शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा « Khabarhub

शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा

‘अंकुरित जौ सम्पुर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो’



काठमाडौँ : आज टीका, दसैंंको मुख्य दिन । परिवारका ज्येष्ठ सदस्यवाट टीका जमरा र आशीर्वाद लिनु दसैंको मुख्य विशेषता मानिन्छ । सामान्यतया, वर्षभरि विभिन्न कामले देश विदेशमा रहे पनि दसैंमा भने घरमा भेला भई मिठो परिकार खाने र आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ ।

गाउँमा आफन्तजनको बाक्लो उपस्थिति भइसकेको छ । कोशेली लिएर आफन्तकोमा जानेको पनि लर्को लागेको देख्न सकिन्छ । पहिलेको बर्ष कोरोनाको कारण चहलपहल कम भए पनि यो बर्ष कोरोना महामारी नभएकाले पनि चहलपहल बढेको छ ।

टीकाको महत्व
दशैंमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टिका थापिन्छ । यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ ।

यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ। टिका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।

यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ ।

यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने बिश्वास गरिन्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ। टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको दशैं चाडको अन्त्य हुन्छ ।

दशैंमा जमराको महत्व
दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ । मन्त्र छ।अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।

धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।

वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ । गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ ।

चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पुर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो ।

भारतीय चिकित्सकहरुले पनि जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई सांकेतिक रुपमा विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : ४० बजे

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो

काठमाडौँ– पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी

बालिकाका लागि आत्मरक्षा तालिम

काठमाडौँ- महिला हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा बालिकाका

नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान

काठमाडौँ- गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता

कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष

प्राधिकरणले सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्ने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत्