विश्वभर आजः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आजः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युद्धविराम भएको शहरमा रोकिएन हिंसा, उद्धार कार्य स्थगित

युद्धविराम घोषित युक्रेनी शहरमा रुसी बमबारीका घटनामा कमी नआएको युक्रेनले आरोप लगाएको छ। दोश्रो चरणको वार्ताका क्रममा युद्धविराम घोषणा गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सहमति भएपनि रुसी पक्षले गोलाबारीलाई निरन्तरता दिएको युक्रेनी पक्षको आरोप छ।

यसअघि बेलारुसमा रुस र युक्रेनबीच भएको दोश्रो चरणको वार्ताका क्रममा युक्रेनको मारिउपोल शहरमा हिंसा रोकेर सर्वसाधारणको उद्धार गर्ने सहमति भएको थियो।

यद्यपि रुसी पक्षबाट हिंसा नरोकिएका कारण त्यहाँबाट मानिसहरूलाई सार्ने काम पनि स्थगित गरिएको स्थानीय उपमेयर शेर्ही ओर्लोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। रुसी फौजले मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने बाटोलाई नै लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ।

‘त्यहाँ जान सुरक्षित छैन’ बीबीसीलाई दिएको अन्तर्वार्तामा उपमेयरले जनाएका छन्। हाल मारिउपोल शहरमा हरेक तीनदेखि पाँच मिनेटको अन्तरालमा रुसी आक्रमणबाट भएको विष्फोटको आवाज आइरहेको बीबीसीले जनाएको छ ।

भारतले ब्रम्होस क्षेप्यास्त्र परीक्षण गर्यो

भारतीय नौसेनाले ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। भारतीय नौसेनाले ‘आईएनएस चेन्नाई’ नामक युद्धपोतबाट ब्रह्मोस क्षेप्यास्त्रको सटिकताको परीक्षण गरिएको जनाएको हो।

क्षेप्यास्त्रले लक्षित निशानामा सटिक प्रहार गरेको नौसेनाले जनाएको छ। भारतीय नौसेनाको यो उपलब्धिले धेरै टाढासम्म मार हान्न सक्ने र जमिनी कारबाहीमा पनि ठूलो प्रभाव पार्ने जनाइएको छ ।

भारतीय नौसेनाले नियमितजसो ब्रह्मोस क्षेप्यास्त्रको परीक्षण गर्दै आएको इण्डिया टुडेको अनलाइन संस्करणले जनाएको छ ।

ब्रह्मोस क्षेप्यास्त्र र आईएनएस चेन्नाई युद्धपोत दुबै भारतमा नै निर्माण भएको र यो भारत सरकारको ‘मेक इन इण्डिया’ र ‘आत्मनिर्भर भारत’ कार्यक्रममा भारतीय नौसेनाको योगदानको रुपमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनलाई सिध्याउनुपर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउस असहमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउसले असहमति जनाएको छ। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले नियमित पत्रकार सम्मेलनका क्रममा पुटिनको हत्या गर्न आह्वान गर्ने अमेरिकी सिनेटर लिन्जी ग्राहमको धारणामा असहमति जनाएकी हुन् ।

पुटिनको हत्या गर्नुपर्ने अमेरिकी सरकारको वा वर्तमान प्रशासनमा काम गर्ने कसैको पनि धारणा नरहेको उनको भनाइ छ ।

विवादस्पद अभिव्यक्ति दिएपछि साउथ क्यारोलाइना राज्यका सिनेटर ग्राहमको अहिले अमेरिकाका रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीका नेताहरूले ‘गैर जिम्मेवार’ भन्दै आलोचना गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ग्राहमले रुसी सैनिक अधिकारीहहरूतर्फ लक्षित गरी ट्विट गर्दै पुटिनलाई सिध्याउनुपर्ने वक्तव्य दिएका थिए ।

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्यो

उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण गरेको छ। दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले जापानको सागरमा क्षेप्यास्त्र परीक्षण गरेको हो।

राजधानी प्योङयाङ नजिकैको सुनान क्षेत्रबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ५६० किलोमिटरको उचाइसम्म पुगी २७० किलोमिटर टाढा गई खसेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

विज्ञप्ति जारी गर्दे दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले अन्तर्राष्ट्रिय समुदायका लागि खतरा उत्पन्न गर्ने र कोरियाली प्रायद्वीपमा शान्ति र स्थीरतालाई खलल पुर्‍याउने भन्दै यसको निन्दासमेत गरेको छ।

पछिल्लो परीक्षणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो वर्ष २०२२ मा मात्रै उत्तर कोरियाको यो नवौँ क्षेप्यास्त्र परीक्षण हो।

केही दिनअघि मात्रै उत्तर कोरियाले जासुसी भूउपग्रहका लागि विशेष क्यामेराको परीक्षण गरेको दाबी गरेको थियो।

चीनले सैनिक बजेट बढाउने

चीनले सैनिक बजेट बढाउने भएको छ। चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा मुलुकको सैन्य बजेट सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्‍याइने उल्लेख छ ।

चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिवेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो ।

एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ।संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ ।

सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो ।

यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो । यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो ।

सिरियामा दुई तक्मा पाउने रुसी मेजर जनरल युक्रेनमा मारिए

युक्रेनमाथि आक्रमण गरिरहेको रुसी फौजका वरिष्ठ सैनिक अधिकारी मारिएका छन्। युक्रेनी पक्षले जारी युद्धमा संलग्न रुसी सेनाका मेजर जनरल आन्द्रेई सुखोभेत्स्की मारिएको दाबी गरेको हो।

४७ वर्षे मेजर जनरलको कुन र कस्तो अवस्थामा ज्यान गएको हो भन्नेबारे केही स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।रुसी सञ्चारमाध्यमले पनि उनको ज्यान गएको पुष्टि गरेको छ। रुसी सरकार निकट मानिने प्राभ्दा पत्रिकाले ‘युक्रेनमा विशेष सैनिक कारवाही’ का क्रममा उनको मृत्यु भएको जनाएको छ।

रुसको तास समाचार संस्थाका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई सेन्ट्रल मिलिटरी डिष्ट्रिक्ट अन्तर्गतको ४१ औँ कम्बाइन्ड आर्म्स आर्मीको सहायक कमाण्डर नियुक्त गरेका थिए।यसबाहेक उनले सातौ एअरबोन डिभिजनको प्रमुखका रूपमा सिरियामा पनि सेवा दिइसकेको जनाइएको छ ।

सिरियामा राष्ट्रपति बसर अल असदलाई सैन्य सहयोग गर्न तैनाथ रुसी टुकडीमा सेवा गर्दा बहादुरीको सम्मान गर्दै उनलाई दुई तक्मा पनि प्रदान गरिएको थियो।युक्रेन युद्धमा मरिने उनी सबैभन्दा वरिष्ठ रुसी सैनिक अधिकारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको दाबी

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले नयाँ अध्ययन सार्वजनिक गरेको छ।

जसअनुसार अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको बताइएको छ । सीडीसीको अनुमान अनुसार १४० मिलियन भन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस संक्रमण भएको छ।

हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ । बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्षसम्मका बालबालिकाहरू मध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमणको एन्टिबडी छ ।

नेटोसँग जेलेन्स्की असन्तुष्ट

अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्की असन्तुष्ट बनेका छन् ।

यसअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगर्ने बताएका थिए।

नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनले बताएका थिए।

यसैबीच, रुसी हमलाका कारण १२ लाख मानिस युक्रेन छोडेको राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ। युक्रेनमाथि रुसी हमलाको १०औँ दिन आज पनि विभिन्न सहरमा हमला भइरहेका छन् ।

युक्रेनले रुसलाई जित्नेमा अमेरिकी विदेशमन्त्री विश्वस्त

युक्रेनले रुसलाई युद्धमा जित्नेमा आफू विश्वस्त रहेको अमेरिकी विदेशीमन्त्रीले जनाएका छन्। अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्कनले जारी युद्ध कति समयसम्म चल्छ भन्न नसकिने भएपनि यस युद्धमा युक्रेनको हार पनि शत प्रतिशत निश्चित नरहेको बताए ।

अन्तर्वार्ताका क्रममा विदेशमन्त्री ब्लिङ्कनले युक्रेनी जनताको सहनशीलताको प्रसंशा गरे ।

‘यदी मस्कोको चाहना सरकार ढालेर आफ्नै कठपुतली सरकार राख्नु हो भने ४ करोड ५० लाख युक्रेनीहरूले एक वा अर्को तरिकाबाट त्यसलाई अस्वीकार गर्नेछन् ।’ उनले भने । यो युद्ध भ्लादिमिर पुटिनको योजनाअनुसार सफल नभएको उनको भनाइ छ ।

युरोपेली युनियनका विदेशमन्त्रीहरूसँगको छलफलका लागि अमेरिकी विदेशमन्त्री ब्रसेल्समा छन् ।

युद्धमा युक्रेनी विजयप्रति विश्वस्त हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले ‘केही समयपछि, अवश्य’ भन्ने जवाफ दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ३० बजे

युरोकप : क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको क्वार्टरफाइनल (अन्तिम ८) समीकरण पूरा

कोपा अमेरिका : कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा पुगेका छन्

रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिवेदनमाथि छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक बसिरहेको

कमब्याक तयारीमा यी कलाकार, फिल्ममा देखिएलान् राजेश हमाल ?

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘एक जना कलाकार सक्रिय रहने

सुदूरपश्चिममा कांग्रेस–एमाले छलफल सुरु

सुदूरपश्चिम- नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि केन्द्रमा भएको