चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरुसँगको सम्बन्धमा पुनर्विचार गर्ला ? | Khabarhub Khabarhub

चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरुसँगको सम्बन्धमा पुनर्विचार गर्ला ?


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९५४ देखि सन् १९७७ सम्म पश्चिमा मुलुकहरु दक्षिणपूर्वी एसिया सन्धी संगठन (सेटो) मा आबद्ध भएका थिए । रुसी साम्यवादबाट दक्षिणपूर्वी एसियालाई जोगाउनका लागि गठन भएको उक्त संगठन विघटन भएको धेरै भइसकेको छ ।

तर सो क्षेत्रमा अर्को साम्यवादी मुलुक चीनको प्रभाव विस्तार भइरहेको सन्दर्भमा अहिले चार मुलुक सहभागी सुरक्षा समूह ‘क्वाड’ तथा अन्य संयन्त्रको गठन गरिएको छ । कोभिड महामारीपछिको यो समयमा यस क्षेत्रमा विस्तारित चिनियाँ चुनौतिलाई निस्तेज पार्ने प्रयासहरु पनि जारी रहेका छन् ।

दक्षिणपूर्वी एसियामा चीन एक सैनिक एवम् आर्थिक शक्तिका रुपमा देखा परेको छ । सो क्षेत्रमा लगानी एवम् आर्थिक गतिविधिलाई तीव्र पारेपनि दक्षिणपूर्वी एसियामा चीनलाई निकै अविश्वसनीयताका साथ हेर्ने गरिन्छ ।

हालै सिंगापुरको आईएसईएएस युसोफ इशाक इन्स्टिच्युटले सार्वजनिक गरेको सर्वेक्षणमा क्षेत्रीय हिसाबमा नै चीन सबैभन्दा अविश्वसनीय साझेदार रहेको देखिएको हो । यस सर्वेक्षणमा जापान सबैभन्दा विश्वासिलो साझेदार रहेको पाइएको छ । जापानपछि अमेरिका र युरोपेली युनियन (ईयू) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

सर्वेक्षणअनुसार सो क्षेत्रका ५४ दशमलब २ प्रतिशतले जापानले ‘राम्रो काम गर्ने’ विश्वास व्यक्त गरेका छन् । त्यस्तै, ५२ दशमलब ८ प्रतिशतले अमेरिका र ४८ दशमलब ५ प्रतिशतले ईयूप्रति विश्वास दर्शाएका छन् । यस सर्वेक्षणअनुसार ५८ दशमलब १ प्रतिशतले चीनप्रति विश्वास नरहेको उल्लेख गरेका छन् । यीमध्ये ४९ दशमलब ६ प्रतिशतले चीनले सैन्य एवम् आर्थिक प्रभावले आफ्नो मुलुकको सार्वभौमिकता एवम् राष्ट्रिय हितमा चुनौति उत्पन्न गरेको जनाएका थिए ।

सर्वेक्षणमा दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आशियानका ७६ दशमलब ४ प्रतिशत मानिसहरु चीनको बढ्दो क्षेत्रीय रणनीतिक एवम् राजनीतिक प्रभावबाट ‘चिन्तित’ रहेको उल्लेख छ ।

यो संख्या गत वर्ष ८० दशमलब १ प्रतिशत रहेको थियो । अर्कोतर्फ सर्वेक्षणमा सहभागीहरु अधिकांशले सो क्षेत्रमा आशियान र अमेरिकाको क्षेत्रीय प्रभावलाई ‘स्वागत गरेको’ जनाएका थिए ।

सो क्षेत्रका ८० दशमलब १ प्रतिशतले आशियानको राजनीतिक प्रभावको स्वागत गरेको र ६२ दशमलब ६ प्रतिशत सर्वेक्षणमा सहभागीहरुले आशियानमा अमेरिकी प्रभावको पक्षमा रहेको जनाएका थिए ।

सर्वेक्षणमा यस क्षेत्रमा सबैभन्दा धेरै ५४ दशमलब १ प्रतिशत कम्बोडियाका नागरिकहरुले चिनियाँ प्रभावको पक्षमा रहेको जनाएका थिए । यसको विपरीत ब्रुनाइ, म्यान्मार, फिलिपिन्स, सिंगापुर र भियतनामका जनताहरु सबैभन्दा धेरै चिनियाँ प्रभावको विपक्षमा रहेका पाइएको थियो ।

चीनप्रति यतिधेरै अविश्वसनीयता किन ? समुद्री एवम् सार्वभौमिकताको विवाद एकातिर हुनसक्छ । तर समस्य योभन्दा गहिरो छ । चीनले स्वशासन र समावेशीकरणलाई ध्यान नै दिएको छैन । चीनले दक्षिणपूर्वी एसियामा कूटनीतिले कसरी काम गर्छ भन्ने विषयप्रति असंवेदनशील भएर क्षेत्रीय नीतिलाई अघि सार्दै आएको छ ।

सो क्षेत्रका मुलुकहरुले सार्वजनिक हित र आर्थिक विकासलाई ध्यान दिने चीनको अनुमान सही थियो । तर, आर्थिक लक्ष्य पूरा गर्न आफ्नो स्वशासन र सार्वभौमिकतामाथि नै हानी हुनेगरी क्षेत्रीय मुलुकहरुले कदम चाल्छन् भन्ने चीनको अनुमान भने असफल भएको छ । ऐतिहासिक रुपमा दक्षिणपूर्वी एसियाली मुलुकहरु समावेशी र खुला अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा देखिन्छन् ।

अर्कोतर्फ चीनले दक्षिण चीन सागरमा अवस्थित केही मुलुकहरुमा ‘विदेशी’ सैनिक उपस्थितीको विरोध गर्दै आएको छ । यसका साथै चीनले दक्षिण चीन सागरलाई आफ्नो प्रभावमा लिनका लागि पनि प्रयास गर्दै आएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरुलाई आर्थिक तथा राजनीतिक हिसाबमा ‘खरिद गर्ने’ निहीत स्वार्थबाट चीन पछि हट्नुपर्ने धेरै विश्लेषकहरुको धारणा छ ।

यस क्षेत्रमा चीनको प्रभाव विशाल रहेकोमा कुनै शंका नै छैन । यद्यपि यस क्षेत्रमा चीनको आर्थिक साझेदारी सैनिक विस्तारसँगै जोडिएको विषयलाई पनि बिर्सनु हुँदैछ । आशियानका मुलुकहरुसँग चीनको व्यापार सन् २०२१ मा ८ खर्ब ७८ अर्ब अमेरिकी डलर पुगेको छ ।

यो सन् २०१३ मा रहेको ४ खर्ब ४३ अर्ब अमेरिकी डलरभन्दा झण्डै दोब्बर हो । यससँगै चीनले दक्षिण चीन सागरमा सैनिक विस्तारलाई पनि निरन्तरता दिएको छ । सन् २०१३ यता चीनले दक्षिण चीन सागरमा ३२ सय एकड क्षेत्रफलका कृत्रिम टापु निर्माण गरी तीन कृत्रिम टापुमा सैनिक तैनाथी गरेको छ ।

चीनको यस्तो रणनीति एकातर्फ आशियानका मुलुकहरुसँग आर्थिक रुपमा साझेदारी गर्ने र अर्कोतर्फ सैनिक चुनौतिलाई पनि सँगसँगै अघि बढाउने र रणनीतिक स्वतन्त्रतालाई खोस्ने रहेको देखिन्छ । समयसँगै चीनको कदमबाट विपरीत नतिजा निस्किरहेको छ भने चीनको छविमा पनि नकारात्मक असर परेको छ ।

चीनले अरु मुलुकहरुसँग कस्तो व्यवहार गर्छ भन्ने दक्षिणपूर्वी एसियाली मुलुकलाई राम्रोसँग थाहा छ । केही समयअघिमात्रै चीनले अष्ट्रेलियामाथि प्रतिबन्ध लगाएको थियो । यसबाहेक दक्षिण चीन सगरमा चीनको गतिविधि हेर्दा पनि चीनलाई विश्वास गरिहाल्न नसकिने अवस्था रहेको निष्कर्षमा पुग्न सकिन्छ ।

उदाहरणका लागि सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले दक्षिणपूर्वी एसियाली मुलुकहरुको विशेष आर्थिक क्षेत्र समेट्ने दक्षिण चीन सागरमा चीनसँग कुनै ऐतिहासिक अधिकार नरहेको फैसला सुनाएको थियो । यस्तौ फैसलाको बेवास्ता गर्दै चीनले सो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न छाडेको छैन ।

चीनसँग सार्वभौमिकताको विवादमा रहेका मुलुकहरु चीनले जनवरी २०२१ मा पारित गरेको तटरक्षक कानूनप्रति पनि सशंकित छन् । यस कानूनले चिनियाँ तटरक्षकहरुलाई चीनले दाबी गरेको समुद्री क्षेत्रमा विदेशी पानीजहाजमाथि गोली हान्ने अधिकार प्रदान गरेको छ ।

दक्षिणपूर्वी एसियाली मुलुकहरुलाई आफ्नो प्रभाव क्षेत्रमा राख्ने चीनको अर्को रणनीति हो । चिनियाँ राष्ट्रपति सी जिन्पिङले विभिन्न कूटनीतिक नाराका माध्यमबाट आफ्नो रणनीतिलाई अघि सारिरहेका छन् । हालैमात्र उनले ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ को घोषणा गरेका थिए ।

त्यसअघि चीनले ‘कम्युनिटी अफ कमन डेस्टिनी’ को घोषणा गरेको थियो । यस्ता नारा र कूटनीतिक रणनीति दक्षिणपूर्वी एसियामा ‘ठूल्दाइ’ बन्ने र यस क्षेत्रलाई प्रभावमा लिने चिनियाँ चालको एक हिस्सा रहेको विश्लेषकहरु बताउँछन् ।

तर, यस क्षेत्रका मुलुकहरुले तत्कालीन चिनियाँ विदेशमन्त्री याङ जेइचीले सन् २०१० मा गरेको एक टिप्पणीलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । उनले त्यसबेला भनेका थिए, ‘चीन ठूलो मुलुक हो र अरु मुलुकहरु साना हुन् र यो नै यथार्थ हो ।’

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : ०२ बजे

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति 

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिडेडले सर्वसाधारणको लागि साधारण शेयर

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने

अंकरा- इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा

कर्णाली प्रदेशसभामा प्रतिपक्ष उपस्थित नभएपछि बैठक स्थगित

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरू उपस्थित नभएपछि प्रदेशसभाको

रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र न्यायालयप्रत

आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने

काठमाडौं– सूचना प्रविधि क्षेत्रका काम गर्दै आएका उद्योगले आफूले आम्दानी