काठमाडौँ– नेपालको बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजको छायांकन आउँदो असारबाट सुरु हुने भएको छ ।
दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा ४’ को छायांकनमा लाने अन्तिम तयारीमा टिम रहेको छ । सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म ‘छक्का पञ्जा ४’ को स्क्रिप्टको काम लक्ड भएसँगै फिल्म फ्लोरमा जाने छ ।
‘फिल्मलाई असार पहिलो सातामा छायांकनमा लाने तयारी गरिरहेका छौँ । हाम्रो अघिल्लो सिरिजको सफलताले अझै दायित्व थपेको छ । यसैले गर्दा स्क्रिप्ट लगायतका अन्य विषयमा पनि सक्दो मेहनत गरिरहेका छौँ’ निर्देशक दीपाले भनिन् । उनले एउटा क्यारेक्टर आफू सुहाउँदो भएकोले अभिनय गर्ने पनि बताइन । ‘एउटा राम्रो क्यारेक्टर निस्किएको छ । त्यसमा मलाई दर्शकले देख्ने सम्भावना छ’ उनले भनिन् । फिल्मलाई काठमाडौँ र आसपासमा छायांकन गर्ने तयारी टीमको छ ।
फिल्मको रिलिज मिति भने आगामी दशैँका लागि तय गरिसकिएको छ । फिल्ममा दीपक–दीपाका साथै केदार घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्मा निर्माता छन् ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरेको अभिनय रहने बताइएता पनि अन्य कलाकारको बारेमा भने बताइएको छैन ।
प्रतिक्रिया