आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज चैत्र २०, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पाकिस्तानी संसदद्वारा खारेज

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्ताव खारेज गरिएको छ । संसद्का उपसभामुख कसिम खान सुरीले संविधानको धारा ५ का आधारमा प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरिएको बताएका हुन् ।

सभामुख असद कुशैरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराइएका कारण उपसभामुखले तल्लो सदन राष्ट्रिय सभाको अध्यक्षता गरेका हुन् ।

पाकिस्तानी संविधानको धारा ५ मा हरेक नागरिक राज्यप्रति वफादार रहनुपर्ने तथा विश्वको जुनसुकै ठाउँमा रहेको पाकिस्तानी नागरिक वा पाकिस्तानमा रहने जो कोहीले पनि पाकिस्तानी संविधान एवम् कानून मान्नुपर्ने उल्लेख छ ।

प्रधानमन्त्री खानले आफूलाई विदेशी शक्तिले हटाउन चाहेको दाबी गर्दै आएका थिए । प्रधानमन्त्रीको यही दाबीका आधारमा धारा ५ अनुसार अविश्वासको प्रस्ताव खारेज गरिएको सूचना मन्त्री फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्ताबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । उनले कुनै पनि विदेशी शक्तिलाई पाकिस्तानी सरकार भंग गर्न नदिइने समेत बताएका छन् ।

संसद्मा अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला विपक्षीसँग १७४ मत रहेको डनले जनाएको छ । त्यहाँ अविश्वासको प्रस्ताव पारित गर्न केबल १७२ सिट पर्याप्त हुन्छ ।

यता विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी पीपीपीका नेता विलावल भुट्टो जर्दारीले भने अविश्वासको प्रस्तावमाथि मतदन हुन नदिएर सरकारले नै संविधानको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् विघटनगरेका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार प्रधामन्त्री खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई राष्ट्रपति अल्भीले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद् विघटनसँगै उनले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री खानले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव खारेज गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका थिए ।

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले बताए । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

नवाज शरिफमाथि आक्रमण

पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई लक्षित गरी हमला भएको छ । बेलायतको राजधानी लण्डनमा बसोबास गर्दै आएका शरिफलाई सत्तारुढ पाकिस्तान तहरिक ए इन्साफ पार्टीका कार्यकर्ताले आक्रमण गरेको बेलायतमा रहेका पाकिस्तानी पत्रकार अहमद नूरानीले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।

आक्रमणका क्रममा शरिफका सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्मा अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि शरिफमाथि हमला भएको हो । अविश्वासको प्रस्ताव पारित भइ खान पदबाट हटेको खण्डमा नवाजका भाइ एवम् पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरिफलाई नयाँ प्रधानमन्त्री बन्ने बाटो खुल्ने बताइएको छ ।

यता नवाज शरिफकी छोरी मर्यमले भने हिंसात्मक गतिविधि गर्ने सत्तारुढ दलका कार्यकर्तालाई तत्काल कारवाही गर्न माग गरेकी छिन् । यतिमात्रै नभइ इमरान खान आफैँ घटनाप्रति जिम्मेवार रहेको उनले आरोप लगाएकी छिन् ।

श्रीलंकामा कफ्र्यू

श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।

विगतमा, आपतकालीन आदेशले सेनालाई संदिग्धहरूलाई पक्राउ पूर्जी बिना पक्राउ गर्न र हिरासतमा राख्न अनुमति दिएको थियो । तर, प्रतिबन्धहरू प्रस्ट नभएको बताइन्छ । राष्ट्रपतिको आपतकालीन शक्तिहरू परिभाषित गर्ने नियमहरू जारी हुन बाँकी रहेको बताइएको छ ।

शुक्रबार दिउसो पसलहरु खुलेका र यातायात सामान्य रहेको थियो भने केही पेट्रोल पम्पमा प्रहरी तैनाथ थिए । सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालिन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन् ।

यसैबीचश्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । चर्को मूल्य वृद्धि एवम् औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभावका कारण हाल श्रीलंकामा व्यापक प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनमाझ प्रदर्शनकारीको क्रुद्ध भीडले श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेको घर समेत घेराउ गरेका थिए । त्यसयताश्रीलंकामा संकटकाल लगाइएको छ ।

यही क्रममा त्यहाँ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘रक्षा मन्त्रालयको विशेष निर्देशनमा सामाजिक सञ्जालहरुमाथि छोटो समयका लागि प्रतिबन्ध लगाइएको हो । शान्ति कायम गर्नका लागि मुलुकको हितका लागि यस्तो गरिएको हो ।’ श्रीलंकाको दूरसञ्चार नियमन आयोगका प्रमुख जयन्थ डिसिल्भालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

विश्वभर इन्टरनेटको निगरानी गर्ने समूह नेटब्लक्सले श्रीलंकामा ट्विटर, फेसबुक, ह्वाट्सएप युट्युबजस्ता सामाजिक सञ्जाल लगभग ठप्प रहेको जनाएको छ ।

यता मुलुकका युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रपति राजापाक्षेका भतिज नमल राजापाक्षेले भने ट्विट गर्दै ‘सामाजिक सञ्जाल प्रतिबन्धको पक्षमा नरहेको’ टिप्पणी गरेका छन् । ‘मैले प्रयोग गरेजस्तै भीपीएनको पहुँचले यस्तो प्रतिबन्ध व्यर्थ बनाउँछ । म अधिकारीहरुसँग यसबारे प्रगतीशील सोचाइ राख्न र निर्णयबारे पुनर्विचार गर्न आग्रह गर्छु ।’ उनले लेखेका छन् ।

रुसी सेनाले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनी राष्ट्रपतिको भनाइ

युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

शनिबार राति एउटा भिडियो सम्बोधनमा उनले भने, ‘रुसी सेनाको लक्ष्य के हो ? उनीहरुले पूर्वमा डोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन् ।’ आफूहरुको उद्देश्य देशको रक्षा गर्नु भएको उनले बताए । ‘हाम्रो लक्ष्य के हो त ? हामी आफैलाई, हाम्रो स्वतन्त्रता, हाम्रो भूभाग र हाम्रा नागरिकहरुको रक्षा गर्नु हो ।’, उनले भने ।

रुसी सेनाले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिओपोललाई रक्षा गर्न सफल भएकोमा उनले युक्रेनी फौजको प्रशंसा गरे । मारिओपोल र अन्य युक्रेनी शहरहरूमा युक्रेनी प्रतिरोधले किभलाई ‘अमूल्य समय’ प्राप्त गर्न अनुमति दिएको र रुसी सैन्य क्षमतालाई कमजोर बनाउन मद्दत गरेको उनको भनाई थियो ।

यसै साताको सुरुमा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वी युक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।

रुसविरुद्ध प्रतिबन्ध लगाउन जर्मनीको माग

रुसले युक्रेनको बुचा शहरमा युद्ध अपराध गरेको भन्दै रुसविरुद्ध युरोपेली युनियन ईयूले प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ ।

जर्मन उपचान्सलर एवम् अर्थमन्त्री रोबर्ट हबेकले रुसले उक्त शहरमा ‘संगीन युद्ध अपराध’ गरेको भन्दै यस्तो माग गरेका हुन् ।

जर्मनीको बिल्ड अखबारसँग कुराकानी गर्दै उनले भने, ‘यस्तो संगीन युद्धअपराधको जवाफ नखोजि बस्न सकिन्न ।’

उनले रुसविरुद्ध थप प्रतिबन्धबारे पनि ईयूका सदस्यहरुसँग कुराकानी भइरहेको बताए । उनले भने, ‘मेरो विचारमा अझ सशक्त प्रतिबन्धहरु चाहिएको छ । ईयूका हाम्रा साझेदारहरुसँग हामी यसको तयारीमा छौँ ।

बुचाबाट रुसी सेना फर्किएपश्चात सामूहिक चिहानमा ३०० युक्रेनीको शव भेटिएपछि रुसले त्यहाँ गरेको भनिएको युद्ध अपराधबारे अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेका बेला जर्मन उपचान्सलरको यस्तो भनाइ आएको हो ।

यसैबीच युद्धका क्रममा युक्रेनका नागरिकमाथि भएको आक्रमणलाई युद्ध अपराधका रूपमा अनुसन्धान गर्नुपर्ने बेलायती विदेशमन्त्री लिज ट्रसले बताएकी छन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतले यससम्बन्धी लिएको कुनै पनि फैसलालाई बेलायतले समर्थन गर्ने पनि ट्रसले बताइन् । ‘रुसी सेनालाई पछाडि हट्न दबाब सृजना भएसँगै हामीले सेनाद्वारा इरपिन र बुचा जस्ता सहरमा दर्दनाक घटना भएको खबर पाएका छौँ ।’ ट्रसले भनिन् ।

अनुचित र आपराधिक हमलाअन्तर्गत रुसी सेनाबाट निर्दाेष नागरिकमाथि भएको आक्रमणलाई युद्ध अपराधअन्तर्गत अनुसन्धान गर्नुपर्नेसमेत ट्रसले बताइन् ।

माइकोलाइभमा रुसी सेनाको रकेट आक्रमण

युक्रेनको माइकोलाइभ शहरमा रुसी सेनाले रकेट आक्रमण गरेको छ । युक्रेनी आन्तरिक मामिला मन्त्रालयले केही रुसी रकेटले माइकोलाइभ क्षेत्रमा हमला गरेको जनाएको हो ।

सामाजिक सञ्जाल टेलिग्राममार्फत् मन्त्रालयका सल्लाहकार एन्टोन गेरेश्चेन्कोले जानकारी दिँदै रुसी रकेट आक्रमणका कारण माइकोलाइभ बन्दरगाह प्रभावित भएको बताए ।

हाल रुसले कृष्ण सागरको तटमा रहेका युक्रेनी बन्दरगाहहरु ओदेसा, माइकोलाइभजस्ता शहरमा अत्यधिक हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बेलायतबाट फ्रान्सका लागि उडेको विमान बेपत्ता

बेलायतबाट फ्रान्सका लागि उडेको सानो विमान बेपत्ता भएको छ । बेलायतको वारविकशायरस्थित वेल्सबर्नबाट फ्रान्सको ला तोकेका लागि उडेको विमान इङ्गलिस च्यानलको आकाशमा बेपत्ता भएको हो ।

पीए–२८ विमानमा दुई जना सवार रहेको बीबीसीले जनाएको छ । उक्त विमान ‘चिन्ताजनक रुपमा बेपत्ता’ भएको फ्रान्सेली तटरक्षकको भनाइ छ ।

बेपत्ता विमानको खोजी कार्य जारी रहेको फ्रान्सेली तटरक्षक बलले जनाएको छ । खोजीकार्यका लागि फ्रान्सका दुई विमान र पानीजहाज परिचालन गरिएको बीबीसीले जनाएको छ । बेलायती उद्धारकर्ताहरू पनि बेपत्ता विमानको खोजीमा लागेको बताइएको छ ।

च्यानल जलक्षेत्रमा यात्रा गर्ने पानीजहाजलाई पनि बेपत्ता विमानको भग्नावशेष फेला पारेको अवस्थामा जानकारी दिन निर्देशन दिइएको छ ।

बाढी पहिरोका कारण ब्राजिलमा १४ जनाको मृत्यु

अविरल वर्षापछिको बाढी पहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा १४ जनाको मृत्यु भएको छ । दुई दिनयता जारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा अरु ५ जना बेपत्ता भएका छन् ।

प्रकोपमा मारिनेमा आठ बालबालिका समेत रहेको जनाइएको छ । अरु चार जना घाइते भएका छन् । भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै वर्षा हुने अनुमान गरिएको छ ।

बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीले उनीहरूको घर बगाएको थियो । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् ।

६ साताअघि पेट्रोपोलिस सहरमा अविरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ५७ बजे

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि

चितवन– यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय

जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’

अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु

काठमाडौं – सरकारले भारतीय रुपैयाँ खरिद गर्न गत आर्थिक वर्षको

काम खोज्दै देश छाड्ने झन् बढे

काठमाडौं – गत आर्थिक वर्षको भदौको तुलनामा यो पटक वैदेशिक

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं– नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला