यसकारण धराशायी बन्दैछ नेपाली सिनेमाको भविष्य | Khabarhub Khabarhub

सिनेमा

यसकारण धराशायी बन्दैछ नेपाली सिनेमाको भविष्य


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीपछि सिनेमा विश्लेषकहरूले अब सिनेमा हलको युग सकिने र ओटीटी प्लेटफर्मको युग शुरु हुने विश्लेषण गरेका थिए । तर, उनीहरूको विश्लेषण गलत साबित भएको छ ।

महामारीका बेला विश्वका सिनेमा घरहरू पूर्ण रूपमा बन्द गरिए । हल सञ्चालकहरू लामो समय महामारीको चपेटामा परे । यो बीचमा ओटीटी प्लेटफर्मबीच कडा प्रतिस्पर्धा भयो । लगानीकर्ताले ओटीटीमा लगानी बढाउन थाले भने हल नै सञ्चालनमा नआएपछि सिनेमा हेर्ने दर्शक पनि ओटीटीतर्फ स्वभाविक रुपमा आकर्षित भए ।

नेटफिल्क्स, अमेजन प्राइम, डिज्ने प्लस लगायतका अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मले विश्वभर लोकप्रियता कमाए । महामारीको युग अन्त्य भएसँगै हल पुनः सञ्चालनमा आएका छन् । दर्शकले फेरि पहिलेजस्तै हलमै पुगेर सिनेमा हेर्न थालेका छन् भने मत्थर भएको सिनेमा निर्माण प्रक्रिया पनि पहिलेकै रफ्तारमा चलिरहेको छ ।

नेपालको कुरा गर्ने हो भने कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएका कैयन् सिनेमाहरू अब प्रदर्शनको मिति तय गरेर पालो कुरेर बसेका छन् । प्रतीक्षित भनिएका सिनेमाहरू प्रदर्शनको तयारीमा छन् भने केही सिनेमा प्रदर्शन भइसकेका छन् ।

तर, निर्माण भइरहेका सिनेमाहरू सफल हुन्छन् भनेर अहिल्यै नै आँकलन गर्न सकिने अवस्था भने छैन । किनकि, खस्किँदै गएको नेपाली सिनेमाको घरेलु बजारलाई विदेशी सिनेमाको क्रेजले माथि उठ्न दिएको छैन ।

ओटीटी प्लेटफर्ममा दिमाग हल्लाउने विदेशी सिनेमा र वेब सिरिज हेरेका दर्शकले नेपाली सिनेमा पनि माथिल्लो स्तरका बनून् भन्ने अपेक्षा गरेका छन् तर मेकरले उनीहरूको अपेक्षा पूरा गरिदिन सकेका छैनन् । बरु मोनोटोनस बनाउने सिनेमा निर्माण गरेर सस्तो प्रचारबाजी गरिरहेका छन् ।

न त नेपाली सिनेमाको मेकिङ दमदार छ । न त नेपालमा कुनै त्यस्ता सिनेकर्मी छन्, जसले दर्शकको अपेक्षालाई पूर्ति गर्न सकून् । आशा गरिएका सिनेकर्मीहरू बरु बजार सुधारको प्रतीक्षामा छन् ।

नेपाली सिनेकर्मी तर्सिरहेका बेला विदेशी सिनेमाले भने नेपालका हलहरूबाट करोडौं रुपैयाँ बराबरको व्यापार गरिरहेका छन् । यो बीचमा रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४’ ले भने व्यापारमा तहल्का मच्चाएको रेकर्ड छ । बुद्ध धर्मलाई गलत प्रचार गरेको भन्दै गरिएको विरोधका बावजूद यो सिनेमाले २१ करोडको ग्रस कलेक्सन गरेको निर्माताको दाबी छ ।

यो सिनेमाले यति धेरै कमाइ गर्नुको कारण सिनेमा मात्र उत्कृष्ट भएर होइन । सिनेमाका अन्य सिरिजको क्रेज र कमेडी जनराका कारणले पनि यो सिनेमा हेर्न दर्शकहरू हलसम्म ओइरिएका थिए ।

लकडाउनपछि प्रदर्शनमा आएका अन्य सिनेमाहरू भने औसत व्यापारमै खुम्चिएका छन् । समीक्षकले ‘स्तरीय’ भनेर ट्याग दिएका सिनेमाहरू पनि दर्शकको रोजाइमा परेका छैनन् । बरु विदेशी सिनेमाको वर्चस्व दिनानुदिन बढ्दो छ । आखिर किन नेपाली सिनेमाले दर्शकको साथ पाउन सकेनन् र विदेशी सिनेमाले नेपालको पूर्ण बजार खोस्दैछन् भन्नेबारे व्यापक बहस आवश्यक छ ।

नेपाली समीक्षकहरू भन्छन्– सिनेमा समाजको ऐना हो । र, सिनेमाले हाम्रा आफ्ना कथाहरू बोल्न सक्नुपर्छ ।

उनीहरू भारतीय सिनेमा निर्माता रोहित सेट्टीका सिनेमालाई बरु राम्रो छ भन्छन् तर धुमधकडले भरिपूर्ण नेपाली सिनेमालाई ‘विना लोजिक’ निर्माण गरिएको भनेर धुनधान पार्छन् । उनीहरू लोजिक खोज्छन् ।

तर, पछिल्लो विश्वको सिनेमा बजारलाई हेर्ने हो भने लार्जर देन लाइफ (वास्तविकताभन्दा माथि रहेर निर्माण गरिएका) सिनेमाले विश्व बजारमा धमाका मच्चाएका छन् । यही ‘लार्जर देन लाइफ’ को अभ्यासले दक्षिण भारतीय सिनेमाले भारतको केन्द्रीय सिनेमा (बलिउड) बजारसँग नराम्ररी टक्कर लिइरहेको छ ।

हालै प्रदर्शनमा आएका दक्षिण भारतीय सिनेमा ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’ ले आश्चर्यजनक हिसाबले सिनेमा बजारलाई तरंगित बनाएका छन् । नेपालमा पनि यी सिनेमाले भारी क्रेज बनाए । कोरोना महामारीले ग्रसित सिनेमा बजारलाई यिनै सिनेमाले एकाएक माथि उठाएका थिए भने नेपाली बजारबाट करोडौंको व्यापार गरेका थिए ।

नेपालमा दक्षिण भारतीय स्टार अल्लु अर्जुनको ‘पुष्पा’ रिलिज हुँदा मेकरहरू आफ्ना सिनेमा प्रदर्शन गर्न त्रसिरहेका थिए ।

बलिउडमा समेत दिगो छाप छोडेका यी सिनेमा सुपरहिट हुनुको पछाडि ‘लार्जर देन लाइफ’ को क्यानभासलाई मान्न सकिन्छ । यी बाहेक अन्य दक्षिण भारतीय सिनेमा पनि नेपालमा प्रदर्शनमा आए । त्यसपछि पछिल्लोपटक प्रदर्शनमा आएको कमल हासनको एक्सन थ्रीलर सिनेमा ‘विक्रम’ ले पनि दर्शकको मन जित्यो ।

यी सबै सिनेमामा एउटा समानता के छ भने, सिनेमाको नायक निकै बलियो छ । मानौँ, उसले भगवानको वरदान पाएको छ । र, आफ्ना दुष्मनहरूसँग ऊ एक्लै लड्न काफी छ ।

भारतमा मात्र होइन, यस्ता सिनेमा निर्माणमा हलिउड पनि एक कदम अगाडि छ । नेपालमा प्रदर्शन हुने हलिउड सिनेमाहरूमा मार्भल सिनेम्याटिक युनिभर्स, डिसीका सिनेमाहरूलाई पनि दर्शकले रुचाएका छन् । यी सिनेमामा कुनै एक हिरोसँग सुपरपावर हुन्छ ।  पृथ्वीमा हुने ठूलो जोखिमलाई ती हिरोहरूले ज्यानको बाजी लगाएर पार लगाउँछन् ।

यस्ता सिनेमाको बजार बढ्दै गइरहेका बेला नेपाली सिनेमा भने जतिसक्यो ‘अर्गानिक’ सिनेमा बनाउनुपर्छ भनेर बहस उत्पन्न हुने गर्छ । सबै खाले सिनेमा निर्माण गरिएनन् भने सिनेमा बजार नै धराशायी बन्दै जान्छ भन्ने यो गतिलो उदाहरण हो ।

नेपाली सिनेमा स्तरीय बन्न सकेनन् भनेर बहस शुरु भइरहँदा निर्माताहरू नेपालमा ठूलो बजेटको सिनेमा निर्माण गर्न बजार छैन भनेर तर्किने गर्छन् । तर, विदेशी सिनेमाले दशौँ करोडको नाफा कमाउँछन् । एकाध सिनेमाले राम्रो कमाइ गर्‍यो भने त्यही प्यार्टनका सिनेमा निर्माणको खडेरी लाग्ने अर्को समस्या पनि नेपाली सिनेमेकरको छ ।

यसवर्ष नेपालमै सर्वाधिक बढी कमाइ गरेर इतिहास रचेको दाबी गरिएको सिनेमा ‘कबड्डी ४’ कमेडी जनरामा निर्माण गरिएको थियो । अब यही जनरामा सिनेमा निर्माण गर्न मेकरको ओइरो लाग्छ । यसअघि रामबाबु गुरुङको ‘कबड्डी’ हिट भएपछि कमेडी जनरामा (अझ हेरिसकेको सिनेमाजस्तो लाग्ने सिनेमा) निर्माण गर्नेको ओइरो लाग्यो । तीमध्ये एकदमै कम सिनेमा मात्र व्यावसायिक रुपमा सफल रहे ।

नेपालमा निर्देशकले व्यावसायिक सिनेमा निर्देशन त गर्छन् तर त्यो सिनेमामा प्राण भरिदिन सक्दैनन् । सिनेमाको पटकथा, संवाददेखि हरेक प्लटमा समस्या हुन्छ । त्यही समस्याले सिनेमा त बन्छन् तर राम्रा सिनेमा बन्न सक्दैनन् ।

यसरी भनौँ, नेपालमा मेकरले बनाउँदैनन् । सिकारूले बनाउँछन् ।

नेपाली सिनेमाको बजार सानो छ भनेर तर्किने निर्देशकले पनि के बुझ्नुपर्छ भने स्क्रिप्ट गतिला नभएका सिनेमाहरू अहिले भारतमा पनि असफल भइरहेका छन् । जबकि, भारतीय सिनेमाले विश्व बजारमा आफूलाई पुर्‍याइसकेका छन् ।

एमके ग्लोबल फाइनान्सियल सर्भिसको एक रिपोर्ट अनुसार बलिउडमा पहिले कमजोर स्क्रिप्ट भएका सिनेमा पनि ठूला स्टारको स्टारडमका कारण हलसम्म दर्शक तान्थे । तर, अहिले दर्शकहरू निकै बाठा भइरहेका छन् । उनीहरूले सिनेमाको कन्टेन्टमा ध्यान दिइरहेका छन् ।

त्यसो त नेपालमा ‘कन्टेन्ट’मा आधारित सिनेमाहरू बन्दै नबनेका होइनन् । हालै प्रदर्शनमा आएको सिनेमा ‘पानीफोटो’ र ‘दोख’ लाई  कन्टेन्टका आधारमा स्तरीय सिनेमाका रुपमा अपेक्षा गरिएको थियो । सिनेमाले समीक्षात्मक प्रतिक्रिया त पायो तर व्यापारिक सफलता हात पार्न सकेन ।

धेरै दर्शकको बुझाइमा यो सिनेमाले दर्शकलाई ‘फिल’ दिन सकेन ।

अर्को कुरा मेकरले के बुझ्न आवश्यक भइसकेको छ भने अब रोनाधोना गरेर हलमा दर्शक ल्याउन सकिँदैन । त्यो जमाना गइसकेको छ । अब नायिकाहरू रोएर, नक्कली फ्यानहरू खडा गरी उनीहरूलाई पनि रुवाएर सिनेमा चल्दैन ।

अब सिनेमा चल्न सबै पक्षबाट सिनेमा नै उत्कृष्ट बन्नुपर्छ ।

इन्टरनेटले दुनियाँ यति छोटो बनाइसकेको छ कि, हरेक भाषाका सिनेमा दर्शकले आफ्नै मोबाइल या कम्युटरको स्क्रिनमा सहजै हेर्न पाउँछन् । यस्तो सुविधाका बेला कसले टाउको दुखाएर नेपाली सिनेमा हेर्ने झण्झट गर्छ ?

नेपाली मेकरले अझै केही वर्ष यस्तै खालका सिनेमा मात्र निर्माण गरे भने सिनेमाको भविष्य योभन्दा पनि दयनीय हुन्छ । किनकि, कुनैबेला नेपाली सिनेमालाई बलिउडको मात्र ‘थ्रेट’ थियो । तर, अब भने दक्षिण भारतीय सिनेमा र हलिउड सिनेमातर्फ पनि नेपाली दर्शक आकर्षित भएका छन् ।

राम्रो मेकर भनेर चिनिएका दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘चिसो मान्छे’ हालै प्रदर्शन गरियो । यो सिनेमाले पनि व्यावसायिक सफलता हात पार्न सकेन । उनीजस्तै अलिक चिनिएका निर्देशक अनुप बराल, निश्चल बस्नेत, रामबाबु गुरुङ, प्रदीप भट्टराई, विनोद पौड्याल, साम्तेन भुटिया, दिनेश राउत लगायतले कमै सिनेमा निर्देशन गरिरहेका छन् ।

समीक्षकले मन पराएका अर्काथरी निर्देशकहरू मीनबहादुर भाम, नवीन सुब्बा, दीपक रौनियार लगायतले फेस्टिभलका लागि मात्र सिनेमा बनाइरहेका छन् ।

एकातिर दर्शकले विशुद्ध लभस्टोरी, स्वैर काल्पनिक, सस्पेन्स थ्रीलर र एक्सन सिनेमाको अपेक्षा गरेका छन् भने अर्कातिर मेकरले विना तयारी निर्माण गरिएका टिभी सिरियलजस्ता सिनेमा निर्माण गरिरहेका छन् ।

दर्शकको रोजाइ निर्देशकको रोजाइभित्र मतभिन्नता हुँदा नेपाली सिनेमाहरूको भविष्य निरश छ । शक्तिशाली हिरोका सिनेमाले बजार विस्तार गरिरहेका बेला हामी भने समाजका कमजोर पात्रका मात्र सिनेमा बनाउनुपर्छ भन्ने भाष्यमा अल्झिएका छौँ ।

विदेशी सिनेमाहरूले उडान भरिरहँदा नेपाली सिनेमा भने उस्तै कथा खोतलेर बामे सर्न प्रयासरत छ ।

अबको एक दशकमा नेपाली सिनेमामा भारी सुधार हुनेछ भन्ने त अपेक्षा गर्न सकिन्न तर यस्तै अवस्था सिर्जना भइरह्यो भने भोलिका दिनमा घरेलु हलमा नेपाली सिनेमाले भन्दा विदेशी सिनेमाले करोडौँको व्यापार गर्ने निश्चित छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ३९ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको