बसपार्क निर्माणको १ दशक पछि सेनाको दाबी पेस | Khabarhub Khabarhub

बसपार्क निर्माणको १ दशक पछि सेनाको दाबी पेस


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– तीब्र गतिमा सहरीकरण भइरहेको कैलालीको अत्तरियामा १ दशक अगाडि बसपार्क नहुँदा सडक किनारामै सवारी साधन पार्किङ गरिन्थ्यो । नौ जिल्लाको जस्कनको रुपमा रहेको भएपनि बसपार्क नहुँदा बजार अस्तव्यस्त बन्न थालेपछि अत्तरियामा क्षेत्रीय स्तरकै बसपार्क निर्माण गर्ने अवधारणा अनुसार जग्गाको खोजी गरियो । सोही क्रममा अत्तरिया चोक देखि उत्तरपट्टि दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा पर्ने खाली जग्गामा बसपार्क निर्माण गर्ने सर्वदलीय सर्वपक्षीय सहमति जुट्यो । 

सोही अनुसार तत्कालीन सुदूरपश्चिम यातायात व्यवसायी समितिले २५ लाखको लगानीमा बसपार्क निर्माणका लागि ग्राभेल गर्‍यो। उक्त रकम पछि बसपार्क व्यवस्थापन समितिले फिर्ता गर्ने सर्त राखिएको थियो । तत्कालीन सुदूरपश्चिमाञ्चल ट्राफिक प्रहरी प्रमुख प्रमोद खरेलको अगुवाइमा बसपार्क निर्माण गरिएको भएपनि हाल सो जग्गा आफ्नो भएको भन्दै तेघरी स्थित नेपाली सेनाको देवीदल गणले बसपार्कमा ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ लेखिएको बोर्ड टासेर आफ्नो दाबी पेस गरेको छ । 

२०६८ सालमा निर्माण गरिएको बसपार्कमा सेनाले केही दिन अगाडि मात्रै आफ्नो भोगाधिकारमा रहेको भन्दै बसपार्कमा बोर्ड टाँसेपछि हाल बसपार्कको भविष्यबारे अन्योल कायम भएको छ । २०७४ सालमा स्थानीय सरकार आएपछि बसपार्क नगरपालिका मातहत राखिएको छ । नगरपालिकाले बसपार्कलाई सुदूरपश्चिम प्रदेश स्तरकै बनाउने भनेर डिपिआर समेत तयार गरेपछि गत वर्ष मात्रै सो जग्गा सेनाको नाममा रहेको चर्चा चलेको थियो । अहिले गोदावरी नगरपालिका मातहतमा रहेको अत्तरिया बसपार्कबाट नगरपालिकाले वार्षिक ठेक्का प्रक्रिया मार्फत सेवा शुल्क उठाउँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ५२ लाखमा बसपार्कको ठेक्का उठाउने सम्झौता गरेको छ । 

अत्तरिया बजार क्षेत्रमा पर्ने बसपार्क मात्रै नभएर अत्तरियाको पूर्व रोड बनखेतदेखि पहाड रोड लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाको आफ्नो भएको दबी गरे पनि भोगाधिकार भने गोदावरी नगरपालिका, बिभिन्न संघसंस्था र स्थानीयले गरिरहेका छन । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा २०६२ सालमा सेनाको नाममा नामसारी गरिएको भनिएको उक्त जग्गा हालमा करोडौँका संरचना बनेपछि मात्रै सेनाले खोजी गरेको छ । तत्कालीन बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्टले २०६७/०६८ मा तत्कालीन सुदूरपश्चिमाञ्चल ट्राफिक प्रहरी प्रमुख प्रमोद खरेलको अगुवाइमा बसपार्क निर्माण गरिएको बताए । उनले अत्तरियामा सडक किनारामा सवारी साधन पार्किङ गर्नुपर्ने समस्याको समाधानका लागि तत्कालीन समयमा बजार नजिकको खाली क्षेत्रमा ग्राभेल भरान गरेर बसपार्क निर्माण गरिएको बताए ।

‘तत्कालिन समयमा बसपार्क निर्माणका क्रममा पनि सेनाले कुनै जानकारी गराएन । अहिले सङ्कटकालको समयमा सेनाले सो जग्गा आफ्नो नाममा लिएको भन्ने कुरा आएको छ’ उनले भने ‘तत्कालीन समयमा जानकारी आएको भए त्यहाँ बसपार्क बनाउने थिएनौ ।’ उनले बजार क्षेत्रमा सेनालाई जग्गाको आवश्यकता नै नभएको बताए ।

उनले सङ्कटकालको समयमा इलाका प्रहरी कार्यालय मालाखेतीको पछाडिको भागमा सेना पाल टाँगेर बसेको हुनाले सो क्षेत्र सेनाका नाममा गएको हुनसक्ने बताए ।हाल सेनाले दाबी गरेको ठाउँ देखि करिब साढे ३ किलोमिटर उत्तर तेघरीमा नेपाली सेनाको देवीदल गण रहेको छ । उनले भने ‘शाही शासनमा भएका निर्णय बदर हुने भनेपनि सोही समयमा अत्तरियाको जग्गा सेनाका नाममा हुने निर्णय स्वतः बदर हुनुपर्ने भएपनि हाल सम्म पनि सेनाले दाबी गर्नु उपयुक्त होइन ।’ नगरपालिकाले बसपार्क सञ्चालन गरिरहेकै अवस्थामा सेनाले बोर्ड राखेपछि लाखौं लगानी गरिएको बसपार्कको भविष्यका बारेमा अन्योल सृजना भएको छ भने तत्कालीन सुदूरपश्चिम यातायात व्यवसायी समितिको पछि फिर्ता पाउने गरी गरीको २५ लाख पनि कता अझै फिर्ता भएको छैन ।

सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले तत्कालीन समितिले २५ लाखको लगानीमा बसपार्क निर्माण गरेको भएपनि सो रकम समेत फिर्ता नभएको बताए ।उनले बसपार्क निर्माणका लागि बसपार्क व्यवस्थापन समिति स्थापना गरिएको भएपनि पछि उक्त समितिले रकम संकलन गरेर फिर्ता दिने गरी तत्कालीन सुदूरपश्चिम यातायात समितिले बसपार्क निर्माणका लागि लगानी गरेको बताए । बसपार्क निर्माणका समयमा सेनाले आफ्नो नाममा भएको कुनै दाबी नगरेको भएपनि बसपार्क निर्माण पछि केही वर्ष अगाडि मात्रै सो जग्गा सेनाले दाबी गरेको उनले बताए । उनले आफूले लगानी गरेको रकम फिर्ता पाउनको लागि हाल नगरपालिकालाई पनि आग्रह गरेको भएपनि सुनवाई नभएको बताए ।

उता तेघरी स्थित नेपाली सेनाको देवीदल गणले भने जग्गाका बारेमा के गर्ने भन्ने विषयमा हेडक्वाटरबाट मात्रै हुने बताएको छ । जग्गाका विषयमा गोदावरी नगरपालिकाले गत वर्ष देखि सेनासँग छलफल अगाडि बढाएको थियो । सो छलफलमा हाल तेघरीमा रहेको सेनाको ब्यारेक क्षेत्रमै सेनालाई थप जग्गा दिएर बसपार्क लगायतको क्षेत्रमा दाबी छोड्न लगाउने विषयमा छलफल भएपनि त्यसको निर्णय गर्ने अधिकार स्थानीय सरकारसँग नभएकाले केन्द्रमा सिफारिस गरिएपनि हाल सम्म कुनै टुङ्गो लागेको छैन । उल्टै सेनाले अहिले आफ्नो दाबी पेस गर्दै बोर्ड नै टाँसेपछि नगरपालिका झस्किएको छ । 

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले आफू निर्वाचित भएपछि बिभिन्न चरणमा उक्त जग्गाका बारेमा सेनासँग छलफल भएपनि टुङ्गोमा पुग्न बाँकी रहेको बताए । उनले स्थानीय स्तरमा आफूहरूले बिभिन्न विकल्पका बारेमा छलफल गरेपनि यसको टुङ्गो भने केन्द्र स्तरबाट मात्रै लाग्ने देखिएकाले काठमाडौंमा प्रधानमन्त्री लगायतसँग छलफल गरिरहेको बताए ।
उनले आइतबार प्रधानमन्त्री शेर बहादुर देउवासँगको भेटघाटमा बसपार्कको जग्गा नगरपालिकाकै मातहतमै राख्ने गरी प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री सकारात्मक रहेको बताए । उनले त्यसका लागि स्थानीय तहबाटै प्रक्रिया पुगाएर आउन भनेको बताए । 

उनले भने ‘अन्य पदाधिकारीसँग पनि छलफल गर्दा सेनाले सो ठाउँ छोडेर अरु ठाउँमा दिने कुरामा सहमति हुने संम्भावना बढेको छ । गिभ एण्ड टेक गर्ने सम्झौता हुन सक्छ ।’

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : १२ बजे

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी संगठनको संरचना र

सुत्केरीको मृत्यु भएपछि कर्णाली अस्पताल तनावग्रस्त 

सुर्खेत– सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको

बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन : नेप्से  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हालसम्म कसैलाई पनि बजार विश्लेषकको

इजरायलमा रहेका नागरिकलाई इजरायल छाड्न चीनको आग्रह

बेइजिङ– इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको

श्रीलंकामा अनुराले सत्ता सम्हाल्दै गर्दा पूर्वराष्ट्रपति राजापाक्षे नेपालमा

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै