विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस् :
आज वैशाख २१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे ४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

मुलुकको उत्तर पूर्वी क्षेत्रबाट उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जनाएपनि दक्षिण कोरियाली सेनाले यसबारे विस्तृत विवरण उपलब्ध गराएको छैन ।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जापानले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समाचार संस्था एपीका अनुसार जापानको रक्षा मन्त्रालयले उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको हो ।

आणविक परीक्षणलाई लिएर उत्तर कोरियामाथि विभिन्न प्रतिबन्धहरू लागिरहेका बेला प्योङयाङको पछिल्लो परीक्षण सार्वजनिक भएको हो । उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरेको दक्षिण कोरिया र अमेरिकाले आरोप लगाउँदै आएका छन् । 

उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो ।

यो वर्ष मात्र उत्तर कोरियाले यो समेत १४ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको जनाइएको छ ।

युक्रेनमा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु

पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ। एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् ।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए ।

‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन्। अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ। मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने ।

मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि

युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ ।

रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतबार निर्यातमा उल्लेखनीय वृद्धि भएको घोषणा गरेको थियो ।

युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा उर्जा निर्यात अनिश्चित बनेको छ । बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन्। जारी संकट कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ ।

रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्व सोभियत संघ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलब ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घनमिटर ढुवानी भएको छ ।

युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीद्वारा डेनिस महारानीसँग भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी महारानी मार्गरेट द्वितीयसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले डेनमार्कको राजधानी कोपनहेगनमा महारानीसँग भेटवार्ता गरेका हुन् ।

राजदरबारमा महारानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गरेको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी महारानी मार्गरेटले आयोजना गरेको रात्रिभोजमा समेत सहभागी भएका थिए । सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरूसँग पनि भेटवार्ता गरेको भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमार्ककी महारानी मार्गरेट द्वितीय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।

एक दिने डेनमार्क भ्रमणका क्रममा उनले अति व्यस्त कार्यतालिकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफल गरेका छन् । उनले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ सम्भावनाहरूका बारेमा छलफल गरेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका छन् । सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गरेका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुगेका हुन् ।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री मोदीले सोमबार जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गरेका थिए । उनीहरूबीच रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको बताइएको छ ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा युक्रेनमाथी रुसको हमलाका बारेमा पनि धेरै नेताहरुसँग छलफल गरेका छन् ।

जर्मनीबाट युरोप प्रवेश गरेका प्रधानमन्त्री मोदीले डेनमार्कको भ्रमण गरेका हुन् । उनले फ्रान्सको पनि भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

क्रमिक रुपमा युरोपले रुसी तेलको प्रयोगमाथि प्रतिबन्ध लगाउने

युरोपले क्रमिक रुपमा रुसी तेलको प्रयोगमाथि प्रतिबन्ध लगाउने योजना अघि सारेको छ । फ्रान्सको स्ट्रासबोर्ग शहरमा युरोपेली संसद्लाई सम्बोधन गर्दै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले युरोपबाट रुसी तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् ।

‘आज हामी युरोपबाट सबै रुसी तेलमा प्रतिबन्ध लगाउने प्रस्ताव गर्दैछौँ ।’ भोन डेर लाइनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ, ‘यो रुसबाट पूर्ण आयात प्रतिबन्ध हुनेछ ।’

युरोपेली आयोगको प्रस्तावमा ६ महिनाभित्र रुसबाट कच्चा तेलको आपूर्तिलाई पूर्ण रुपमा कटौती गर्ने र सन् २०२२ को अन्त्यसम्म प्रशोधित तेलको आयातलाई पनि कटौती गर्ने उल्लेख छ ।

यसबाहेक भोन डेल लाइनले यसबाट युरोपेली अर्थतन्त्रमा पर्ने प्रभावलाई सकेसम्म कम गर्ने बाचा पनि गरेको रोयटर्सले जनाएको छ ।

‘हामी रुसी तेलमा हाम्रो निर्भरतालाई सम्बोधन गर्दैछौँ । र, हामी स्पष्ट हुनुपर्छ, यो सहज कार्य होइन किनभने केही सदस्यहरू रुसी तेलमा मजबुत रुपमा आश्रित छन्, तर हामीले यसो गर्नैपर्छ ।’ उनले भनिन् ।

‘उनको क्रूर आक्रमणका लागि (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले मूल्य चुकाउनै पर्छ, ठूलो मूल्य ।’ भोन डेर लाइनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युरोपेली युनियनका सरकारहरूले योजनामा सहमति जनाएको खण्डमा यो अत्यन्त महत्वपूर्ण हुने रोयटर्सको टिप्पणी छ ।

यसबाहेक युरोपले रुसी टेलिभिजनलाई प्रतिबन्ध लगाउने र रुसको महत्वपूर्ण बैंकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली स्विफ्टबाट हटाउने प्रस्ताव गरेको जनाइएको छ ।

रुसको सबैभन्दा ठूलो ऋणदाता बैंक स्बेरबैंक र तीन बैंकलाई पनि स्विफ्टबाट हटाउने प्रस्ताव गरिएको हो । यसअघि पनि धेरै रुसी बैंकहरू स्विफ्ट प्रणालीबाट प्रतिबन्धमा परिसकेका छन् ।

‘हामी रुसको सबैभन्दा ठूलो स्बेरबैंक र दुई प्रमुख बैंकलाई स्विफ्टबाट हटाउँछौँ । यसबाट हामीले रुसी वित्तीय प्रणालीका लागि संरचनागत रुपमा संवेदनशील बैंक र युद्ध लड्ने पुटिनको क्षमतालाई लक्षित गरेका छौँ ।’ भोन डेर लाइनले भनिन् ।

यो प्रस्ताव २७ युरोपेली मुलुकका सरकारले पारित गर्नुपर्ने प्रावधान छ । यद्यपि स्लोभाकिया र हंगेरीजस्ता मुलुक रुसी ऊर्जामा निर्भर रहेकाले यसका लागि अपेक्षाभन्दा धेरै समय लाग्न सक्ने अनुमान गरिएको छ ।

सोमालियामा तैनाथ अफ्रिकी शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण

सोमालियामा रहेको अफ्रिकी युनियनको शान्ति स्थापनार्थ तैनाथ  सैनिक आधार इलाकामा आतंककारी आक्रमण भएको छ ।

राजधानी मोगादिशुबाट १३० किलोमिटर उत्तर पूर्वमा रहेको सिल बराफ भन्ने गाउँमा बुरुण्डीका सैनिकलाई लक्षित गरी सोमालियामा सक्रिय आतंककारी समूह अल शबाबले आक्रमण गराएको हो ।

आक्रमणमा कति सैनिक मारिए भन्ने स्पष्ट नभइसकेपनि बुरुण्डीका एकजना वरिष्ठ सैनिक अधिकारीले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताएअनुसार ३० सैनिक मारिएका छन् भने अरु २२ घाइते भएका छन् ।अरु दर्जनौं बेपत्ता रहेको उनको भनाइ छ ।

यता अल शबाबले भने आक्रमणको जिम्मा लिँदै १७३ सैनिक मारिएको दाबी गरेको छ । अल सबाबले मारिएका सैनिकको शव देखाउँदै भिडियो समेत जारी गरेको आतंककारी समूहको निगरानी गर्ने संस्था साइट इन्टिलिजेन्स ग्रुपले जनाएको छ ।

अल शबाब अन्तर्राष्ट्रिय आतंककारी सञ्जाल अल कायदासँग आबद्ध रहेको बताइन्छ । आक्रमणकारीले शुरुमा कार बम विष्फोट गराएको र पछि भारी गोलाबारी गरेको स्थानीय सैनिक कमान्डर मोहमद अलीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

‘उनीहरुले कार बम विष्फोट गराएर आक्रमणको शुरुआत गरेका थिए, त्यसपछि भारी गोलाबारी शुरु भयो ।’ अलीले भने । भीडन्तमा दुबै पक्षतर्फ ठूलो हताहति भएको उनको भनाइ छ ।

बुरुण्डीको श्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार करिब ४ सय आक्रमणकारीले सैनिक आधार इलाकामा भीषण आक्रमण गरेका थिए । आक्रमणकारीले दुई वटा कार बम विष्फोट पनि गराएको जनाइएको छ ।

सोमालिया सरकारले आक्रमणको निन्दा गरेको छ । त्यस्तै, अफ्रिकी युनियनको आयोगका प्रमुख मुसा फाकी महमतले पनि ट्विट गर्दै आक्रमणको निन्दा गरेका छन् ।

उनले ट्विटमा आफूले बुरुण्डीका राष्ट्रपति एभारिस्ते न्डायिशिमियेसँग आफूले कुराकानी गरेको र बुरुन्डीका सैनिकको बलिदान प्रति सम्मान जनाएको उल्लेख गरेका छन् ।

दशकौँयता निरन्तर जारी शसस्त्र द्वन्द्वका क्रममा शान्ति स्थापनाका लागि भन्दै अफ्रिकी युनियनले सोमालियामा शान्ति सैनिक परिचालन गर्दै आएको छ । यस्ता शान्ति सैनिकहरू बेला बेला अल शबाबजस्ता लडाकु समूहको निशानामा पर्ने गरेका छन् ।

हैटीको कुख्यात ग्याङ्का नाइके अमेरिका सुपुर्दगी

क्यारेबियन सागरमा अवस्थित मुलुक हैटीले ‘४०० मवोजो’ नामक कुख्यात आपराधिक ग्याङ्गका नाइकेलाई अमेरिका सुपुर्दगी गरेको छ ।

अमेरिकी नागरिकहरूको अपहरण गरेको र हतियार तस्करी गरेको आरोपमा ग्याङ्गका नाइके योनयोन भनिने गेरमाइन जोलीलाई अमेरिका सुपुर्दगी गरिएको हो ।

उनलाई मङ्गलबार अमेरिकाको संघीय जाँचबुझ ब्युरो एफबीआईको विमानबाट अमेरिका लगिएको बीबीसीले जनाएको छ । अमेरिका सुपुर्दगी गर्नुअघि पनि उनले धेरै वर्ष हैटीको जेलमा बिताएको बताइएको छ ।

गत वर्ष यही ग्याङ्गले १७ जना इसाई मिसिनरीलाई हैटीमा दुई महिनासम्म बन्धक बनाएको थियो । यसबाहेक ‘४०० मवोजो’ ले गत साता पूर्वी छिमेकी डोमिनिकन गणतन्त्रका एकजना कूटनीतिज्ञलाई अपहरण गरेको जनाइएको छ ।

स्वदेश फर्किने क्रममा हैटीको राजधानी पोर्ट औ प्रिन्सस्थित डोमिनिकन गणतन्त्रको दूतावासमा काम गर्ने कूटनीतिज्ञ कार्लोस गुलिएनलाई ‘४०० मवोजो’ ग्याङ्गले अपहरण गरेको थियो ।

गत वर्षको जुलाई महिनामा तत्कालीन राष्ट्रपति जोभेनल मोइजको हत्या भएयता यो ग्याङ हैटीमा शक्तिशाली बनेको बीबीसीले उल्लेख गरेको छ ।

गत महिनामात्र हजारौं मानिसहरूले आपराधिक ग्याङ्गको हिंसा रोक्न माग गर्दै प्रदर्शन गरेका थिए । ‘४०० मवोजो’ ग्याङ्गले मुलुकको रणनीतिक इलाकाहरूमा पनि कब्जा जमाएको बीबीसीले जनाएको छ ।

राजधानी पोर्ट औ प्रिन्सलाई छिमेकी डोमिनिकन गणतन्त्रसँग जोड्ने एकमात्र सडकमार्ग पनि यही ग्याङ्गको नियन्त्रणमा रहेको बताइएको छ ।

यस ग्याङ्गले विदेशीलाई अपहरण गरेपछि ठूलो परिमाणमा फिरौती रकम माग्ने गरेको बताइएको छ । १७ इसाई मिसिनरीलाई अपहरण गरेपछि पनि यस ग्याङ्गले १० लाख अमेरिकी डलर फिरौती रकम माग गरेको थियो ।

बन्धक बनाइएका ती मिसिनरीहरु मुक्त भएपनि कति फिरौती तिरेर उनीहरूलाई रिहा गरिएको भन्ने अझै स्पष्ट छैन ।

पछिल्ला केही सातामा हैटीका सुरक्षा फौजले यस ग्याङ्गविरुद्ध ठूलो अभियान चलाएका थिए । यस सुरक्षा अभियानमा यो ग्याङ्गका धेरै सदस्यहरू मारिएको र गिरफ्तार भएको बताइएको छ ।

केही दिनअघि यस ग्याङ र प्रतिद्वन्द्वी ‘चे मेचान’ ग्याङ्गका सदस्यबीच राजधानीको सिटे सोलेइल क्षेत्रमा भीषण भिडन्त भएको थियो ।

भिडन्तमा कम्तीमा पनि २० सर्वसाधारण मारिएको हैटीका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : १८ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा