सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारी र रुसले युक्रेनमा गरेको आक्रमणका कारण संसारको अर्थतन्त्रलाई प्रभावमा पारेको छ। त्यसो त जलवायु परिवर्तनको असर पनि अप्रत्यक्ष रूपमा अर्थतन्त्रमा नै परेको छ। यी सबैको प्रभावले अहिले संसारमा समस्या देखिन थालेको छ।
पछिल्ला केही समय त संसारका केही गरिब देशको अवस्था यसरी बिग्रिएको छ कि त्यहाँका धेरै जनालाई दैनिक जीवन यापनमा कहालीलाग्दो समस्या देखिएको छ।
बढ्दो महँगीको कारण अहिले यस्तै गम्भीर समस्या केन्यामा देखिएको छ। राजधानी नैरोबीकी एक महिला फ्लारेन्स काबु आ–आफ्नै घर अगाडि फ्याँकिएका प्लास्टिक र पुरानो कपडाको खोजी गरिरहेकी थिइन्। उनी बजारमा बेच्न मिल्ने सबै कुरा जम्मा गरिरहेकी हुन्।
उनको पेसा यसरी फोहोर प्लास्टिक खोजी गर्ने होइन। उनलाई यो खतरापूर्ण पनि लाग्छ। कालो स्विटर र घुँडासम्मको प्लास्टिकको बुट लगाएकी यी महिलाका लागि फोहोरबाट उत्पन्न हुने रोग भन्दा बढी भोकमरीको समस्याले सताएको छ।
‘कहिले छातीमा सङ्क्रमण हुन्छ। कहिले झाडापखाला लाग्छ। तर, मैले यी सबैलाई स्वीकार गरेर अगाडि बढेको छु,’ आबुआले भनिन्। ६ बच्चाका आमा यी महिला अहिले जिन्दगीकै कठिन समय बिताइरहेकी छन्। १९ वर्ष अगाडि स्वर्णिम भविष्यको सपना बुनेर उनी पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो महानगर नैरोबी पुगेकी थिइन्।
त्यसै समयमा उनले जागिर मात्र गुमाइनन्, आफ्ना बच्चाका बाबुले पनि छाडेर गए। त्यस पछि सानो पसल राखेर उनी बसीरहेकी थिइन्। अहिलेको यो कामबाट उनले दैनिक १०० केन्याली सिलिङ जम्मा गर्ने गरेकी छन्। केन्या र नेपालको मुद्राको मूल्य लगभग उस्तै हो। यो थोरै कमाइको बाबजुद महंगी बढ्नु अगाडिसम्म उनी आफ्नो परिवारलाई दिनको दुई पटक खवाउन सक्षम थिइन्।
‘मेरा बच्चालाई भात असाध्यै मनपर्छ। ५० सिलिङमा आधा किलो चामल किनेर बच्चालाई दुई छाक भात खुवाउने गर्थेँ। अहिले त्यो सम्भव छैन’, उनले भनिन्। अहिले मकै र गहुँको खोले बनाएर उनले भोक टार्ने गरेकी छन्। उनले आफ्नो परिवारलाई एक छाक खुवाउने गरेकी छन् कहिलेकहीँ दुई छाकको व्यवस्था पनि हुने गरेको छ।
‘मैले ८५ सिलिङमा सबैभन्दा सस्तो पिठो किन्ने गरेको थिएँ। अहिले त्यसको भाउ बढेर १५० सिलिङ पुगेको छ। कहिले कहीँ हामी नखाएर भोकै पनि सुत्ने गरेका छौं’, उनले पीडा व्यक्त गरिन्। यो दुई सातामा उनका लागि अवस्था अझ खराब भइ सकेको छ। मकैको पिठोको मूल्यमा उनले भने भन्दा पनि २५ प्रतिशतले वृद्धि भइसकेको छ।
केन्याका तथ्यांक विभागले दिएको जानकारी अनुसार त्यहाँ मुद्रास्फीतिका कारण सन् २०२१ को मेको तुलनामा सन् २०२२ को मेमा १२.४ प्रतिशतले खाद्यान्नमा मूल्य बढेको छ।
केन्यामा उत्पादन हुनुका साथै छिमेकी देशबाट समेत आयात गरिने मकै त्यहाँ सबैभन्दा धेरै प्रयोग हुने गरेको छ। युनाइटेड ग्रेम मिलर एसोसिएसनका प्रमुख केनेडी नायागाच यो सबैभन्दा सस्तो विकल्प भएको बताउँछन्।
अपर्याप्त वर्षाको कारण यस वर्ष उत्पादनमा कमी आएको छ। साथमा मल लगायत सामग्रीमा भएको मूल्य वृद्धिका कारण अन्नको मूल्यमा असर परेको छ। कम्बुवाको सानो नाङ्ले पसलमा पनि अहिले व्यापार हुन छाडेको छ। महँगीका कारण त्यहाँ घन्टौँसम्म बस्दा पनि एउटा प्याज र एउटा आलु किन्न आउने मान्छे पाउन पनि कठिन छ ।
‘अहिले यो एउटा गोलभेँडाको मूल्य १० सिलिङ भएको छ। जबकी यो ५ सिलिङमा किन्न पाउनु पर्ने हो’, भेन्डर एलुज माकुजीले भने‘ यहाँ गोलभेडा छरिएका छन्। तर उनीहरू यसलाई किन्न सकिरहेका छैनन्।’ अहिले युद्ध भइरहेको युक्रेन धेरै टाढा हो। तर, उनलाई इन्धन र मलको मूल्यमा वृद्धि भइरहने तथा यसको असर अन्य सबै कुराको मूल्यमा पर्ने चिन्ता छ। ‘अहिले गोलभेँडा उत्पादन गर्न नै धेरै लाग्छ। मल र ऊर्जाको मूल्य वृद्धि भएसँगै धेरैले गोलभेँडा लगाउन नै छाडेका छन्’, माकुजीले भने।
बजारको केही पर क्याथरिन कानीनी बस्ने गर्छिन्। बारमा काम गर्ने उनी बेरोजगार भए पछि सडकमा आइपुगेकी छन्। बच्चाका आमा बनी सकेकी उनी घर भाडा तिर्न सक्दिनन्। यस कारण लामखुट्टेको झुल, बाँस र प्लास्टिक राखेर उनले छाप्रो बनाएकी छन्।
पूर्वी केन्याको सिटुटीबाट उनी त्यहाँ पुगेकी हुन्। अन्य ग्रामीण बस्तीबाट आएका जस्तो उनलाई पनि महँगीको समयमा घरबाटै खाद्यान्न खरिदका लागि सहयोग गर्ने गरेका छन्।
उनकी अमाले खाना पठाउने गरे पनि अहिले खडेरी परेको छ। यो खडेरीमा आमाले पनि नियमित खाद्यान्न पठाउन सकेकी छैनन्। ‘अहिले हाम्रा गाउँहरू नै सुख्खा भएका छन्। पानी नै परेको छैन। पानी नपरेको कारण आमाले खानेकुरा पठाउन पनि सक्नु भएको छैन’, कानीनीले भनिन्, ‘उनी अहिले हामीले केही पठाइ दिने हो कि भन्ने आसमा छिन्। हामी साँच्चै समस्यामा छौं।’
यसरी मूल्य वृद्धिका कारण जनजीवन नै समस्यामा परेको समयमा केन्यामा ९ अगस्टमा आम निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति उहुरु केन्यटालाई प्रतिस्थापन गर्न दुई जनाको प्रतिस्पर्धा हुनेछ।
वर्तमान उपराष्ट्रपति विलियम राउटोले गरिबी निवारणलाई चुनावी मुद्दा बनाएका छन्। त्यसै गरी, विपक्षी नेता राइला ओडींगाले गरिब घरलाई राहत र क्षतिपूर्ति दिने बताएका छन्। कानीनीको भने यी दुईलाई आफ्नै सल्लाह छ। ‘ उनीहरूले कारखाना खोलेर हामी सबैलाई रोजगारी दिए भइ हाल्यो नि। अहिले जुन वस्तुको मूल्य बढेको छ, त्यसै वस्तुको उत्पादन गर्ने कारखाना खोले स्वतः मूल्यमा पनि नियन्त्रण हुन्छ’, कानीनीले भनिन्।
अन्तर्राष्ट्रिय संकट समूह विश्लेषक मेरोयन एलीयास दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले थुप्रै अस्थिरता ल्याउनसक्ने बताएका छन्। अहिले केन्याको नतिजा नै अनिश्चित नै छ। यस बीचमा त्यहाँको प्रजातान्त्रिक प्रणालीमा नै अविश्वास पैदा भएको छ। युवाहरूमा बेरोजगारी समस्या बढेर यसले सामूहिक हिंसा भड्कन सक्ने सम्भावना छ। सन् २०१० बाट सुधारको बाटोमा लम्किएको भनिएको केन्यामा सन् २०१७ मा उहुरु केन्याटा राष्ट्रपतिमा निर्वाचित भएका थिए।
अहिले केन्या मात्र होइन, अफ्रिकाको एउटा भेग नै खडेरीको समस्यामा परेको छ। केन्यामा भने अन्य देश भन्दा पनि बढी समस्या देखिएको छ। ३५ लाख जना त भोकमरीको समस्यामा परेका छन्। लगातार तेस्रो वर्षा ऋतुमा केन्यामा कम वर्षा भएको छ। वर्षामा कमी आएपछि उत्पादनमा लगातार तीन वर्षदेखि समस्या उत्पन्न भएको हो।
४० वर्षयता औसत भन्दा कम पानी परेको छ। धेरै घरपालुवा जनावरको पनि यस वर्ष मृत्यु भएको छ। कम खाद्यान्न उत्पादन भएको छ। यसै कारण केन्या कुपोषणको गम्भीर समस्या तर्फ लम्की रहेको छ।
खाद्य सुरक्षामा यो संकट आउनुको पछाडिको मुख्य कारण के भनेर खोजी गर्न त लामो समय लाग्न सक्छ। खडेरी, कम वर्ष, घरपालुवा जनावरको मृत्यु लगायत अनेकौँ छन्। यसले उत्पन्न गरेको सामाजिक समस्या, गरिबी र भोकमरीको समस्या छ। यसले मानसिक रोगको समस्यामा पनि केन्यामा बढ्न सक्नेछ। स्रोत : बीबीसी
प्रतिक्रिया