विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज असार २१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलङ्का संकट कायमै, विद्यालय बन्दको घोषणा, आईएमएफसँग वार्ता जारी रहेको प्रधानमन्त्रीको भनाइ

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ ।श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि गन्धविहीन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ ।

गत हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । निराश मानिसहरूले केही गाडीहरूसँग लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।

निजी बस सञ्चालक सङ्गठनका अध्यक्ष गेमुनु विजेराट्नेले भने, ‘हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेको कूल २० हजार बसमध्ये देशभरि करिब एक हजार बसहरू सञ्चालन गरिरहेका थियौँ । भोलिको अवस्था पक्कै झनै बिग्रनेछ देखिएको छ, हामीसँग डिजेल पाउने कुनै उपाय छैन । ‘देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत् ब्लाकआउटको पनि सामना गरिरहेको छ । यसैबीच, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन् ।

आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा संसद्मा सम्बोधन गर्ने क्रममा आर्थिक सङ्कटको सामना गरिरहेको मुलुकको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री रनिलले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । ‘हाम्रो देशले यसअघि पनि धेरै पटक आईएमएफसँग वार्ता गरिसकेको छ। तर यस पटकको अवस्था विगतका ती सबै अवसरहरूभन्दा फरक रहेको’ उनले संसद्मा  बताए । ‘हामी अब आर्थिकरूपमा टाँट पल्टेको देशको रूपमा वार्तामा भाग लिइरहेका छौं । त्यसैले हामीले अघिल्लो वार्ताहरू भन्दा बढी कठिन र जटिल परिस्थितिको सामना गर्नुपरेको छ’ विक्रमासिङ्घेले भनेका छन् ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ जसले त्यहाँ खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ । विदेशी ऋण चुक्ताको कारणले गर्दा तीव्र विदेशी मुद्रा सङ्कटमा परेको देशले अप्रिलमा उसले यो वर्षको लागि २५ बिलियन अमेरिकी डलर २०२६ सम्म बाँकी रहेको लगभग ७ अर्ब अमेरिकी डलरको विदेशी ऋण चुक्ता स्थगन गरिरहेको छ । श्रीलङ्काको कुल विदेशी ऋण ५१ बिलियन अमेरिकी डलर रहेको छ ।

प्रधानमन्त्रीले कर्मचारीको स्तरमा सम्झौता भएपछि यसलाई स्वीकृतिका लागि आईएमएफको बोर्ड अफ डाइरेक्टरमा पेश गरिने प्रधानमन्त्रीले उल्लेख गरेका छन् । यति कठिनाइका बाबजुद पनि छलफल प्रभावकारी ढङ्गले टुङ्ग्याउन सफल भएको र कर्जाको पुनर्संरचना र दिगोपनसम्बन्धी योजना वित्तीय तथा कानुनी विज्ञ लाजार्ड र क्लिफर्ड चान्स, अन्तर्राष्ट्रिय कानुनी संस्थाले तयार पारेको उनले बताएका छन् ।

‘हामी यो प्रतिवेदन अगस्टसम्म आईएमएफलाई बुझाउने आशा गर्छौं’ उनले थपे। संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिङ्घेले योजना स्वीकृत भएपछि चार वर्षको अवधिका लागि बृहत् ऋण सहायता कार्यक्रम तयार गरिने बताएका छन् । ‘अहिले हामी त्यही बाटोमा लागेका छौं,’ उनले भने । उनले कर्मचारी तहको सम्झौता प्राप्त गरेपछि श्रीलङ्कालाई मुख्य ऋण दिने देश भारत, जापान र चीनसँग पनि ऋण सहायता सम्मेलन आयोजना गर्ने बताए ।

’हामीलाई ऋण सहायता प्रदान गर्ने मित्र राष्ट्रहरू भारत, चीन र जापानलाई एकै ठाउँमा ल्याएर दाता सहायता सम्मेलन आयोजना गर्नेछौं । हामी साझा सम्झौताबाट ऋण सहायता प्राप्त गर्न सक्ने प्रणाली बनाउने आशामा छौं,’ उनले थपेका छन् । आर्थिक सङ्कटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ । गत वर्षको तुलनामा पछिल्लो बाली लगाउने मौसममा खाद्यान्न उत्पादन ४०–५० प्रतिशतले कम थियो र हालको कृषि सिजन बीउ, मल, इन्धन र ऋणको अभावका कारण थप जोखिममा परेको छ ।

श्रीलङ्का खाद्य र कृषि संगठनद्वारा उल्लेख गरिएका केही राष्ट्रहरू मध्ये एक हो जुन यस वर्ष विश्वव्यापी खाद्य अभावको कारणले खाद्यान्नविहीन हुने अपेक्षा गरिएको छ ।

अमेरिकाको शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, सन्दिग्ध बन्दुकधारी प्रहरीको नियन्त्रणमा

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् ।एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए ।गोली चलेपछि सर्वसाधारण मानिस आतङ्कित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।बन्दुक हमलाबारे प्रहरीले एक संदिग्धलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको हो ।

हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ । इलिनोइ राज्को शिकागो शहरको हाइल्याण्ड पार्क उपनगरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । संदिग्धले उच्च क्षमताको राइफलले परेडमा सहभागीलाई गोली हानेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि मानिसको भागदौड हुँदा घटनास्थलमा झोला, जुत्तालगायतका सामाग्री यत्रतत्र छोडेको देखिन्छ । गोलाबारीमा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बारम्बार बन्दुक आक्रमण हुने अमेरिकामा शिकागो हमला पछिल्लो सामूहिक गोलाबारी हो । पछिल्लो हमलाबाट आफू स्तब्ध भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

युक्रेनमा जारी आक्रमणलाई जारी राख्न पुटिनको निर्देशन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न निर्देशन दिएका छन् । रुसी सेनाले सम्पूर्ण लुगान्स्क क्षेत्रलाई नियन्त्रणमा लिन अघि बढिरहेका बेला पुटिनको उक्त निर्देशन आएको हो ।पूर्वी युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको बीबीसीले खबर लेखेको छ । एक टेलिभिजन सन्देशमा उनले आफ्ना योजना अनुसार लक्ष्य पछ्याउन निर्देशन दिएका हुन् ।

उनले लक्ष्य प्राप्त गर्ने मोर्चामा अघि बढ्न भनेका छन् । ‘पूर्वी समूह र पश्चिम समूहलगायत सैन्य एकाइहरूले पहिले स्वीकृत योजनाअनुसार आफ्नो कार्य पूरा गर्नुपर्छ’, युक्रेनमा रुसले चाल्नुपर्ने आगामी कदमबारे पुटिनले रक्षामन्त्री सोइगुलाई भने । युक्रेनको लिसेचान्स्कमा कब्जा गरिसकेपछि पनि रुस अगाडि बढेको हो । पुटिनले अगाडि थपे, ‘मलाई आशा छ कि सबै कुरा उनीहरूको दिशामा जारी रहनेछ, जुन लुगान्स्कमा भएको छ ।’

सोइगुले पुटिनलाई यस साताको अन्त्यमा रुसी सेनाले लुगान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिएको बताएका थिए । लुगान्स्क क्षेत्रलाई नियन्त्रण क्रेमलिनको लागि ठूलो विजय भएको जनाइएको छ । पुटिनले सोमबार लुगान्स्क अभियानमा भाग लिएका सेनाले आराम र आफ्नो लडाइ क्षमता पुनविकसित गर्नुपर्ने सुझाव दिएका थिए ।  उता युक्रेनले लिसेचान्स्क सहर गुमेपछि त्यसको पश्चिमतर्फ रुसी सेनालाई अगाडि बढ्न नदिने रणनीति अख्तियार गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने दाबी गरेका छन् ।

दक्षिण सुडानका लागि राष्ट्रसंघीय निकायद्वारा मानवीय सहायताको अपिल

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी परेको भन्दै सोका लागि अपिल गरेको हो ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गरेको समाचारमा जनाइएको छ । अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकाले तत्कालका लागि यो रकम आवश्यक परेको उनको भनाइ छ ।‘हामीले यो सहयोग रकम विश्वसँग नै अपेक्षा गरेका छौँ, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रुपमा तत्कालै यो रकमको आवश्यकता परेको छ ।’ उनले भने।

‘अन्य सहायताका अतिरिक्त अहिले नै यहाँका महिला तथा बालबालिकालाई खाद्यान्नको आवश्यकता छ र उनीहरूलाई अझ बढी त पोषणको पनि जरुरत रहेको छ।’ उनले भने । आवश्यक पोषण र खाद्यान्नको अभावमा यहाँका बालबालिका कुपोषणको शिकार भइरहेका र कतिपय स्थानका नागरिकले खाद्यान्न र औषधिजस्तो आधारभूत आवश्यकता नै पाउन नसकेका भन्दै यसअघिदेखि नै संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि सहायताको जरुरत परेको बताउँदै आएको थियो ।

भारतमा पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मङ्गलबार छैटौँ दिनमा प्रवेश गरेको छ । यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् ।

गत हप्ता मणिपुरको नोने जिल्लास्थित टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो । यसक्रममा त्यहाँ एक महत्वपूर्ण रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारी मृत्यु भएको थियो ।

राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्यका ४०० भन्दाबढी कर्मचारी उद्धारकार्यमा संलग्न रहेको अधिकारीले बताएका छन् । पहिरोले तामेङलङनोनी जिल्लाबाट बग्ने खोला पूर्णरुपमा अवरुद्ध भएको छ ।

अष्ट्रेलियामा बाढी रोकिएन, हजारौँ प्रभावित

अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । 

पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा एकैपटक भएको जनाइएको छ । वर्षाका कारण सडक अवरुद्ध भएको र केही घरहरू पानीमा डुबेको अधिकारीले जनाएका छन् । यसबाहेक सो क्षेत्रका हजारौं मानिस विद्युतविहीन बनेका छन् । यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश न्यु साउद वेल्सका बासिन्दा रहेका छन् ।

इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा १५ जना माझी बेपत्ता

इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना माझी बेपत्ता भएका छन् । डुंगा डुब्दा ती बेपत्ता भएका माझीहरूको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन् ।बेपत्ताको खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका हुन् ।

उनका अनुसार खराब मौसम तथा हावाहुरीका कारण त्यहाँको आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो । उक्त डुंगा दुर्घटनापछि यसका रहेका माझीमध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार सो डुङ्गामा कम्तीमा पनि २५ जना नागरिक रहेका थिए ।

तीमध्ये १० जनाको सकुशल उद्धार गरिएको थियो भने अरु १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरु जिवीतै भेटिने सम्भावना भने अब नरहेको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ०७ बजे

गाजा युद्धविराम वार्ताबारे कतारद्वारा ट्रम्पका प्रतिनिधिलाई जानकारी

दोहा – इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ

 काठमाडौं – नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन

 आजका समाचार : सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको टिप्पणी, वामपन्थी शक्ति एकीकृत गर्ने प्रयास, लस एन्जलसमा कर्फ्यु  

राप्रपाको चियापनमा प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको

वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

‘भूमिहीनका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ’

जनकपुरधाम– सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको