काठमाडौँ – सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधनले यतिबेला विश्वभर धेरै चाँसो र प्रश्न उब्जाएको छ। ९१ वर्षको उमेरमा राजधानी मस्कोमा मंगलबार उनको निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहँदै आएका गोर्बाचेभ सोभियत संघका जिवित इतिहास थिए । जुन अब इतिहासमा सीमित भएको छ ।
मस्कोमा रहेको सेन्ट्रल क्लिनिकल हस्पिटललाई उद्धृत गर्दै रुसको तास समाचार संस्थाले ‘गम्भीर एवम् लामो अस्वस्थताका कारण’ मंगलबार उनको निधन भएको जनाएको छ । उनलाई शीतयुद्धको शान्तिपूर्ण अन्त्य गरेको जस जाने गर्छ । यसका लागि उनले सन् १९९० मा प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिग्राममार्फत् सन्देश जारी गर्दै गोर्बाचेभले सोभियत प्रणालीमा सुधार गर्ने आवश्यकतालाई ‘गम्भीर रुपमा बुझेको’ र ‘तत्कालीन समस्या समाधानका लागि प्रयास गरेको’ टिप्पणी गरेका छन् ।
‘गोर्बाचेभ एक नेता र राजनेता हुनुहुन्थ्यो, विश्व इतिहासमा उहाँको प्रभाव निकै ठूलो छ’ पुटिनले भनेका छन्, ‘उहाँले निकै जटिल, नाटकीय परिवर्तन एवम् व्यापक विदेश नीति, आर्थिक तथा सामाजिक चुनौतिको समयमा हाम्रो देशको नेतृत्व गर्नुभएको थियो ।’
त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि गोर्बाचेभको निधनप्रति दुःख प्रकट गर्दै उनलाई ‘बेजोड भिजन भएका मानिस’ को संज्ञा दिएका छन् ।
‘आणविक हतियार दौड अन्त्य होस् भन्ने चाहना राख्ने विश्वभरका मानिसहरुको प्रार्थनालाई सम्बोधन गर्दै सोभियत संघको नेताका रुपमा उहाँले राष्ट्रपति रेगनसँग हाम्रा दुई मुलुकसँग रहेका आणविक हतियार कटौती गर्न काम गर्नुभएको थियो’ बाइडेनले भनेका छन्, ‘दशकौँको कठोर राजनीतिक दमनपछि उहाँले लोकतान्त्रिक सुधारका कदमहरु चाल्नुभएको थियो । उहाँ ग्लास्नोस्ट र पेरेस्त्रोइका (खुलापन र पुनसंरचना) मा विश्वास राख्नुहुन्थ्यो । नारामा मात्रै होइन, धेरै वर्षको एकलौटीपन र बञ्चितीकरणमा परेका सोभियत संघका जनताहरुको लागि अग्रगामी मार्गका रुपमा पनि उहाँ साच्चिकै महान हुनुहुन्थ्यो ।’
आणविक प्रलयको जोखिम कम गर्न र सोभियत संघ एवम् अन्यत्रका दशौँ लाख जनताहरुलाई दमनबाट मुक्त गरेको पनि उनलाई जस जाने गरेको छ । केही सोभियत समर्थकहरु उनले देशको राजनीतिक संरचना पतन गराएको भनी आरोप समेत लगाउने गरेका छन् ।
केही समयअघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियत संघको पतनलाई ‘२० औँ शताब्दीकै सबैभन्दा खराब भू– राजनीतिक प्रलय’ को संज्ञा दिएका थिए । गोर्बाचेभको जीवनमा यस्तै असङ्गती र बिडम्बनाहरु मिसिएका छन् । गोर्बाचेभले सोभियत संघको पतन आफूले कहिल्यै पनि नचाहेको बताउँदै आएका थिए । ‘यो संघलाई जोगाउन सकिन्थ्यो’ उनले धेरैपटक भन्दै आएका थिए ।
तर, पछि उनी परिवर्तनकारी शक्तिसँगै नजिक हुन पुगे । सोभियत संघ पतन भएको केही वर्षपछि उनले यस्तो परिवर्तन आफ्नो सचेत एवम् निकै व्यक्तित निर्णयको नतिजा भएको बताएका थिए ।
‘मेरो ठाउँमा अरु नै कोही आउन सक्थे र उनीहरुले देशलाई मानवीय, स्वतन्त्र र लोकतान्त्रिक विकासतर्फ नलैजान पनि सक्थे’ सन् २००३ मा रेडियो फ्रि युरोप÷रेडियो लिबर्टीलाई दिएको अन्तरवार्तामा उनले भनेका थिए ।
आफ्नो मुलुकको भविष्यलाई नै परिवर्तन गर्ने विन्स्टन चर्चिल, महात्मा गान्धी, नेल्सन मण्डेला, जोसेफ स्टालिन, माओत्सेतुङजस्तै उनी पनि २० औँ शताब्दीका निकै प्रभावशाली राजनीतिज्ञमा गनिन्छन् ।
सोभियत संघका अन्तिम साक्षीको उदय
रुसमा भएको बोल्सेभिक क्रान्तिको १५ वर्ष नबित्दै सन् १९३१ मार्च २ मा दक्षिणी रुसको स्टाभ्रोपोल सहरमा गोर्बाचेभको जन्म भएको थियो । उनका परिवार सामान्य किसान थिए । उनले आफ्नो जीवनकालको प्रारम्भीक दुई दशकमा नै सामूहिकीकरण, तत्कालीन सोभियत तानाशाह जोसेफ स्टालिनको ‘भयानक आतंक’, दोस्रो विश्वयुद्धजस्ता भयानक राजनीतिक अवस्थाको सामना गरिसकेका थिए ।
सन् १९५२ मा मस्को स्टेट युनिभर्सिटीमा कानून अध्ययन गर्ने क्रममा २१ वर्षको उमेरमा पहिलो पटक कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । त्यसपछि आफ्नै कक्षामा अध्ययन गर्ने राइसा टिटोरेन्कोसँग विवाह गरेपछि उनी दक्षिणी रुस फर्केका थिए । सोही क्रममा कृषि क्षेत्रप्रति आकर्षित बनेका उनी पार्टीको क्षेत्रीय नेतृत्व अनुक्रममा पनि बढ्दै गएका थिए।
सन् १९७० सम्म आइपुग्दा उनी स्टाभ्रोपोलमा पार्टीको शीर्ष तहमा पुगिसकेका थिए । सन् १९८० मा उनलाई कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा चयन भएका थिए । सन् १९८५ मा उनी कम्युनिष्ट पार्टीको महासचिव चयन भएका थिए ।
सामान्य मानिसहरुसँग कुरा गर्ने असमान्य नेता
धेरै रुसी र विदेशीलाई चकित पार्दै उनले सोभियत राजनीतिमा सुधारको आवश्यकता रहेको औँल्याएका थिए । सोहीक्रममा उनले ग्लास्नोस्ट (खुलापन) र पेरेस्त्रोइका (पुनसंरचना) गरी दुई नीतिहरु अघि सारेका थिए । ‘राज्य जनताको सेवा गर्नका लागि हो’ उनले भनेका थिए, ‘जनता राज्यको सेवा गर्नका लागि होइन’ गोर्बाचेभले आइन्दा यही नयाँ मार्गदर्शन सिद्धान्त हुने उल्लेख गरेका थिए ।
गोर्बाचेभ र राइसाले क्रेमलिनमा नयाँ शैली भित्र्याएका थिए । उनीहरु प्रायः मुलुकको भ्रमणमा निस्कन्थे भने कहिलेकहीँ बाटोमा मानिसहरुसँग कुराकानी पनि गरिरहेका हुन्थे ।
आर्थिक खुलापनका कारण सोभियत संघमा संस्थापक नेता भ्लादिमिर इल्यिच उल्यानोभ (लेनिन) ले लागू गरेको ‘नयाँ आर्थिक नीति’ पछि पहिलो पटक साना व्यवसाय, क्याफे, रेस्टुरेन्टजस्ता व्यापारिक केन्द्रहरु पनि देखिन थालेका थिए ।
संघमा सेन्सरसिप पनि खुकुलो पारिँदै जाँदा रुसी सँस्कृतिमा पनि पुनर्जागरण आएको थियो । यसअघि प्रतिबन्धमा परेका लेखकहरुको पुस्तकहरु खुला गरिएका थिए भने नाटक एवम् अन्य कला पनि प्रष्फुटन हुन पाएका थिए ।
सन् १९८६ मा युक्रेनको चेर्नोबिलस्थित आणविक शक्ति केन्द्रमा दुर्घटना भएसँगै सूचनाको हक र वाक् स्वतन्त्रताको माग पनि उठ्दै जान थालेको थियो । त्यसबेला सरकारले आन्द्रेई सखारोभजस्ता राजनीतिक बन्दीहरुलाई पनि रिहा गरेको थियो ।
गोर्बाचेभले हतियारको दौड अन्त्य हुनुपर्ने बताउने गरेका थिए । साथै उनले अमेरिकासँगको सम्बन्ध पनि सुधार गर्न चाहेका थिए ।
यहीक्रममा उनी र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीच मध्यमधुरीको आणविक बल सन्धीमा हस्ताक्षर भएको थियो ।
यसबाट उनलाई युरोपमा रहेका हजारौँ आणविक हतियार कटौती गर्न सफल भएको जस पनि दिने गरिन्छ । यसबाहेक सन् १९८९ मा उनले दश वर्षअघि तत्कालिन सोभियत नेता लियोनिड ब्रेजनेभको पालादेखि अफगानिस्तानमा जारी युद्धको पनि अन्त्य गरेका थिए ।
तर, उनले हाँकेको मुलुकमा सबैकुरा भनेजस्तो सहज पनि थिएन । सन् १९८९ सम्म आइपुग्दा उनको प्रयासमा जारी आर्थिक एवम् विदेश नीतिमा सुधारका कारण सोभियत संघ भित्र एक किसिमको संकट देखा परेको थियो । सोभियत उद्योग धराशायी बन्दै गएका थिए भने सो क्षेत्रभरी नै आत्मनिर्णयको मुद्दा जोडतोडले उठ्न थालेका थिए ।
जसले बर्लिनको पर्खाल ढल्दा भनेका थिए – ‘विचार नमिल्दैमा दुश्मन हुँदैन’
गोर्बाचेभले मुलुकको आर्थिक संकटलाई कम आँकेका थिए । सामान्य एवम् अत्यावश्यक वस्तुको अभाव देखा पर्न थालेको थियो भने पार्टीभित्रका विरोधीहरुले उनको आलोचनालाई पनि चर्काउँदै लगेका थिए । उनको सुधारले त्यहाँ राष्ट्रवादी शक्तिलाई मलजल गरिरहेको उनलाई ख्यालै थिएन ।
सन् १९८९ को अक्टोबर महिनामा उनले तत्कालीन समयमा साम्यवादी शासन रहेको पूर्वी जर्मनीको भ्रमण गरेका थिए । जर्मन लोकतान्त्रिक गणतन्त्र अर्थात् पूर्वी जर्मनी स्थापना भएको ४० औँ वर्षगाँठ मनाउन उनी जर्मन राजधानी बर्लिन पुगेको एक महिना नबित्दै शीतयुद्धको प्रतिक मानिने बर्लिनको पर्खाल ढल्न पुग्यो ।
‘सत्यको एकाधिकार हामीसँग मात्रै छ भनी देखाउन हामीले छाडेका छौँ’ यसको केही सातापछि तत्कालिन रोमन क्याथोलिक धर्मगुरु पोप जोन पल द्वितीयसँग भेट गर्न इटालीको राजधानी रोम पुगेका उनले एक भाषणका क्रममा भनेका थिए, ‘हामीसँग बिचार नमिल्नेलाई दुश्मन मान्न हामीले छाडेका छौँ ।’
नोबेल जितेर सोभियत संघको पतन
सन् १९९० मा उनलाई पूर्वी एवम् पश्चिमा मुलुकबीच जारी तनाव कम गर्न भूमिका खेलेको भन्दै प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिएको थियो । तर, स्वदेशमा भने उनलाई त्यति सहज थिएन । सन् १९९१ को अगष्ट ४ मा उनी परिवारका साथ बिदा मनाउन क्राइमियास्थित कृष्ण सागरको तट पुगेका थिए ।
त्यसको १४ दिनपछि अर्थात् १८ अगष्टमा उनी बिदा मनाइरहेको घरमा केही वरिष्ठ सोभियत अधिकारीहरु आएका थिए । उनीहरुले गोर्बाचेभलाई तत्काल मुलुकमा आपतकाल घोषणा गर्न वा राजीनामा दिन आग्रह गरेका थिए ।
उनले दुबै विकल्प स्वीकार गरेनन् । ती अधिकारीहरुले उनको साथबाट सोभियत संघको आणविक हतियार प्रहार गर्ने ‘कोड’ लिएर गए । यससँगै उनी परिवारका साथ नजरबन्दमा रहन बाध्य भए । त्यसपछि राज्यनियन्त्रित टेलिभिजनले अगष्ट १९ का दिन मस्कोको समयअनुसार बेलुकी ४ बजेबाट मुलुकमा संकटकाल लागेको घोषणा गर्यो ।
‘राष्ट्रिय विपदबाट समाजलाई जोगाउनका लागि जनताको माग बमोजिम सबैभन्दा निर्णायक कदम’ भन्दै त्यसबेला संकटकालको घोषणा गरिएको थियो ।
रुसी राजनीतिक नेता बोरिस याल्त्सिनको अग्रसरता एवम् योजनाकारहरुको असक्षमताका कारण तीन दिनपछि गोर्बाचेभविरुद्ध सत्तापलटको प्रयास असफल भयो । याल्त्सिनको समर्थन र सत्तापलटको विरोधमा राजधानी मस्कोसहित मुलुकका धेरै स्थानमा जनताहरु सडकमा ओर्लिए ।
त्यसको केही महिनासम्म एकपछि अर्को गर्दै सोभियत संघका गणराज्यहरुले स्वतन्त्रताको घोषणा गर्न लागे । उनै याल्त्सिनले बेलारुस र युक्रेनका नेताहरुसँग एक समझदारीमा हस्ताक्षर गर्दै सोभियत संघको पतन भएको र आफूहरुले स्वतन्त्र मुलुकहरुको संगठन (सीआईएस) को गठन गरेको स्वघोषणा गरे ।
केही सातासम्म गोर्बाचेभ क्रेमलिनमै थिए । तर, उनको हातबाट शक्ति फुत्किसकेको थियो । सोही वर्षको डिसेम्बर २५ मा उनले कुनै अस्तित्व नै नरहेको मुलुकको शीर्ष नेताको पदबाट राजीनामा दिएका थिए ।
(भ्वाइस अफ अमेरिका, बीबीसी र न्यूयोर्क टाइम्सको सहयोगमा)
प्रतिक्रिया