काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न समुदायलाई हुने अत्याचारको विरुद्ध पार्टीले शसक्त रुपमा आवाज उठाउने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्यप्रणालीमा देखिएका विकृतिविरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपङ्क्तिमा उभिने बताएका हुन् । उनले महिला हिंसा अन्त्य, गरिबीमा रहेका समुदाय, अल्पसंख्यक लगायतका विषयमा पार्टीको विशेष ध्यान जाने जिकिर गरे ।
अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलित गर्न सक्नुपर्ने धारणा राखे । उनले वास्तविक कम्युनिष्ट बिचार बोकेर हिड्ने आफ्नो मात्रै पार्टी भएको दाबी गरे ।
त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई रूपान्तरण गर्न सबै दृढ भएर लाग्नुपर्ने बताए । उनले अनुभव र क्षमताका आधारमा पार्टीमा आएका व्यक्तिहरूलाई सम्मानजनक स्थान दिइने धारणा राखे ।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेता रणबहादुर रम्तेललाई एकीकृत समाजवादीमा प्रवेश गराइएको थियो ।
प्रतिक्रिया