विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ २०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ३, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

युक्रेनमाथि रुसी आक्रमणको १ सय दिन पूरा

रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा भएको छ । युक्रेनको अनजीकरण तथा असैन्यकरण गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा ‘विशेष सैन्य कारवाही’ को घोषणा गर्दै युक्रेनविरुद्ध आक्रमण थालेका थिए । त्यसयता रुसी आक्रमणका कारण युक्रेनबाट दशौँ लाख मानिसहरू विस्थापित भएका छन भने हजारौँ मानिसहरूको मृत्यु भएको छ । यसबाहेक धेरै सहरहरु ध्वस्त भएर भग्नावशेषमा परिणत भएका छन् । राजधानी कब्जा गर्ने प्रयत्नस्वरूप सुरुवाती दिनहरूमा रुसी फौजले किभ सहर आसपास व्यापक आक्रमण गरेका थिए । यद्यपि तेज युक्रेनी प्रतिरोधका कारण रुसी फौज किभबाट पछि हट्न बाध्य भए ।

हाल रुसी सेनाले आफ्नो सैनिक कारवाहीलाई युक्रेनको पूर्वी भागमा केन्द्रित गरेको छ । रुसी सेना हाल पूर्वी युक्रेनको सिभेरोडोनेत्स्क सहर कब्जा गर्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, रुस–युक्रेनबीच जारी युद्ध १ सय दिन पूरा हुँदै गर्दा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको किभमा ५० वटा दूतावास पुनः सञ्चालनमा आउँनुले आफ्नो देश जारी युद्धमा विजयोन्मुख रहेको दरिलो विश्वासको प्रमाण भएको बताएका छन् ।

जेलेन्स्कीले व्यावहारिक रूपमा मात्र नभई प्रतिकात्मक रूपमा पनि यो समाचार महत्त्वपूर्ण रहेको टिप्पणी गरेका छन् । राजधानीमा फर्कने हरेक दूतावासले आफ्नो देश युद्धमा विजयोन्मुख रहेको प्रमाण दिएको उनको बुझाइ छ । किभ इन्डिपेन्डेन्ट अखबारले उल्लेख गरेअनुसार यसअघि भारतीय विदेश मन्त्रालयले पोल्यान्डबाट अस्थायी रूपमा सञ्चालित युक्रेनमा रहेको भारतीय दूतावासले मे १७ बाट किभमा पुनः सञ्चालन गर्ने बताएको थियो ।जारी द्वन्द्वका बीच अपरेशन गङ्गा नामक कारवाही अन्तर्गत भारतले युक्रेनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २२,५०० भारतीय नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराएको थियो ।

यसअघि अस्थायी रूपमा पोल्यान्डको राजधानी वार्साबाट सञ्चालित युक्रेनमा रहेको भारतीय दूतावास मे १७ देखि किभबाट नै पुनः सञ्चालन हुने विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । युक्रेनमा जारी द्वन्द्वका कारण बिग्रिएको सुरक्षा अवस्थाका कारण मार्च १३ मा दूतावास अस्थायी रूपमा बार्सामा सारिएको थियो । पोल्याण्डमा दूतावासलाई अस्थायी रूपमा सार्ने निर्णयको जानकारी दिँदै त्यस बेला विदेश मन्त्रालयले थप घटनाक्रमहरूको आधारमा स्थितिको पुनः मूल्याङ्कन गरिने बताएको थियो । युक्रेनमा बिग्रँदै गएको सुरक्षा अवस्था र देशको पश्चिमी भागहरूमा जारी आक्रमणहरूका कारण युक्रेनमा भारतीय दूतावास अस्थायी रूपमा सञ्चालन हुने बताइएको छ ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकी दूतावासका कर्मचारीहरूलाई उनीहरूको सुरक्षाको लागि स्थानान्तरण गरिरहेको बताएका छन् । ‘हामीले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको हाम्रो प्रतिबद्धतालाई जोड दियौं, हाम्रो सहयोग जारी राख्ने वाचा गर्यौँ र हामी किभ फर्कने दिनको लागि काम गर्न थाल्यौं’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनी जनताले आफ्नो सुरक्षा सहयोगमा रुसको अप्रत्याशित आक्रामकताबाट आफ्नो मातृभूमिको रक्षा गरेका छन् र दूतावासमाथि फेरि अमेरिकी झण्डा उडिरहेका छन् भन्ने यसको परिणाम रहेको रुपमा टिप्पणी गरेका छन् । ‘हामी गर्वका साथ खडा छौं । युक्रेनको सरकार र जनतालाई समर्थन गर्न जारी राख्छौँ किनभने उनीहरूले आफ्नो देशलाई क्रेमलिनको क्रूर आक्रामक युद्धबाट बचाउँछन्’ प्राइसले विज्ञप्तिमा बताएका छन् ।

उनले भने– ‘किभ फर्कने सहकर्मीहरूको सुरक्षा बढाउन थप उपायहरू गरिएको छ र सुरक्षा उपाय र प्रोटोकलहरू बढाइएको छ । हामी हाम्रा अगाडिका चुनौतीहरूको सामना गर्न प्रतिबद्ध छौँ । युद्ध चलिरहेको छ । रुसका सेनाहरूले युक्रेनी भूमिमा हरेक दिन मृत्यु र विनाश गरिरहेका छन् । लाखौं युक्रेनीहरू आफ्नो घरबाट विस्थापित भएका छन् र आफ्ना प्रियजनहरू गुमाएकोमा शोक गरिरहेका छन् । हामी त्यहाँका जनता र शासनप्रति हाम्रो प्रतिबद्धता पुनः जहोर गर्छौ ।’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ट्वीटरमा भनेका छन्, ‘अमेरिकी ध्वजा किभमा दूतावास फेरि उडेको छ । म घोषणा गर्न सक्छु हामीले आधिकारिक रूपमा युक्रेनको राजधानीमा दूतावास पुनः सञ्चालन गरेका छौं । हामी युक्रेनको सरकार र जनताको साथमा गर्वका साथ खडा छौं । पुटिनको क्रूर आक्रमणबाट आफ्नो देशको रक्षा गर्नुहोस् । स्लाभा उक्राइनी !’

रूसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो सैन्य कारवाही शुरु गरेको थियो । यसबाट ठूलो मानवीय सङ्कट निम्तिएको छ । युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप रुसका उच्च ओहोदाका व्यक्ति र कम्पनीहरूलाई लक्षित गर्दै पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका छन् ।

 बेलायतमा मङ्कीपक्सका बिरामी बढ्दै, यौन सम्पर्क नगर्न संक्रमितलाई सरकारको निर्देशन

बेलायतका मङ्कीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मङ्कीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ । संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिइएको बीबीसीले जनाएको छ ।

असावधानीको रूपमा संक्रमणपछि आठ हप्तासम्म कन्डम प्रयोग गर्न भनिएको छ । संक्रमणको जोखिम न्यून रहेको तर, मानिसहरू नयाँ दाग वा घाउप्रति सर्तक हुनुपर्ने यूकेएचएसएले सुझाव दिएको छ ।स्कटल्यान्डमा चार, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा एक जनामा कोभिड देखिएको छ । शरीरमा रातो फोका देखिनु र हल्का ज्वरो आउनु मङ्कीपक्स संक्रमणका लक्षण हुन् । भाइरस संक्रमित र उनीहरूको सम्पर्कमा रहेकालाई २१ दिनसम्म घरमा अलग्गै बस्न भनिएको छ ।

भारतमा ४ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

भारत २४ घण्टाको समयावधिमा चार हजार ४१ जना नयाँ कोरोना भाइरसका सङ्क्रमित थपिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । अघिल्लो २४ घण्टाको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो ।

२४ घण्टाको समयावधिमा दुई हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको कूल सङ्ख्या चार करोड २६ लाख २२ हजार ३९४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको जनाइएको छ । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १७ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ८३ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

केन्यामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु

अफ्रिकी मुलुक केन्याको पूर्वमा भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारवाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । केन्याको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरूले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरूको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि त्यसका विरुद्धमा सरकारले कुनै कदम नचालेको भन्दै प्रहरीका विरुद्धमा स्थानीयले प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनमा परी अरु सात जना घाइते भएका थिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार जारी रहेको बताइएको छ । प्रहरीले दिएको जानकारीअनुसार हालै सो क्षेत्रमा हात्तीले एकजना स्थानीय शिक्षक मारेको थियो । जंगली जनावरबाट बचाउन सरकारले कुनै कदम नचालेको भन्दै स्थानीय त्यसका विरुद्धमा आन्दोलनमा उत्रिएका हुन् ।

दुई महिना युद्धविराम थप गर्न यमनका युद्धरत पक्ष सहमत

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले यमनका युद्धरत पक्षहरूले अर्को दुई महिनाको लागि अहिले जारी युद्धविरामलाई विस्तार गर्न सहमत भएका जानकारी गराएका छन् । “हालको सम्झौता अवधि समाप्त भएपछि नयाँ सम्झौता लागू हुनेछ,” यमन समय अनुसार साँझ सात बजे ग्रुण्डबर्गले संयुक्त राष्ट्रसंघको वेबसाइटमा जारी गरेको लिखित वक्तव्यमा भनिएको छ ।

“यो सम्झौता २ अप्रिल २०२२ मा पहिलोपटक लागू भएको मूल सम्झौताकै शर्तमा विस्तार गरिएको हो,” विज्ञप्तिमा भनिएको छ ।उनले रमजानको पवित्र महिनाको पहिलो दिन सुरु भएको र बिहीबारको दिन समाप्त भएको राष्ट्रव्यापी सन्धिको निरन्तरता सुनिश्चित गर्दै भने, “विगत महिनाहरूमा यमनका युद्धरत पक्षका प्रतिनिधिहरू र उच्च पदस्थ राजनीतिज्ञहरूसँग श्रृङ्खलाबद्ध बैठकहरू आयोजना गरेपछि यो सम्झौता भएको हो ।” एकाध ठाउँमा झडप र सम्झौता उल्लङ्घनका घटना देखिए पनि दुई महिनादेखि यमनका युद्धरत पक्षहरूले यस सम्झौताबाट लाभहरू अनुभव

गर्दै आएका छन् । सर्वसाधारण घाइतेहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छ । होडैडा बन्दरगाह हुँदै इन्धन वितरणमा निकै वृद्धि भएको छ र लगभग छ वर्षसम्म बन्द भएपछि साना अन्तराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानहरू पुनः आरम्भ भएका छन् । “सम्झौता कार्यान्वयन गर्न र यसलाई पुनः नवीकरण गर्न सहमत भएर दुवै पक्षले यमनी नागरिकहरूलाई यो विनाशकारी द्वन्द्वको अन्त्य सम्भव छ भन्ने आशाको दुर्लभ झलक प्रदान गरेका छन्,“ उनले भने । इरानको सहयोग प्राप्त यमनी हुथी लडाकूले विभिन्न उत्तरी प्रान्तहरूको नियन्त्रण गरी साउदी अरब समर्थित यमनी संयुक्त सरकारलाई राजधानी सानाबाट बाहिर जान बाध्य गराएपछि यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा होमिएको थियो ।

यो युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ । चार लाख विस्थापित भएका छन् र युद्धले देशलाई भोकमरीको सँघारतिर धकेलेको छ ।

रुसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको जेलेन्स्कीको दाबी

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनी राष्ट्रपति भोलोलिदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेनेस्कीले भने, ‘हाम्रो कूल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।’ देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ ।

युक्रेनमा लामो समयदेखि युद्धरत पृथकतावादीहरूलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको युक्रेनले आरोप लगाउदै आएको छ । लक्जम्बर्गको संसद्मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो भूमि रक्षाका लागि आफूहरू सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।

टर्कीले नाम फेर्‍यो, आइन्दा ‘तुर्किए’ भनी पुकारिने

टर्कीलाई अब संयुक्त राष्ट्रसंघमा ‘तुर्किए’ भनी सम्बोधन गरिने भएको छ । टर्कीको विदेश मन्त्रालयले गरेको आग्रह अनुसार राष्ट्रसंघले टर्कीको नाम परिवर्तन गर्न लागेको बीबीसीले जनाएको छ । यसअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले एक अभियानको सुरुवात गर्दै मुलुकको नाम परिवर्तन गरी ‘तुर्किए’ राख्न विभिन्न अन्तर्राष्ट्रिय निकायहरूलाई आग्रह गरेका थिए ।

टर्कीको औपचारिक आग्रहमा नयाँ नाम प्रचलनमा ल्याइन लागेको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ‘तुर्किए नामले टर्किस जनताको संस्कृति, सभ्यता र मान्यताको प्रतिनिधित्व गर्छ ।’ एर्दोगानले गत डिसेम्बर महिनामा भनेका थिए । यसै साता टर्कीले आफ्नो नाम परिवर्तनका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गरेको जनाइएको छ ।

अधिकांश टर्किस नागरिकले आफ्नो मुलुकलाई ‘तुर्किए’ नै पुकार्दै आएको बताइएको छ । तर, यो मुलुकको नाम अंग्रेजीकरण हुँदा टर्की हुन जाने बीबीसीले जनाएको छ । केही समयअघि बाट नै टर्कीका सरकारी प्रसारक तथा सञ्चारमाध्यमहरूले आफ्नो मुलुकलाई ‘तुर्किए’ भनी पुकार्न थालेका थिए । पश्चिमा मुलुकहरूमा क्रिसमस, नयाँ वर्ष, थ्यांकगिभिङ जस्ता पर्वहरूमा काटेर खाइने ‘टर्की’ चरासँग नाम मिलेपछि टर्कीले आफ्नो रिब्राण्डिङ गरेको जनाइएको छ । यसबाहेक क्याम्ब्रिजको शब्दकोषमा पनि ‘टर्की’ शब्दको अर्थ ‘केही नराम्रोसँग असफल भएको’ वा ‘मूर्ख मानिस’ उल्लेख छ ।

मुलुकहरूले आफ्नो नाम परिवर्तन गर्नु नौलो नभएको बीबीसीले जनाएको छ । यसअघि सन् २०२० मा नेदरल्याण्ड्सले आफ्नो रिब्राण्डिङ गर्दै ‘हल्याण्ड’ शब्दलाई हटाएको थियो । त्यसअघि मेसेडोनियाले पनि छिमेकी मुलुक ग्रिससँग तनाव उत्पन्न भएपछि आफ्नो नाम परिवर्तन गरेर ‘उत्तर मेसेडोनिया’ राखेको थियो । त्यसअघि दक्षिण अफ्रिकी मुलुक ‘स्वाजिल्यान्ड’ ले पनि आफ्नो नाम परिवर्तन गरेर ‘इस्वातिनी’ राखेको थियो । त्यसअघि पनि ऐतिहासिक रुपमा इरानलाई फारस (पर्सिया), थाइल्याण्डलाई सायामजिम्बाब्वेलाई रोडेशिया पुकारिँदै आइएको छ ।

 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ८ : ०३ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।