काठमाडौं– रुसले गत फेब्रुअरी २४ मा ‘विशेष सैनिक कारवाही’ थालेयता युक्रेनबाट हालसम्म ११ लाख मानिसहरु आफ्नो मुलुक प्रवेश गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी भूभागबाट आफ्नो मुलुकतर्फ ११ लाख मानिसहरुलाई उद्धार गरिएको जनाएको हो ।
रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार युक्रेनबाट रुस पुग्नेमा झण्डै २ लाख बालबालिका पनि छन् ।
सोमबारमात्र ११ हजार ५ सय जना युक्रेनबाट रुस आइपुगेको जनाइएको छ । सोमबार युक्रेनबाट रुस पुग्नेमा १ हजार ८ सय ४७ जना बालबालिका रहेको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।
युक्रेनबाट रुस आउने मानिसहरुमा रुस समर्थित युक्रेनका पृथकतावादी राज्यहरु ‘लुहान्स्क जनगणतन्त्र’ र ‘डोनेत्स्क जनगणतन्त्र’ का बासिन्दाहरु पनि रहेको जनाइएको छ ।
युक्रेनमाथि सैनिक आक्रमण थाल्नुअघि रुसले ती राज्यहरुलाई रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो । रुसले कसैलाई पनि जबरजस्ती आफ्नो मुलुक नलगेको बताएको छ ।
उनीहरुकै आग्रहमा ती मानिसहरुलाई युक्रेनबाट रुसतर्फ उद्धार गरिएको रुसी रक्षा मन्त्रालयको दाबी छ । यता युक्रेनले रुसी फौजले भने युक्रेनी नागरिकहरुलाई जबरजस्ती रुसतर्फ लैजाने गरेको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया