दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

मानवअधिकार आयोगले वैशाख ३० गते हुने निर्वाचनको अनुगमन गर्ने
राष्ट्रिय मानवअधिकार आयोगले यही वैशाख ३० गते हुने निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले आज आयोजना गरेको स्थानीय तह निर्वाचन र पत्रकार भेटघाटमा आयोगका अध्यक्ष तोपबहादुर मगरले सातवटै प्रदेशमा उच्चस्तरीय अनुगमन टोलीद्वारा अनुगमन गर्ने जानकारी दिए । आयोगले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात् अनुगमन गर्ने उनले बताए । आयोगका सदस्य सूर्य ढुंगेल मधेस प्रदेश, सदस्य मिहिर ठाकुर गण्डकी प्रदेश, सदस्य मनोज दुवाडी सुदूरपश्चिम प्रदेश र सदस्य लिली थापा नेतृत्वको टोली प्रदेश नम्बर १ को अनुगमनमा जाने कार्यक्रम छ । 

स्थानीय तह निर्वाचनको तयारीबारे राष्ट्रपति भण्डारीको चासो
निर्वाचन आयोगका पदाधिकारीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोगका पदाधिकारीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनको तयारीबारे चासो व्यक्त गरिन् । जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले वैशाख २५ गतेदेखि निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको बताए । यस्तै राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन र मतदाताहरूले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाध रूपमा मत हाल्ने वातावरण बनाउन आयोग चनाखो रहनु पर्ने सुझाव दिइन् । 

सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाबारे गुनासो टिपाउन आयोगको आग्रह
निर्वाचन आयोगले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाबारे गुनासो टिपाउन आग्रह गरेको छ  । आयोगले आज एक सूचना निकालेर भ्रामक तथा सम्प्रेषण भएका मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिसम्बन्धी गुनासो अनलाइनमार्फत टिपाउन सक्ने जनाएको छ  । मतदानको दिन नजिकिँदै गर्दा सामाजिक सञ्जालहरूमा विभिन्न भ्रामक समाचार तथा झूटा सूचनाहरू आउन थालेपछि आयोगले अनलाइनबाटै गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो । 

निर्वाचनलाई लक्षित गर्दै भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तर्गत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरूको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरूको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको पोखरेलले बताए । 

प्रजातन्त्रलाई सुदृढीकरण गर्न गठबन्धन गरिएको हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सुदृढीकरण गर्न गठबन्धन गरिएको बताएका छन् । मोरङ कांग्रेसले आज विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा कुनै किसिमका शंका पैदा हुने काम कसैलाई नगर्न आग्रह गरे । यस्तै प्रधानमन्त्री देउवाले कांग्रेसले जितेमा ६५ वर्षदेखि नै वृद्धभत्ताको प्रबन्ध गर्ने बताए । पहिला पनि आफूले यही व्यवस्था गरेको भए पनि केपी ओलीले नमानेको उनले बताए ।  एमालेले ७० वर्षमा वृद्धभत्ता दिएको भन्दै उनले आफूहरूको सरकार आए ६५ वर्षमा नै वृद्धभत्ता दिने उल्लेख गरे । उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनमा आँच आउने गरी काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । 

भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले स्थानीय निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।कांग्रेसले आज विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनका दौरान पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भ्रातृ एवं शुभेच्छुक संस्थाको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न निर्देशन दिएको  हो  ।  पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको आसपास गर्न सान्दर्भिक र सम्भव नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका तय गर्न भनिएको छ ।

एक दुई वटा पात झर्दैमा रुख नांगो नहुने एमालेका अध्यक्ष ओलीको टिप्पणी  
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक–दुई जनाले पार्टी छाड्दैमा पार्टी कमजोर नहुने बताएका छन् । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको गृहजिल्ला इलाम पुग्नुभएका ओलीले माई नगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै नेता खनाल र माधवकुमार नेपालको आलोचना गरे । उनले एक दुई वटा पात झर्दैमा रुख नांगो नहुने टिप्पणी गरे । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन र कांग्रेसप्रति पनि कटाक्ष गरे । ओलीले पार्टी छाडेर जाने कार्यकर्ताहरूलाई फर्कन अपिल गरे । उनले नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री शेरबहादुर देउवाकोमा भान्सामा गएको बिरालोको संज्ञा दिए ।

धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट हेर्दाहेर्दैमा
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सो मुद्दामा सरकारी पक्षसमेत बहसका लागि निवेदन लिएर आएपछि बहस लम्बिएको हो । एआईजी पोखरेलले गत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । रिटमा उनले ज्येष्ठ भएको र बढुवाका सम्पूर्ण आधारमा सर्वाधिक अंक प्राप्त गरेको जिकिर गर्दै वरिष्ठताका आधारमा बढुवा गरेर आफूलाई तत्काल आईजीपी नियुक्त गर्न माग गरेका छन् ।

विवाद चुलिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित
स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवाद चुलिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । स्थानीय तह निर्वाचन बहिष्कार कि उपयोग भन्नेबारे नेकपाको नेतृत्वमा रहेका नेताहरूबीच विवाद चुलिँदा विभाजन भएको हो । वैशाख ३० गते चुनाव आउनु ९ दिन पहिले नेकपा विभाजन भएको हो । नेकपामा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका सचिवालय सदस्यबाट विवादकै बीचमा निष्कासित धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले आज राष्ट्रिय भेला बोलाएर विभाजनलाई औपचारिकता दिएका हुन् । चिवतनको पर्सामा जारी राष्ट्रिय भेलाले नेकपा महासचिवबाट चन्दलाई हटाउने र हालका लागि संयोजकको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिने निर्णय लिएको छ । त्यस्तै, चन्दको पक्षमा रहँदै आएका नेता खड्गबहादुर विश्वकर्मालाई पार्टी प्रवक्ताबाट हटाउने निर्णय पनि भएको छ ।

गृहमन्त्री खाणले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न लागिएको अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी लिएका छन् । गृहमन्त्री खाणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए । गृहमन्त्री खाणलाई आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको केसीको भनाइ छ । केसीका अनुसार जजिरा एयरलाइन्सले पहिलो उडान भर्ने छ । त्यसका लागि विमानस्थल अध्यागमन कार्यालयले सहमति गरिसकेको पनि केसीले बताए ।

केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु
शंकास्पद वस्तु राखिएको हल्लापछि केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै स्थानमा जाँच गरेपनि  शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुचारु गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले  आज बिहान एक घण्टा आन्तरिक उडान प्रभावित भएको थियो ।विमानस्थलमा अपरिचित व्यक्तिले टेलिफोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको बताएका थिए । बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो ।

बजार अनुशासन बनाउनका लागि व्यवसायीहरू नै गम्भीर हनुपर्छ : सीडीयो रिजाल
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बजार अनुशासन बनाउनका लागि व्यवसायीहरू नै गम्भीर हुनुपर्ने बताएका छन् । आज काठमाडौंमा सञ्चार केन्द्र नेपालले आयोजना गरको निर्वाचनको समयमा बढ्दो मूल्यवृद्धि तथा बजार अनुगमन विषयक कार्यक्रममा रिजालले प्रशासनले जतिसुकै अनुगमन गरेपनि व्यवसायीहरू गम्भीर र सचेत नभई बजार अनुशासन कायम हुन नसक्ने बताए । उनले उपभोक्ताहरूले मूल्य, वस्तुको मिसावट लगायतमा चासो राख्नुपर्ने र व्यवसायीहरू पनि इमान्दार भए उपभोक्ताको अधिकार स्थापित हुने धारणा राखे । रिजालले नियमन निकायहरूको सक्रियता बढाए उपभोक्ता हकहितलाई संरक्षण गर्न सकिने उल्लेख गरे ।

विराटनगर महानगरपालिकमा उपमेयर उम्मेदवार कार्कीविरुद्ध सर्वोच्चमा रिट
मोरङको विराटनगर महानगरपालिकमा एमालेकी उपमेयर उम्मेदवार शिल्पा कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कोसी अञ्चल अस्पताल विकास समितिको सदस्यबाट राजीनामा नगरी उम्मेदवार बनेको, उम्मेदवारी दर्ताका क्रममा किर्ते कागज पेस गरेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै गठबन्धनबाट जसपाका उपमेयर उम्मेदवार अमरेन्द्र यादवले रिट दायर गरेका हुन् । उम्मेदवार यादवले एमाले उम्मेदवार कार्कीसँगै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएका छन् । प्रष्ट आधारसहित उजुरी दिँदा पनि उम्मेदवारी खारेज नगरेको भन्दै यादवले निर्वाचन आयोगलाई विपक्षी बनाएका हुन् । 

प्रधानसेनापतिले दिए भारतीय स्थल सेनाध्यक्ष जनरल पांडेलाई बधाई तथा शुभकामना
प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना दिएका छन् । भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएकोमा  आज भिडियो कन्फरेन्स मार्फत शर्माले उनलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना दिएका हुन् । प्रधानसेनापति शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग पांडेको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए । 

रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ । ललितपुरको पुल्चोकमा रहेको रथलाई बुधबार तानिएको हो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्। मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। 

थप १९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा  थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७३ पीसीआर परीक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय १५ जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको  स्वाथ्य मन्त्रालयले जनाएको छ । 

मतदानस्थलमा खोप लगाउन सरकारको अपिल
सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन अनुरोध गरेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । उनले बुस्टर डोज नलगाएकाहरूले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरेकी छन् । कोभिड संक्रमण कम हुँदै जाँदा पछिल्लो समय कोरोना विरुद्ध खोप लगाउनेको संख्यामा समेत कमी आएको छ । हाल दैनिक २० हजारको हाराहारीमा खोप लगाउने गरेका छन् ।

नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर ऋण लिने
नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सेयर बजारको परिसूचक नेप्से आज ३१ भन्दा बढी अकंले घटयो
सेयर बजारको परिसूचक नेप्सेमा आज  गिरावट आएको छ ।  नेप्से आज ३१ दशमलव ७६ अंक घटेर २ हजार २ सय ७५ विन्दुमा पुगेको हो । आज कुल  ३६ लाख २ हजार ८ सय ४८ कित्ता शेयर कुल १ अर्ब २६ करोड   ९२ लाख  १९ हजार ४ सय २१ रुपैयाँमा कारोबार भएको छ ।   आज . सबै उपसमूहका सूचक घटेका छन् । आज जल्पा सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ  । यस्तै ग्रीनभेन्चरको सबैभन्दा धेरै ९.३६ प्रतिशत घटेको छ ।

नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेका गभर्नर अधिकारीको भनाइ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको बताएका छन् । आज नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्षको ५ दशमलव ८ रहँदा यस वर्षको ५ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिलाई सन्तोषजनक नै मान्नुपर्ने बताए । उनले विश्व बजारमा देखिएको इन्धनको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको धारणा राखे ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू सहित  इन्जिनियर महेश सिंह, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवीविरुद्ध   अख्तियारले  आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । छायाँनाथ रारा नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

काठमाडौंबाट भारत जाँदै गरेको बस र जिप ठोक्किँदा पाँच जनाको मृत्यु
काठमाडौंबाट भारत जाँदै गरेको बस र  जिप एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । मृुत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् । घाइतेहरूकोे धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  यसैबीच गृहमन्त्री बालकृष्ण खाणले सो घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

बर्दियामा ट्रक र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु
बर्दियाको ठाकुरबाबा नगरपालिका–१ मा आज ट्रक र रिक्सा एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ बस्ने ४९ वर्षीया पिउली धिताल रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी धितालको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुबै चालकलाई ईलाका प्रहरी कार्यालय बग्नाहाले नियन्त्रणमा लिएको छ ।

कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजाय
दाङ जिल्ला अदालतले कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजाय  सुनाएको छ । अदालतले गत पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद सजायको फैसला सुनाएको हो ।कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले ७ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका थिए । अदालतका न्यायाधीस डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरि १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : ५९ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन