दसैँले सुनसान बन्यो काठमाडौँ « Khabarhub

दसैँले सुनसान बन्यो काठमाडौँ


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादसैँको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । 

आइतबार जब साँझ पर्दै गर्‍यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो । सवारी साधनको आवागमनसमेत ह्वात्तै घटेको छ । अन्य नाकाको अवस्था पनि त्यही रह्यो । महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो । उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको सङ्ख्या पनि घटेको देखियो । 

अघिपछि ट्राफिक व्यवस्थापनमा चार-पाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एउटा ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन् । त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरूले आराम गर्न भ्याएका छन् । नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए । कलंकीमा गाडी कुरेर बस्नुभएका धादिङका उपेन्द्र अधिकारीले काम विशेषले नभ्याएकाले आज मात्रै घर जान लागेको बताए । उनले सवारीसाधन नआएकाले केही घण्टादेखि गाडीको प्रतीक्षामा रहेको गुनासो गरे ।

सडकमा कतिपय ‘रिजर्ब’ गरेका गाडी गन्तव्य जिल्लातिर गइरहेका थिए । आज पनि सवारीसाधन र यात्रुले उपत्यका छाड्दै छन्, तर यसअघिका दिनको तुलनमा निक्कै न्यून । राजधानी भित्रिने सवारी साधनको चाप पनि अत्यन्त न्यून देखिएको छ । 

‘अब विस्तारै उपत्यका खाली हुँदैछ, यात्रुको चाप कम भइसक्यो’, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले भने, ‘दसैँ मान्न धेरै जिल्ला पुगिसकेका छन्, बाँकी रहेका आज जान्छन् ।’ आजसम्म सुरक्षित यात्रा भएको छ । 

ठूला दुर्घटना निम्तिएका छैनन् । यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौँ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन । प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौँ छाडेका छन् । यो सार्वजनिक सवारी साधनमा चढेर गएका यात्रुको अभिलेख हो । तर निजी सवारीमा जाने पनि उत्तिकै छन् ।  प्रहरी उपरीक्षक क्षेत्रीले धेरैजसो बाहिरिसकेको र केही काम विशेषले बसेकाहरू आज र भोलि उपत्यका छाड्ने बताए । काठमाडौँका बजार क्षेत्र सुनसान छन् । धेरैजसो पसल बन्द छन् । फाट्टफुट्ट पसल खुलेका छन् ।

आइतबार एक लाख ५६ हजारले राजधानी छाडे 

ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा आइतबार सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । आइतबार एक लाख ५६ हजार यात्रुले राजधानी छाडेको पाइएको छ । त्यसअघि शनिबार एक लाख १६ हजार यात्रुले राजधानी छाडेको अभिलेख छ । यही असोज १० गतेदेखि यात्रु बाहिरिने क्रम बढेको हो । प्रहरीका अनुसार घटस्थापनाको उक्त दिन आठ हजार सात सय २९ सवारीसाधनमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधनमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिए ।

असोज ११ गते आठ हजार चार सय २७ सवारी साधनमार्फत ४५ हजार ३३ यात्रु भित्रिएका थिए । त्यस दिन नौ हजार एक सय ६१ सवारी साधनमार्फत ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ । यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनमार्फत ४५ हजार दुई सय ६० यात्रु भित्रिए । त्यस दिन १० हजार ८६ सवारी साधनबाट ७१ हजार सात सय ६३ यात्रु बाहिरिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारीमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकोमा १० हजार दुई सय १९ सवारीमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए । 

यही असोज १४ गते सात हजार चार सय ६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक छ । 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १ : ३० बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि