काठमाडौँ- भारतीय उद्योगपति गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्तिको सूचीमा दरिएका छन् । धनाढ्यहरुको विश्वव्यापी सूचीमा भने उनी तेस्रो स्थानमा छन् । बेलायती अखबार द गार्जियनका अनुसार उनको स्वामित्वमा रहेका कम्पनीको मूल्य बढेसँगै यस वर्षमात्र उनको सम्पत्तिमा ६१ अर्ब अमेरिकी डलर थपिएको छ ।
उनको स्वामित्वमा प्रायः प्राकृतिक ग्यास, कोइला खानी, विद्युत् उत्पादनजस्ता ऊर्जासम्बन्धी कम्पनीहरु रहेका छन् । यस वर्ष ऊर्जाको मूल्य अकाशिएका कारण उनको सम्पत्तिमा बढोत्तरी भएको जनाइएको छ ।
उनले फ्रान्सेली धनाढ्य एवम् लुई भुतोँका स्वामी लुई बर्नार आर्नोलाई पछि पार्दै विश्वकै तेस्रो धनाढ्य बन्न सफल भएका हुन् । द गार्जियनका अनुसार आर्नोको सम्पत्ति यो वर्ष १ खर्ब ३६ अर्ब अमेरिकी डलरबाट केबल ४२ अर्ब डलरमा खुम्चेको छ ।
रोचक कुरा त के छ भने यो वर्ष अडानीबाहेक धनाढ्यको सूचीको शीर्ष १० मा रहेका सबैको सम्पत्ति घटेको पाइएको छ। हाल धनाढ्यको सूचीमा अडानअघि टेस्ला कम्पनीका मालिक इलोन मस्क र अमेजन कम्पनीका मालिक जेफ बेजोसमात्रै रहेका छन् ।
मस्कसँग २ खर्ब ५१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ भने जेफ बेजोससँग १ खर्ब ५३ अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको छ। एसियाकै धनाढ्य बन्न उनले गरेको संघर्ष पनि उत्तिकै चाखलाग्दो छ ।
अहमदावादमा जन्मेका अडानीको धनी यात्रा
सन् १९६२ मा अहमदावाद सहरमा उनको जन्म सामान्य परिवारमा भएको थियो । त्यसबेला उनका पिताको सानो कपडा पसल रहेको बताइन्छ । पछि अडानी अहमदावादबाट मुम्बई पुगेका थिए । तर उनी मुम्बईमा टिक्न सकेनन् । अहमदावाद नै फर्के ।
अहमदावाद फर्केका बेला उनका दाजुले प्लास्टिक कारखाना खोल्ने तयारीमा रहेका थिए । अडानी पनि त्यसैमा जोडिन पुगे । पछि सन् १९८८ मा उनले ‘अडानी इन्टरप्राइजेज’ नामक कम्पनी खोलेका थिए । हाल यो कम्पनी भारतकै सबैभन्दा महत्पूर्ण व्यापारिक समूह बन्न सफल भएको छ ।
पछि सन् १९९५ मा उनको समूहले मुन्द्रा बन्दरगाह सञ्चालन थालेको थियो । हाल उनको समूहले भारतका विभिन्न ७ राज्यका १३ आन्तरिक बन्दरगाह सञ्चालन गर्दै आएको छ । इण्डियन एक्सप्रेसका अनुसार हाल उनको समूहले भारतको एक चौथाइ कार्गोको आन्तरिक पारवहन गर्दै आएको छ ।
सन् १९९९ मा यो समूहले खनिज ऊर्जाको क्षेत्रमा पनि प्रवेश गर्दै कोइलाको व्यापार सुरु गरेको थियो । हाल आएर उनको समूह भारतको सबैभन्दा ठूलो कोइला आपूर्तिकर्ता बन्न सफल भएको छ भने इण्डोनेशियाबाट भारततर्फ कोइला आयात गर्ने सबैभन्दा ठूलो आयातकर्ता बन्न पुगेको छ ।
सन् २००१ मा यो समूह ग्यासको व्यापारमा पनि प्रवेश गरेको थियो । उनको समूहले उनको गृहनगर अहमदावाद, फरिदावाद, बडोदरा, खुर्जालगायतका सहरमा ग्यास आपूर्ति गर्ने जिम्मा पाएको थियो ।
हाल अडानी समूह र भारतीय आयल निगमको संयुक्त पहलमा अल्लाहवाद, चण्डिगढ, एर्नाकुलम, पानीपतजस्ता सहरमा ग्यासको आपूर्ति गर्दै आएको छ । सन् २०१७ मा उनको कम्पनीले सौर्य ऊर्जाको लागि आवश्यक पीभी प्यानलको उत्पादन थालेको थियो ।
यसबाहेक अडानीको समूहले अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा कारमाइकल नाम गरेको विशाल कोइला खानी पनि सञ्चालन गर्दै आएको छ । यस कोइलाखानीले पूर्वी अष्ट्रेलियाका तटपारी समुद्रमुनी रहेको ग्रेट ब्यारियर रिफ भनिने मुँगाको थुप्रोमा समेत नकारात्मक पर्यावरणीय प्रभाव पार्ने भन्दै आलोचना समेत हुँदै आएको छ ।
स्विडेनकी वातावरण अभियान्ता ग्रेटा थुनवर्गले समेत यस कोइला खानीको विरोध गर्दै आएकी छिन् । गत वर्षमात्रै यसले हरित ऊर्जामा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने बाचा गरेको थियो ।
मोदीको कृपाले विश्वकै धनाढ्य
केही आलोचक भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको निकट सम्बन्धका कारण उनले लाभ लिइरहेको समेत बताउने गरेका छन् । हुन पनि सन् २०१८ मा मोदीले भारतमा आर्थिक उदारीकरणसँगै ६ वटा विमानस्थलको निजीकरण गर्ने घोषणा गर्दा अडानीले सबै विमानस्थल सञ्चालनको जिम्मेवारी लिएका थिए । यससँगै उनी भारतको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक समेत बन्न पुगे ।
दक्षिण भारतीय राज्यका केरलाका अर्थमन्त्री थोमस आइज्याक भने यसलाई ‘कृपावादको नूमना’ का रुपमा व्याख्या गर्छन् । सन् २०१४ मा मोदीले चुनाव जित्दा अडानीले उनलाई आफ्नो निजी विमान प्रयोग गर्न दिएको बताइन्छ ।
सन् २०१४ मा मोदी प्रधानमन्त्रीमा निर्वाचित हुने बेला अडानीको सम्पत्ति केबल ८ अर्ब अमेरिकी डलर रहेको थियो । त्यसयता उनको सम्पत्तिमा १६०० प्रतिशतको वृद्धि भएको छ । आफ्नो वेबसाइटमा अडानीले आफूलाई ‘राष्ट्र निर्माणको भिजनबाट भलाइसँगै वृद्धिको आधारभूत दर्शनबाट चलेको पहिलो पुस्ताको उद्यामी’ को रुपमा व्याख्या गरेका छन् ।
अडानीका लागि राष्ट्र निर्माण भनेको बन्दोबस्तीको केन्द्र एवम् बन्दरगाहको निर्माण गरी भारतीय तटलाई परिवर्तन गर्नु हो’ त्यहाँ लेखिएको छ, ‘उनका लागि राष्ट्र निर्माण भनेको मुलुकको ऊर्जा सुरक्षा र भारतको ग्रामीण क्षेत्रमा रहेका दशौँ करोड मानिसलाई विद्युत आपूर्ति गरी गाउँ र सहरबीचको अन्तर घटाउने पनि हो ।’
‘अडानीका लागि राष्ट्र निर्माणमा कृषकको सशक्तिकरण र आधुनिक आपूर्तिचक्रको निर्माण गरी खाद्य सुरक्षा बढाउनु पनि पर्छ ।’ अडानीको वेबसाइटमा लेखिएको छ, ‘उनका हरेक औद्योगिक अभियानले दशौँ हजार रोजगारी सिर्जना गरेको छ ।’
प्रतिक्रिया