काठमाडौँ– सन् १९९६ को अफ्रिकी नेसन्स कप फुटबल अन्यत्र नै तय भएको थियो । प्रतियोगिताको १४ महिना अगाडी पूर्व निर्धारित आयोजक राष्ट्र केन्याले हात झिके पछि सन् १९९४ को नोभेम्बरमा अफ्रिकी फुटबल महासङ्घले अर्को आयोजक देशको खोजी सुरु गरेको हो ।
केन्याले सुरुवातमा अनुमान गरेभन्दा ६ गुणा बढी खर्च लाग्ने जनाउँदै हात झिकेको हो । त्यसै वर्षको अप्रिलमा दक्षिण अफ्रिकामा भएको पहिलो प्रजातान्त्रिक निर्वाचनबाट नेल्सन मन्डेला राष्ट्रपति चुनिएका थिए ।
त्यस समयमा दक्षिण अफ्रिकाको फुटबल टोली लामो समयको प्रतिबन्धबाट फुकुवा हुँदै भर्खर अन्तर्राष्ट्रिय खेलकुदमा पाइला टेकेको थियो । सन् १९९१ पछि मात्र दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय खेल क्षेत्रले स्वीकार गर्न थालेको हो ।
यसपछि दक्षिण अफ्रिकाले आयोजनाको अवसर त पायो । परन्तु, उनीहरूले जित हात पार्ने सम्भावना कमै देखिएको थियो । प्रतिबन्ध फुकुवा भए पछिको सुरुवाती खेलमा त दक्षिण अफ्रिका यत्ति धरै कमजोर थियो, कि आफ्नै देशको राष्ट्रिय टोलीको खेल हेरेर धेरै पटक फुटबल महासङ्घका महासचिव सोलोमेन मोरेवाको आँखाबाट आँसु नै झरेको थियो ।
अफ्रिकी नेसन्स कप भने फरक ढङ्गको देखियो । लामो समयको असहज राजनीतिक वातावरणलाई पार गर्दै सन् ९० को दशकको सुरुवातमा परिवर्तनको बाटोमा देखिएको दक्षिण अफ्रिकाले आफूलाई एक पछि अर्को क्षेत्रमा सुधार गरी रहेको थियो ।
सुरुवाती दिनमा त्यहाँको अवस्था त कमजोर थियो । परन्तु, ठुलो उमंग र जागरले उत्प्रेरित दक्षिण अफ्रिकीले प्रत्येक दिन आफूलाई सुधार गरी रहेका थिए । यसैको प्रतिफल थियो, सन् १९९५ मा दक्षिण अफ्रिकाले जितेको रग्बी विश्वकपको उपाधि ।
यो विश्वकप भन्दा बढी प्रभाव एक वर्षपछि भएको क्षेत्रीय फुटबल च्याम्पियनसिपमा प्राप्त सफलता थियो । १९९६ को १३ जनवरीमा दक्षिण अफ्रिकाले क्यामरुनको सामना गरेको थियो । क्यामरुन त्यही देश हो, जसले सन् १९९० को विश्वकपमा क्वार्टरफाइनलको यात्रा गरेर सनसनी फैलाएको थियो । त्यत्ति मात्र होइन, क्यामरुनले त्यसै विश्वकपमा साबिक विजेता अर्जेन्टिनालाई पनि हराएको थियो । सन् १९९४ मा भएको पछिल्लो विश्वकप फुटबलमा पनि क्यामरुनले सुरुवाती खेलमा नै बलियो टोली स्विडेनसँग बराबरी गरेको थियो ।
श्वेता शहरको बाहिरी भागमा रहेको सकर सिटी रङ्गशालामा क्यामरुनसँग दक्षिण अफ्रिकाको पहिलो खेल भएको हो । श्वेता त्यही ऐतिहासिक शहर हो, जहाँ २० वर्ष अगाडी हजारौँ विद्यार्थीहरूले अल्पसङ्ख्यक श्वेत शासकको विरुद्धमा प्रदर्शन गरेका थिए ।
त्यस खेललाई केही दक्षिण अफ्रिकीले सधैँ सम्झने गरेका छन् । ३० औ जन्म दिनको नजिक पुगे पछि सन् १९९२ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका रक्षक नेल टेभोइ ३३ वर्ष भईसकेका थिए । उनको त्यो पहिलो ‘मल्टी रेसीकल’को राष्ट्रिय टोलीको खेल थियो ।
उनकै विचारमा खेलाडी र समर्थक कसैलाई पनि अन्तर्राष्ट्रिय खेलको त्यत्ति धेरै अनुभव थिएन । यसका बाबजुद त्यस टोलीका हरेक खेलाडी मैदानमा मस्त रमाएका थिए ।
‘मादिवा’ उपनाम पाएका उनीहरूकै आदर्श पुरुष नेल्सन मन्डेलाले खेल अगाडी प्रत्येक पटक राष्ट्रिय टोलीको भ्रमण गरेका थिए । त्यस टोलीका खेलाडी लुकास रेडेबे त मन्डेलाको हरेक भेटले बल प्रदान गरे झैँ महसुस हुने गरेको बताउँछन् ।
‘हामी हुर्की रहँदा उनको अनुहार कस्तो थियो भन्ने पनि थाहा पाएका थिएनौ’ रेडेबे भन्छन्, ‘हामीले उनको युवा अवस्थाको फोटो मात्र देखेका थियौ । क्याम्पमा एक्कासि देख्दा त अचम्म लाग्यो । हामीलाई यस्तो प्रेरणा मिलेको थियो की, सायद त्यस दिन हाम्रो बाटोमा ब्राजिल नै भएको भए पनि हराउन सक्थ्यौ होला ।’
राष्ट्रिय टोलीलाई अभिप्रेरित गर्ने मन्डेलाको स्टाइल नै भिन्न थियो । सन् १९९४ को १० मे बाट यस प्रचलनको सुरुवात भएको हो । मन्डेला राष्ट्रपति भई सके पछिको दक्षिण अफ्रिकाको पहिलो खेल जाम्बियासँग भएको थियो।
इङ्गल्यान्डबाट प्रतियोगिता स्थलमा आइ पुगेको २४ घण्टा पनि नबित्दै मैदानमा उत्रेका फील मासिन्गाले पहिलो गोल गरेको खेलमा दक्षिण अफ्रिका ३–० ले विजयी भएको हो । चार्लटनका पूर्व स्ट्राइकर साउन बार्लेटका अनुसार दक्षिण अफ्रिका समूह चरण पार गरेर क्वार्टर फाइनलमा प्रवेश गर्दा ‘मादिवा ब्याइज’ को रूपमा चिनिन थालेका थिए ।
‘हरेक पटक जब मादिवाले हात मिलाउँथे, हामीले केही पाइ रहेको महसुस हुन्थ्यो’ बार्लोटले भने, ‘हामीलाई हरेक दिन साढे चार बजे उठ्नै पर्ने रुटिन थियो । किनकि उहाँको जेलमा रहेको समय देखि नै त्यसै समयमा उठेर मर्नीङ वाक या शारीरिक अभ्यासको चलन थियो । यस कारण त्यस रुटिन अनुसार हामी पनि ५ बजेका लागि तयार हुन आवश्यक थियो । ’
दक्षिण अफ्रिकी टोलीका लागि सबै भन्दा धेरै २९ खेल खेलेका टोभे कै अनुसार दक्षिण अफ्रिकी टोली पूर्ण भए पनि एउटा यस्तो शक्तिको खोजीमा थियो, जसले ‘क्याटलीस्ट’को काम गरोस् । प्रतियोगितामा जाँदा त्यस टोलीले १३ खेलको अपराजित यात्रा गरी सकेको थियो । यसमा जर्मनी र अर्जेन्टिनासँगको बराबरी पनि समावेश थियो ।
लीड्सका रेडेबे र फील मासिन्गा सहित उल्भ्सका स्ट्राइकर पनि राम्रो लयमा थिए । म्यानचेस्टर युनाइटेडबाट चासो दिइएका रक्षक मार्क फीस पनि त्यस टोलीमा थिए । फीस पछि लाजीयो र बोल्टनमा पुगेका थिए ।
एक वर्ष अगाडी नै रग्बी विश्वकप जितेका कारण दक्षिण अफ्रिकी समर्थकमा कुनै पनि खेलमा जितको भोक जाग्न थालेको थियो । माडिबा भने सांस्कृतिक र भावनात्मक रूपले देशलाई अझ एकत्रित गर्न खेलकुद सहयोगी बनोस् भन्ने चाहन्थे ।
प्रतियोगिताको क्वार्टर फाइनलमा दक्षिण अफ्रिकाले अल्जेरियालाई नाटकीय रूपले २–१ ले हराएको थियो । सो खेलको ८६ औ मिनेटमा ’मोसेउले विजयी गोल गरेका थिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाको भिडन्त घानासँग थियो । घाना शीर्ष बरीयताको टिम मात्र थिएन, प्रतियोगिताको अपराजित टोली थियो । प्रबल दाबेदार घानासँगको खेल दक्षिण अफ्रिकाका लागि कठिन हुने धेरेको अनुमान थियो । घाना पनि दक्षिण अफ्रिकासँग ३–० ले पराजित भयो ।
टोभेकै विचारमा घानासँगको त्यो खेल दक्षिण अफ्रिकाले खेलेको सबैभन्दा उत्कृष्ट खेल हो । त्यस जितको भोलिपल्ट दक्षिण अफ्रिकाका हरेक समाचार पत्रका पानाहरू भरिएका थिए । फाइनल प्रवेशसम्ममा दक्षिण अफ्रिकी फुटबल टोलीका हरेक खेलाडी नायक भई सकेका थिए ।
फाइनलमा ट्युनेसीया दक्षिण अफ्रिकाको प्रतिद्वन्द्वी थियो । सकर सिटी रङ्गशाला ८० हजार दर्शकले भरिभराउ थियो । ती ८० हजारमा दक्षिण अफ्रिकी आदर्श पात्र मन्डेला र फुटबलका जिउँदो इतिहास पेले पनि थिए । मन्डेलाले टोभेको नौ नम्बर जर्सी लगाएका थिए । अन्य दर्शकले भिन्न भिन्नै खेलाडीको नम्बर अङ्कित जर्सी लगाएका थिए । उनीहरूको छातीमा लेखिएको थियो, ‘मेक मादिवा म्याजिक’।
पहिलो हाफ गोल रहित सकिएको फाइनलको दोस्रो हाफमा विलियम्सले दुई मिनेटको अन्तरालमा दुई गोल गरे । पहिले नजिकैको दुरीबाट हेड गोल गरेका उनले दोस्रो गोल लेफ्ट फुटेड सटबाट गरेका थिए ।
दर्शकहरू खुसीयालीले पागल भएका थिए । रङ्गशालाको खुसीयाली धेरै सम्म सुनिएको थियो । खुसीले उन्मत्त हुनेहरू बिच सडकमा बसेर पनि रोइ रहेका थिए । सन् २०१५ मा त्यस टोलीका आदर्श खेलाडी मोसेउले ४९ वर्षको उमेरमा क्यान्सरका कारण देह लीला त्याग गरे । त्यसको केही दिन अगाडी एक श्वेत फुटबल समर्थकलाई उनले अटोग्राफ दिएका थिए । मर्नु अगाडी दक्षिण अफ्रिकामा रङ्गभेद सकिएको महसुस उनलाई भएको थियो ।
सन् १९९५ को रग्बी विश्वकप उपाधि उनीहरूका लागि विशेष थियो । फुटबलको क्षेत्रीय उपाधि पनि कम्ती थिएन । दक्षिण अफ्रिकाले सन् २००६ मा विश्वकप फुटबल आयोजनाको दाबी गरेको थियो । सन् २०१० मा आयोजनाको अवसर पनि पायो ।
त्यस सफलता पछि अहिले दक्षिण अफ्रिकाका स्टार क्रिकेट, पौडी ,एथलेटिक्स लगायत एक से एक खेलमा छाएका छन् । थुप्रै विश्व च्याम्पियन तथा ओलम्पिक स्वर्ण विजेता बने । यो सफल इतिहासमा सन् १९९६ मा पाएको त्यो सफलता विशेष थियो । त्यसले दिएको प्रेरणा त अझ महत्त्वपूर्ण बनेको थियो ।
दक्षिण अफ्रिकामा अहिलेको सामाजिक र ,राजनीतिक अवस्था मात्र होइन भेदभाव सहित समाजको निर्माणमा एउटा मिथक पुरुष मन्डेलाको भूमिका त संसारमा सबैलाई थाहा छ । खेलकुदको मैदानमा उत्रनु अघि उनको भेट पनि दैवी शक्ति सरह हुने गरेको थियो । एक इमानदार र नैतिकवान् शासकले दिने प्रेरणामा कत्ति धेरै तागत हुन्छ भन्ने दक्षिण अफ्रिकाका खेलाडीको त्यो स्मरणले प्रस्ट पारेको छ । शासक इमानदार र नैतिकवान् नभए खेलाडीसँग फोटो खिचाएर शुभकामना दिँदैमा पक्कै आत्मबल र नैतिक तागत दिँदैन होला ।
एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया