जयनगर–कुर्था रेल सेवाको पहिलो दिन सबै सिट भरिभराउ | Khabarhub Khabarhub

जयनगर–कुर्था रेल सेवाको पहिलो दिन सबै सिट भरिभराउ


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरू भएसँगै स्थानीय उत्साहित भएका छन्। भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए।

भारतको जयनगरबाट आइतबार बिहान साढे ८ बजे मा हिँडेको रेल जनकपुर स्टेशनमा करिब १०:१५ बजे आइपुगेको थियो। पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उनको भनाइ छ।

महाप्रबन्धक झाका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। जयनगरबाट साढे ८ र ३ बजे छुट्नेछ भने कुर्थाबाट साढे १० र ५:१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए।

लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दंग भएका छन्। स्थानीय युवा सञ्जय झा रेल नियमितरुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गरे। रेल सेवा सुरु भएसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने सञ्जयको विश्वास छ। उनले भने, ‘हामीले आफ्नै ठाउँमा केही गर्छुभन्दा पनि अवसर मिल्ने देखिन्छ।’

रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका थिए। कतिपय शनिबार बिहानै त कतिपय शुक्रबार साँझदेखि स्टेशन पुगेर रेल हेर्दै थिए। कतिपयले रेलको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाले त कतिपयले आफन्तजनलाई पठाए। जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए।

रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट छन्। कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेशन/हल्ट छन्। नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताए। यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ। एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ। यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ। मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए।

प्रवक्ता चित्रकारले भने, ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ।’

डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन। कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट थन्किएको थियो। अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको थियो।

भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो। दुई सरकारबीच सम्झौता (जिटुजी) भई रेल खरिद भएको हो। कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ। रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ। भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रूपैयाँ भाडादर तोकिएको छ। एसिका लागि भने त्यसको पाँच गुणा अर्थात ४५० रूपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ। कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ।

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको थियो। यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो। यसको एक डेढ वर्ष पछिदेखि काम सुरु भएको थियो। भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो। तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन। सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन्।

विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो। सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो। नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो। विसं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन। रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो।

जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत पाँच अर्ब भारू रहेको छ। नेपाल सरकारले रेलगाडीको मूल्य एक अर्ब रूपैयाँ रहेको छ। विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : ३८ बजे

तीन राउन्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउन्ड

लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु – प्रतिकुल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा

‘कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ’

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिले प्रयोग गरिराखेको

भारतमा आज चारवटा विमानमा बमको धम्की

काठमाडौं– भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसहित ७ जना पक्राउ