन ।

विगतको तुलनामा यतिबेला सौराहा सुनसान छ । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी पर्यटकको पर्खाइमा रहेको बताउँछन् । उनका अनुसार अहिले दैनिक १०-१५ हात्तीले मात्र पर्यटक बोक्ने अवसर पाएका छन् । ६५ बाट घटेर हात्तीको सङ्ख्या ३२ मा झरेको छ । विगत चार वर्षअघिसम्मको अवस्थालाई स्मरण गर्दै तिवारीले भने, ‘यतिबेला हाम्रा ६५ हात्तीले दैनिक चार ट्रिप गर्दा पनि पर्यटकले पालो पाउँदैनथे । अहिले १०-१५ वटाभन्दा बढी हात्तीले एक ट्रिप पनि पाएका छैनन् ।’

आफूहरू पर्यटकको आगमन हुनेमा आशावादी रहेको तिवारी बताउँछन् । क्रमशः पर्यटक बढ्नेमा उनी विश्वस्त छन् । राप्ती किनारस्थित होटल सनसेटभ्यूका सञ्चालक दिपेन्द्र खतिवडा विगतमा दैनिक एक सयभन्दा बढी पर्यटक दैनिक रेष्टुरेन्टमा आउने भए पनि अहिले २० जना पनि पुग्न मुस्किल हुने गरेको बताउँछन् । उनले भने, ‘ग्राहक नै कम हुन्छन् । त्यसमा पनि पहिले जस्तो खर्च गर्ने अवस्था देखिँदैन ।’ पहिले पहिले मन फुकाएर ग्राहकले खर्च गर्ने गरेको भन्दै खतिवडाले अहिले त्यस्तो अवस्था नरहेको बताए । उनले भने, ‘कोभिड–१९ को असर बल्ल देखिएको जस्तो लाग्छ ।’

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे घुम्ने समय परिवर्तन भएको आँकलन गर्छन् । दसैँमा मात्र नभएर अन्य समयमा घुम्न थालेकाले यतिबेला सोचे जस्तो पर्यटक नआएको हुनसक्ने उनी बताउँछन्  । घिमिरेले भने, ‘नेपाली मात्र होइन विदेशी पनि आएका छैनन् ।’ सडकको दुरावस्थाले पर्यटकलाई रोकेको हुनसक्ने उनको अनुमान छ । 

जङ्गल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरी कोभिड–१९ का वर्षमा जति पर्यटक यो वर्ष सौराहामा नआएको बताउँछन् । उनले भने, ‘कोभिडको वर्ष दसैँमा खुल्दै गर्दा होटल भरिएका थिए ।’ यसले राम्रो संकेत नदेखिएको उनको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई सौराहामा आन्तरिक र बाह्य पर्यटक नआएको बताउँछन् । 

भट्टराईको भनाइमा यतिबेला होटल ८० देखि ९० प्रतिशत भरिन्थे । यस वर्ष ३० प्रतिशतसमेत पुगेका छैनन् । तिहारसम्म राम्रो हुने अपेक्षा उनले गरे । कोभिड-१९ को समयमा भन्दा कम पर्यटक सौराहा आएपछि व्यवसायी चिन्तित छन् । भट्टराईले भने, ‘हाम्रो अवस्था श्रीलङ्काकोभन्दा कम छैन । खर्च गर्ने पैसा नभएर यस्तो अवस्था आएको हो भन्ने मलाई लाग्छ ।’विगतमा यतिबेला सबै कर्मचारी होटलमा हुन्थे । यस वर्ष बिदा दिनुपरेको भट्टराईको गुनासो छ । उनले भने, ‘अहिले हामीले कर्मचारीलाई बिदा पठाउन थाल्यौँ । विगतमा यस्तो थिएन । होटलमा पर्यटक आए आउने गरी बिदा गरेका हौँ ।’ आफूहरू तयारी अवस्थामा रहेको उनी बताउँछन् ।

सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि छन् । भट्टराईका अनुसार सौराहाका होटलमा आठ हजार पर्यटक अट्नसक्ने क्षमता छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : ३९ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष