काठमाडौं- आमाको दूध रोग प्रतिरोधात्मक हुन्छ । तर, अझै पनि कतिपयमा यो चेतनाको कमीले गर्दा शिशु जन्मेपछि आउने पहिलो दूधलाई खेर फाल्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन।
पहिलो एक घण्टाभित्र स्तनपान नगराए शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुन्छ। समयमा स्तनपान नगराए शिशुले निरन्तर रुपमा स्तनपान गर्ने सम्भावना पनि कम हुने युनिसेफ र विश्व स्वास्थ्य संगठनको नयाँ प्रतिवेदनले देखाएको छ।
७ करोड शिशुलाई गराइँदैन स्तनपान
संसारभर जन्मेका पहिलो घण्टामै स्तनपान नगराइने शिशुको संख्या ७ करोड ८० लाख छ। यो भनेको जन्मिने पाँचमध्ये तीन शिशुको संख्या हो। यीमध्ये धेरै शिशु निम्न र मध्यम आय भएका देशका छन्। प्रतिवेदनले जीवनको पहिलो घण्टामा स्तनपान गराएका नवजात शिशुहरु जीवित रहने सम्भावना धेरै हुने देखाएको छ।
केही घण्टामात्र ढिलो स्तनपान गराउनाले पनि जीवन जोखिममा पार्न सक्छ। आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र बिगौती दूध उत्पादनमा सहयोग पुग्दछ। बिगौती दूध एकदमै पोषिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ को रुपमा पनि लिइन्छ।
सुरुवाती अवस्थामा खानुपर्ने खानेकुरा
राम्रो स्तनपान गराउनका लागि सुरुमा किशोरी अवस्थाबाट नै ध्यान दिनुपर्दछ। सन्तुलित भोजन खानुपर्छ। गर्भावस्थामा पनि महिलाले हरियो सागसब्जी, दूध, दही, गुलियो र चिल्लो भएको खानेकुरा धेरै खानु हुँदैन। झोलिलो खाने कुरा, प्रोटिन युक्त खाने कुरा खानुपर्छ।
स्तनपान गराइरहेका व्यक्तिले प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, दूध खाने शाकाहारीले गेडागुडी साग र खनिज तत्त्व पाउने खानेकुरा खाने गर्नुपर्छ। विशेष गरी गर्भवतीले आइरन पाउने खानेकुरामा ध्यान दिनु पर्दछ। मेथीको साग र हरियो सागपात खानुपर्छ। सकेसम्म फलामको भाडामा पकाएर नै खाँदा अझ फाइदाजनक हुन्छ।
अरू बेला दिनमा तीन पटक खाइन्छ भने स्तनपान गराउने महिलाले चार पटक दूध आउने खानेकुरा मसुरोको दाल, तिलको गेडा, झोलिलो खानेकुरा खानपर्छ। पानी पनि प्रशस्त मात्रामा सेवन गर्नुपर्छ।
खाना खुवाउने क्रममा घरपरिवारको भूमिका
घरपरिवारलाई दूध खुवाउने आमालाई पहिलाको जस्तो सामान्य खाना खुवाउनु हुँदैन भनेर थाहा हुनुपर्छ। किनकी, उसले खाएको खानाले नै दूध बनेर बच्चालाई खुवाउने हो। कति महिलाको हकमा भने पौष्टिक तत्व नपुगेर पनि दूध नआएको हुन्छ। कसैलाई खाने कुरा खाने तर मिलाएर नखाँदा पनि पर्याप्त मात्रामा दूध आउँदैन। त्यसैले दूध आउने खानेकुरा खानुपर्छ।
दूध नआए के खाने ?
दूध नआए धेरै ज्वानो मेथीको झोल खुवाउनुपर्छ। मेथीभित्र प्रोटिन हुन्छ र यसले आमाको दूध आउन मद्दत गर्दछ। ज्वानोले शरीरमा ग्यास बन्न दिँदैन र शरीरलाई बलियो बनाउँछ। सुत्केरी हुँदा कोशिका र तन्तुहरू कमजोर भएको हुन्छ।
त्यसले कोशिका र तन्तुलाई बलियो पार्दछ र दूध खुवाउन सजिलो पार्छ। यो व्यक्तिअनुसार भर पर्दछ कसैलाई खाँदा पनि आउँदैन र कसैलाई खाँदा खाँदै आउँछ।
स्तनपान गराउँदा के कुरामा ध्यान दिने ?
स्तनपान नगराउने एउटा फेसन हो भन्ने कतिपयको बुझाइ छ। कतिपय महिलाले भने आफ्नो व्यस्तताका कारण पनि स्तनपान नगराउने चलन छ। विदेशी मुलुकमा पनि अहिले धेरै मात्रामा स्तनपान गराउने चलन छ। आमाको दूध बच्चाका लागि अमृत हो। त्यसैले सबै काम छोडेर भए पनि स्तनपान गराउनु आवश्यक हुन्छ। स्तनपानले आमा र बच्चा दुबैलाई फाइदा हुन्छ। नियमित स्तनपान गराएको भए बच्चामा धेरै चाँडो रोग लाग्दैन। यसले बच्चा बलियो बनाउँछ र आमामा पनि स्तन क्यान्सर कम हुन्छ। त्यसैले स्तनपान गराउँदा शिशुलाई र आमा दुवैलाई फाइदा हुन्छ।
दूध आउँदाआउँदै स्तनपान नगराउँदाको असर
आमाको स्तनमा दूध जम्मा भयो भने त्यो पाक्छ। त्यसलाई अप्रेसन गरेर काटेर फाल्नुपर्ने अवस्था हुनसक्छ। त्यसैले बच्चालाई भोकै राखेर यो अवस्था आउन दिनु हुँदैन।
स्तनपान साप्ताहको फाइदा
यो एक हप्तासम्म मनाउँदा स्तनपान गराउनु पर्दछ भनेर जनचेतना फैलिने हुन्छ। यसले गर्दा स्तनपान नगराउने आमाको पनि आँखा खुल्छ। स्तनपान गराउनुपर्छ भन्ने धारणा हो। जसले गर्दा शिशुको नैसर्गिक अधिकार हनन हुँदैन।
थापाथली अस्पतालमा ‘ब्रेस्ट फ्रिडिङ बैंक’
कति आमाको धेरै दूध खेर गइरहेको हुन्छ र कतिपय आमाको दूध नआएर बच्चालाई खुवाउन सकिरहेका हुँदैनन्। त्यही कारणले यो ‘ब्रेस्ट फ्रिडिङ बैंक’ खोलिँदा आमाको दूध नआएका बच्चाले पनि दूध खान सक्छन्। आवश्यक परेको बेलामा हरेक बच्चाले मानव शरीरबाट उत्पादित दूध नै पायो भने उसको वृद्धि र विकास राम्ररी हुन्छ। बजारको महंगो र असर गर्ने दूध खुवाउनु पर्दैन। यस्ता बैंक देशभर हुनुपर्छ। यो राम्रो सुरुवात हो। स्तनपान शिशुका लागि निकै महत्त्वपूर्ण रहन्छ। आमाको दूध बच्चाका लागि अमृत समान हो। त्यसैले आफूले जन्माएको बच्चालाई अमृत जस्तो कुरा खुवाउनबाट वञ्चित गर्नु हुँदैन। (पोषणविद् डा. मनसा थापा ठकुराठीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)
(प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया