काठमाडौं- बर्षायामसँगै बढेको गर्मीले मधेसमा मात्र नभएर काठमाडौं उपत्यका लगायत पहाडी भेगमा समेत बालबालिकामा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेका छन् । हरेक दिन कयौँ बिरामीहरु घमौरा, घाउ, खटिरा र कीराको टोकाइबाट आउने एलर्जीको समस्या लिएर अस्पताल जाने चिकित्सकले बताएका छन् । गर्मी मौसममा अरु समयभन्दा तुलनात्मक रुपमा ब्याक्टेरियाको संक्रमणबाट हुने छालाका समस्या बढी देखिन्छन् । अहिले धेरैलाई सताएको घमौराका विषयमा छाला रोग विशेषज्ञ डा. ऋषभ त्रिपाठीसँग खबरहबकर्मी विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
गर्मीको समयमा छालामा कस्ता कस्ता समस्या देखिन्छन् ?
गर्मी महिनामा तापक्रम पनि बढ्छ र छालामा धेरै समस्या देखा पर्दछन् । घमौरा वा पसिनाको एलर्जी, रौँको इन्फेक्सनजस्ता समस्याहरू देखा पर्दछन् । सुख्खापनका कारणले छाला फुट्ने समेत हुन्छ ।
गर्मी समयमा घमौरा किन आउँछ ?
छालामा पसिना निकाल्ने जुन ग्रन्थि हुन्छ, उक्त ग्रन्थिको मुख थुनिएर पसिना भित्र रहन्छ । पसिना भित्र छिरेर छालाभित्र नै एक प्रकारको एलर्जी हुन्छ । बच्चामा पसिना निकाल्ने ग्रन्थि राम्रोसँग विकास नभएर पसिना बाहिर जान नपाउँदा घमौरा हुन्छ ।
ठूलो भएपछि पनि टाइट कपडा लगायो भने पसिना बाहिर जान पाएन भने घमौरा आउँछ । धेरै समयसम्म ननुहाउने मानिसमा डेथ सेल्सले पसिना निकाल्ने ग्रन्थिको मुख थुनिएको हुन्छ, कसैलाई ज्वरो आएको छ भने यस्तो अवस्थामा शरीरले एउटा रियाक्सन देखाउँछ। यो बच्चाहरूमा धेरै हुन्छ ।
घमौराले पछि कत्तिको जोखिम ल्याउँछ ?
कतिपय अवस्थामा आउँछ र जान्छ, घमौरा धेरै प्रकारका हुन्छन् । ग्रन्थिको मुखभित्र थुनिएर हुने हुनाले त्यो मुख कुन लेबलमा थुनिएको छ । एकदमै तल्लो लेबरमा थुनिएको छ भने फोकाहरु ठूलो ठूलो आउँछ । अलि माथिल्लो लेबरमा छ भने कहिलेकाहीँ पानी फोका आउँछ । र, सबैभन्दा कमन आउने भनेको रातो रातो फोकाहरू जुन नर्मल घमौरा हो । कहिलेकाहीँ इन्फेक्सन पनि हुन्छ र स–साना पीपका फोकाहरू पनि देखिन्छ ।
यस्तो अवस्थामा एन्टीबायोटिक पनि खानु पर्दछ । साधारण रुपमा चिसो पानीले शरीर सफा गर्ने, क्रिमहरू लगाउने गर्दा ठिक हुन्छ ।
सरसफाइमा ध्यान दिएन भने पनि घमौरा हुन्छ ?
सरसफाइमा ध्यान दिएर मात्र पनि हुँदैन । कपडा टाइट लगाएको छ र पसिना बग्ने प्वालहरू टालियो भने घमौरा आउँछ । तर, सरसफाइमा ध्यान दिँदा अलि कम इन्फेक्सन हुन्छ ।
अस्पताल गएपछि यसको उपचार कसरी गरिन्छ ?
सबैभन्दा पहिला त यो धेरै ठूलो समस्या हैन भनेर सम्झाउनु पर्दछ । एउटा कपडामा चिसो पानी राखेर पनि पुछ्दा यो कम हुन्छ । नचिलाउने औषधिहरू पनि हुन्छ त्यो हामीले दिन्छौँ र त्यसले चिलाउन कम गर्छ । कसैको धेरै नै फैलिएको हुन्छ त्यस्तोमा स्टोरेज क्रिमहरू र कैलामाइन लोसनहरू लगाउन दिन्छौँ, जसले शीतलता प्रदान गराउँछ । र ठुलो ठुलो खटिरा आयो भने यान्टिबायोटिक पनि चलाउँछौँ ।
आफैले जुन पायो त्यही पाउडर प्रयोग गर्दा कस्तो असर गर्छ ?
कसैले छालालाई राम्रो सुख्खा बनाउन पाउडर प्रयोग गर्नुहुन्छ । त्यसले पनि पसिना निस्किने ग्रन्थि थुन्छ र झन बढ्न पनि सक्छ । त्यसैले ठिक्क चिसो पानीले नुहाउँदा ठिक हुन्छ । चिसो पानीमा रुमाल भिजाएर पुछ्यो भने घरमा नै ठिक हुन्छ । कैलामाइन लोसनहरूको प्रयोग गर्न सकिन्छ ।
गर्मी मौसममा छालामा सङ्क्रमण नहोस् भनेर पहिला नै के के गर्ने?
नियमित सरसफाइमा ध्यान दिने, कपडा लगाउँदा खुला र कटन कपडा लगाउने र घाममा निस्किदा पूरा कपडा लगाउने, प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । लोसन प्रयोग गर्ने, अनुहारका लागि सनस्क्रिन प्रयोग गर्ने, फेसवाशहरु प्रयोग गर्ने ।
छालालाई राम्रो बनाउन कस्तो खाना खाने ?
स्वास्थ्यका लागि जुन कुरा राम्रो हुन्छ त्यही खान सकिन्छ । भिटामिन ए, सी, र ई युक्त खाना खानु राम्रो मानिन्छ । फलफूल, जाँगर काँक्रो खाने गर्नुपर्छ । सकेसम्म बाहिरको खानेकुरा नखानु राम्रो हुन्छ ।
अन्त्यमा, के सन्देश दिन चाहनुहुन्छ ?
हरेक दिन सफा हुने,नुहाउने, कटनको कपडा लगाउने फेसवास सनस्क्रिनहरू प्रयोग गर्ने, खाना समयमा खाने शारीरिक व्यायाम गर्ने र सही तरिकाले बाँचौँ भन्न चाहन्छु । (प्रस्तुति: पुष्पाञ्जली बस्नेत)