आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

मारिउपोलको एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त जारी

युक्रेनमा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त शुरु भएको छ । एजोभस्तल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डरले भीषण भिडन्त शुरु भएको जानकारी दिएका हुन् ।

बेलायतबाट प्रकाशित हुने द गार्जियनले जनाएअनुसार रुसी फौजले एजोभस्तल क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन् । सो क्षेत्रमा रहेको एजोभ रेजिमेन्टका कमाण्डर डेनिस प्रोकोपेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै आफूहरू ‘कठिन घमासान युद्ध’ लडिरहेको बताएका छन् ।

‘दुश्मनको दबाबलाई मत्थर पार्न मेरा सैनिकहरूले गरेको असामान्य प्रयासप्रति मलाई गर्व छ । अवस्था अत्यन्त कठिन छ ।’ प्रोकोपेन्कोलाई उद्धृत गर्दै गार्जियनले जनाएको छ ।

यसअघि बुधबार युक्रेनको सत्तारुढ पार्टीका संसदीय नेता डेभिड अराखामियाले रेडियो फ्रि युरोप/रेडियो लिबर्टीलाई रुसी फौजले एजोभस्तल क्षेत्रमा प्रवेश गरेको बताएका थिए । यद्यपि उनले सो क्षेत्रमा रहेका युक्रेनी फौजसँग सरकार नियमित सम्पर्कमा रहेको बताएका थिए ।

मारिउपोलको अधिकांश क्षेत्रमा रुसी फौजले कब्जा जमाएपनि एजोभस्तल क्षेत्रमा भने अझै युक्रेनी फौजको पकड रहेको बताइएको छ ।

यता रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने रुसी फौजले एजोभस्तल क्षेत्रमा हमला गरेको विवरणको खण्डन गरेका छन् ।

‘हमला स्थगित गर्न (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले सार्वजनिक रुपमै निर्देशन दिनुभएको छ ।’ उनले भने, ‘कुनै हमला भएको छैन ।’

त्यस्तै, रुसले बिहीबार सबेरै युद्धविराम गर्ने जनाएको छ । युक्रेनी फौजको पकड क्षेत्रमा रहेका सर्वसाधारणको उद्धारका लागि तीन दिने मानवीय करिडोर खोल्नका लागि युद्धविराम गरेको रुसी दाबी रहेको गार्जियनले जनाएको छ ।

‘रुसी सैन्य बलले मे ५, ६ र ७ का दिन (मस्कोको समयअनुसार) ८ बजेबाट ६ बजेसम्म एजोभस्तल धातु कारखानाको भूभागबाट मानवीय करिडोर खोल्नेछ ।’ रुसी रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो समयमा रुसी सैन्य बल र डोनेत्स्क जनगणतन्त्रका फौजले एकतर्फी युद्धविराम गर्नेछन् ।’

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मारिउपोलबाट ३४४ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । राष्ट्रका नाममा सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले एजोभस्तल क्षेत्रमा फसेका मानिसहरुलाई उद्धार गर्नका लागि छलफल जारी रहेको समेत जानकारी दिए ।

‘त्यहाँ अझै सर्वसाधारणहरु छन् । महिला बालबालिका ।’ उनले भने ।

बेलारुसी फौजले रुसलाई साथ दिएपनि आफूहरू लड्न तयार रहेको युक्रेनी अधिकारीको भनाइ

बेलारुसी फौजले रुसलाई साथ दिएपनि आफूहरू तयार रहेको युक्रेनी अधिकारीले टिप्पणी गरेका छन् । युक्रेनी राष्ट्र सीमा सेवाका प्रवक्ताले बेलारुस पनि युक्रेनमा जारी युद्धमा सहभागी भएपनि आफूहरू तयार रहेको जनाएका हुन् ।

बेलारुसले ठूलो स्तरको सैनिक अभ्यास शुरु गरेको भन्ने समाचार सार्वजनिक भएसँगै युक्रेनको यस्तो प्रतिक्रिया आएको हो ।

‘कुनै पनि बेला रुसी महासंघले युक्रेनविरुद्ध बेलारुसको भूमि वा बेलारुस गणतन्त्रको सैन्य बल प्रयोग गर्न सक्छ भन्ने विषयलाई हामी अस्वीकार गर्न सक्दैनौँ ।’ युक्रेनको राष्ट्र सीमा सेवाका प्रवक्ता आन्द्रेई डेम्चेन्कोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘त्यसैले हामी तयार छौँ ।’ उनले भने । साथै गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता बेलारुससँगको सीमामा पनि कडाइ गरिएको उनको भनाइ छ ।

त्यसबेला रुसले बेलारुसको भूभाग प्रयोग गरी उत्तरी युक्रेनमा आक्रमण गरेको थियो । यद्यपि पछिल्लो समय रुसले उत्तरी युक्रेनबाट आफ्ना सैनिकलाई पूर्वी एवम् दक्षिणी युक्रेनतर्फ स्थानान्तरण गरेको बताइएको छ ।

यसबाहेक युक्रेनले रुस समर्थित पृथकतावादीको कब्जामा रहेको पूर्वी मोल्दोभाको ड्निस्टर नदी पारीको ‘ट्रान्सनिस्ट्रया’ क्षेत्रसँगको सीमामा पनि कडाइ गरेको उनले जानकारी दिए । केही समयअघि सो क्षेत्रमा श्रृङ्खलाबद्ध आक्रमण भएयता तनाव बढेको बताइन्छ ।

युरोपले मोल्दोभालाई दिँदै आएको सैन्य सहयोग बढाउने

युरोपेली युनियन ईयूले युक्रेनको पश्चिमी छिमेकी मुलुक मोल्दोभालाई दिने सैन्य सहायतालाई ‘उल्लेखनीय रुपमा बढाउने’ भएको छ ।

मोल्दोभा भ्रमणमा रहेका युरोपेली परिषद्का अध्यक्ष चार्ल्स माइकलले ईयूले मोल्दोभालाई दिँदै आएको सैन्य सहयोग बढाउने घोषणा गरेका हुन् ।

पछिल्लो समय युक्रेनमा रुसी आक्रमण जारी रहँदा मोल्दोभाको ड्निस्टर नदी पारी रुस समर्थित पृथकतावादीले कब्जा जमाएको क्षेत्र ‘ट्रान्सनिस्ट्रया’ मा श्रृङ्खलाबद्ध विष्फोटपछि तनाव बढिरहेका बेला युरोपेली परिषद्का अध्यक्षको यस्तो भनाइ आएको हो ।

‘सैन्य बललाई थप सैनिक सामग्री प्रादान गरेर यो वर्ष हामीले मोल्दोभालाई दिने सहयोगलाई उल्लेखनीय रुपमा बढाउने योजनामा छौँ ।’ मोल्दोभाकी राष्ट्रपति माया सन्दुसँगको संयुक्त पत्रकार सम्मेलनमा माइकलले भने ।

मोल्दोभाको ‘बन्दोबस्ती, साइबर रक्षा’ का क्षेत्रमा ईयूले सहयोग बढाउने उनको भनाइ छ । यसबाहेक ‘सैन्य निर्माणको थप क्षमता’ बढाउने समेत उनले बताए । यद्यपि यसबारे उनले थप विवरण उपलब्ध नगराएको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

‘ईयू तपाईँहरू, मोल्दोभाप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दछ । तपाईँहरूको राष्ट्रलाई सहयोग गर्नु हाम्रो युरोपेली दायित्व हो ।’ उनले भने ।

कोभिड १९ का नयाँ भेरियन्टमा पनि अहिलेकै खोप प्रभावकारी

विश्व स्वास्थ्य संगठनले कोभिड १९ का अरु नयाँ भेरियन्टहरुलाई पनि अहिलेका कोभिड विरुद्धको खोपले नै काम गर्ने जनाएको छ ।

अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिड १९ का नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ ।

ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो । संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

यस्तै, विश्वमा कोभिड १९ का संक्रमितहरुका संख्या पनि घट्दै गएको पाइएको छ । गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिड १९ का कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।

यो मृत्युदरमा भएको कमी पनि कोभिड १९ का विरुद्धको खोपकै कारण भएको संगठनको भनाइ छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले कोभिड १९ को ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो ।

तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ ।

ताइवानले अमेरिकी लडाकु हेलिकोप्टर नकिन्ने संकेत

ताइवानले अमेरिकाबाट पनडुब्बी विरुद्ध प्रयोग हुने अत्याधुनिक लडाकु हेलिकोप्टर खरिद गर्ने योजना खारेज गरेको संकेत गरेको छ ।

धेरै महङ्गो भएका कारण ताइवानले हेलिकोप्टर खरिद गर्ने योजना खारेज गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि ताइवानले अमेरिकाबाट १२ वटा एमएच ६० आर पनडुब्बी विरुद्ध प्रयोग हुने हेलिकोप्टर खरिद गर्न लागेको भन्ने समाचार सार्वजनिक भएको थियो ।

यद्यपि ताइवानी सञ्चारमाध्यमले भने ताइवानलाई यस्तो किसिमको हेलिकोप्टर आवश्यक नरहेको भन्दै अमेरिकाले यो योजना अस्वीकार गरेको जनाएका थिए ।

संसद्मा अमेरिकी हतियार खरिदबारे सोधिएको प्रश्नमा ताइवानी रक्षामन्त्री चिउ कुओ चेङले यस्ता हेलिकोप्टर अत्यन्त महङ्गो रहेको जनाएका थिए । ‘मूल्य धेरै छ, हाम्रो मुलुकको क्षमताभन्दा धेरै ।’ रक्षामन्त्री चिउलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

त्यसबाहेक अरु दुई किसिमका अमेरिकी हतियारको खरिद पनि केही समयका लागि वर सारिएको जनाइएको छ । रोयटर्सले जनाएअनुसार एम १०९ ए ६ मध्यम सेल्फ प्रोपेल्ड हवित्जर तोपखाना प्रणाली र विमाभेदी स्टिङ्गर क्षेप्यास्त्र खरिद प्रक्रियालाई पर सारिएको हो ।

हाल अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएकाले हतियार खरिद प्रक्रिया पछि सरेको जनाइएको छ ।

यता रक्षामन्त्री चिउले भने ताइवानले अमेरिकासँग खरिद सम्झौता गरिसकेको र पैसा पनि तिरिसकेको भन्दै छिटो हतियार आपूर्ति गर्न अमेरिकालाई दबाब दिने बताएका छन् ।

चीनले सार्वभौमिकता दाबी गर्दै आएको ताइवानले पछिल्ला केही समययता आफ्नो सेनाको आधुनिकीकरणलाई तीव्र पारेको बताइन्छ ।

कोलम्बियाद्वारा कुख्यात लागूऔषध तस्करलाई अमेरिका सुपुर्दगी

ल्याटिन अमेरिकी मुलुक कोलम्बियाले कुख्यात लागूऔषध तस्करलाई अमेरिका सुपुर्दगी गरेको छ । कोलम्बियाका राष्ट्रपति इभान डुकेले कुख्यात लागूऔषध तस्कर ओटोनियल भनिने डारियो एन्टोनियो उसुगालाई अमेरिका सुपुर्दगी गरिएको पुष्टि गरेका हुन् ।

सुपुर्दगीबारे घोषणा गर्दै राष्ट्रपति डुकेले ओटोनियल ‘विश्वकै सबैभन्दा खतरनाक तस्कर’ रहेको समेत टिप्पणी गरे । बीबीसीले जनाएअनुसार उनी कुख्यात लागूऔषध गिरोह गल्फ क्लान कार्टेलका नाइके समेत हुन् ।

कोलम्बियाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस गिरोहले हरेक वर्ष १८० देखि २०० टन कोकेन तस्करी गर्दै आएको छ । लागूऔषध तस्करीको अभियोगमा उनीमाथि अमेरिकाले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

७वर्षको खोजीपछि उनी गत वर्षको अक्टोबर महिनामा पक्राउ परेका थिए । गत महिना त्यहाँको सर्वोच्च अदालतले उनको अमेरिका सुपुर्दगीलाई मन्जुरी दिएको थियो ।

सुपुर्दगी घोषणा गर्दै राष्ट्रपति डुकेले उनलाई अर्का कुख्यात लागूऔषध तस्कर पाब्लो इस्कोबरसँग तुलना गरे । ‘यो सुपुर्दगीले कोही पनि कोलम्बिया भन्दा माथि छैन भन्ने देखाउँछ ।’ राष्ट्रपति डुकेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पक्राउअघि उनी कोलम्बियाको ‘मोस्ट वाण्टेड’ थिए । उनीमाथि कोलम्बियाले ८ लाख अमेरिकी डलर र अमेरिकाले ५० लाख डलर इनाम समेत घोषणा गरेका थिए ।

उनको गल्फ क्लान कार्टेल गिरोहमा १८ सय सशस्त्र सदस्य रहेको बीबीसीले जनाएको छ । यस गिरोहले कोलम्बिया र अमेरिकाबाहेक अर्जेन्टिना, ब्राजिल, होण्डुरस, पेरु, स्पेन र रुससम्म आफ्ना गतिविधि गर्दै आएको थियो ।

इराकमा बालुवाको आँधीमा परी १ हजारभन्दा धेरै अस्पताल भर्ना

इराकमा बालुवाको आँधी आउँदा १ हजार जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन् । बालुवाको आँधीका कारण श्वास प्रश्वासमा समस्या देखिएपछि १ हजार भन्दा धेरै अस्पताल भर्ना भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

राजधानी बगदाद र पश्चिममा रहेको अनबरसहित इराकका १८ मध्ये ६ प्रान्त बालुवाको आँधीबाट प्रभावित भएको जनाइएको छ ।

अनबर प्रान्तमा मात्रै श्वास प्रश्वासमा समस्या देखिएका ७ सय जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारी अनस कइसलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । त्यस्तै, सलाहद्दिन प्रान्तमा अरु ३ सय जना अस्पताल भर्ना भएका छन् ।

यसबाहेक दिवानिया, नजाफ र अन्य केही प्रान्तमा पनि सयौँ मानिसहरु अस्पताल भर्ना भएको जनाइएको छ ।

पछिल्लो महिनामा इराकमा आएको यो सातौँ बालुवाको आँधी हो । बिहीबार सबेरै इराकको विशाल क्षेत्रमा चलेको तीव्र हावाले मरुभूमिबाट बालुवा उडाएको र यसबाट आकाश नै बालुवाले ढाकिदिएको अल जजीराले जनाएको छ ।

अनबरकिर्कुक प्रान्तका अधिकारीहरुले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेका छन् ।

विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारणश्रीलङ्कामा डिजेलको अभाव

श्रीलङ्कामा विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण डिजेलको अभाव भएको त्यहाँको ऊर्जामन्त्रीले बताएका छन् ।

ऊर्जामन्त्री कञ्चना विजेसेकेराले संसद्लाई सम्बोधन गर्दै मुलुकमा दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने भएपनि सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको बताए ।

अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल आपूर्ति हुने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उनले बताए ।

श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ । यसका कारण दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ । अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितीमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ९ : ४५ बजे

फराकिलो बन्दै न्यूरोडको फुटपाथ (तस्बिरहरू)

काठमाडौं- पटक पटकको विवादबीच काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम

मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर

सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनगढी– सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित

आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका

चाडपर्वका लागि असोज १२ देखि बसको टिकट अग्रिम बुकिङ खुल्ने

काठमाडौं- आसन्न दसैँ-तिहारका लागि असोज १२ गतेदेखि बसको टिकटको अग्रिम