ओलीलाई चुनावबाट जवाफ दिने गठबन्धनको रणनीति | Khabarhub Khabarhub

टिप्पणी

ओलीलाई चुनावबाट जवाफ दिने गठबन्धनको रणनीति

कांग्रेस उत्साहित, प्रचण्ड र माधव नेपाल त्रसित !



काठमाडौँ : संसद् विघटन गरेर संविधान कुल्चिदा पनि कुतर्क गरेर नेपाली राजनीतिमा अराजकता मच्चाइरहेको नेकपा एमालेलाई सत्ता गठबन्धनले संसद् विघटन गरेर चुनावबाट जवाफ दिने तयारी गरेको छ । पछिल्लो समय सबै छलफल र सहमतिउन्मुख वार्ता असफल भएपछि आजित भएको सत्ता गठबन्धन संसद् विघटन गरेर भएपनि चुनावमा जाने निष्कर्षमा पुगेको हो ।

यो प्रस्तावले सार्थकता पाएमा आउँदो जेठ वा असोजसम्म आम चुनाव हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, सभामुख अग्नि सापकोटालाई महाअभियोग लगाउनुपर्ने माग सम्बोधन नभएसम्म संसद् चल्न नदिने अडान राख्दै आएका छन् ।

यसका लागि बालुवाटार र बालकोटमा थुप्रै वार्ता चलेपनि सहमति भएको छैन । कांग्रेस महामन्त्री गगन थापा थुप्रैपटकका वार्ता र छलफलका प्रयास सफल नभएपछि अब संसद् विघटन नै गरेर भएपनि चुनावबाट एमालेलाई जवाफ दिने मनसाय पलाएको सार्वजनिक कार्यक्रमबाटै भन्न थालेका छन् ।

यसको अर्थ सत्ता गठबन्धनमा प्रवेश गरेको संसद् विघटनको मुद्दामाथि अब सार्वजनिक तहमै बहस सुरु भएको छ । संसद् चल्न नदिने, सत्तामा रहँदा संसद् विघटन गर्ने एमालेको अराजक राजनीतिमाथि नियन्त्रण गर्न चुनाव एक मात्रै विकल्प भएकोमा सत्ता गठबन्धनका नेताहरु एकमत भएका हुन् ।

चुनावमा सत्ता गठन्धन मिलेर जाँदा देशैभर एकलौटी जित हासिल गर्न सम्भव छ । यसअघि २०७४ सालको चुनावमा एमाले र माओवादी मिलेर देशैभर झण्डै दुईतिहाई बहुमत हासिल गरेका थिए । तर दुई पार्टी मिलेर बनेको नेकपा फुटेपछि भने अहिले एमाले र माओवादीको हालत पहिलेको अवस्थाजस्तो छैन ।

चुनावमा आफ्नो सिट जोगाउन दुवै पार्टीका नेता कार्यकर्तालाई गाह्रो छ । यस्तो अवस्थामा कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीले देशैभर एमालेलाई जित्न दिने अवस्था रहँदैन । खासगरी एमालेलाई हराउन माधव नेपालको नेकपा एकिकृत समाजवादी पार्टी काफी रहने अनुमान छ ।

पार्टी फुटेकाले पनि एमालेलाई पहिलेको जस्तो सहज अवस्था छैन । यस्तो कठिन परिस्थितीमा अब सत्ता गठबन्धनले चुनावको विकल्पमाथि ध्यान केन्द्रित गरेको छ । खासगरी अहिले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गठबन्धनलाई लिएर चुनावमा जाँदा पनि देशैभर आफ्नो बहुमत आउने भएकाले चुनावमा जोड दिएको छ ।

एमसीसीबाट एमालेलाई सत्तामा ल्याएर माओवादी र नेकपा समाजवादीलाई हटाउने योजना विफल भएपनि अब एमालेलाई प्रतिपक्षीकै ‘साइज’मा राख्न कांग्रेसका युवा नेताहरुले भित्री योजना बनाएका छन् । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरे अनौठो हुनेछैन ।

त्यसमाथि प्रतिपक्षी एमालेको अराजक शैलीले पनि सत्ताधारी दललाई चुनावी विकल्पले अबको निकास दिन सक्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ । तर यसका लागि सम्भावित कानुनी उल्झन र संवैधानिक व्यवस्थाको पर्याप्त व्याख्या गरेर मात्रै कदम चालेमा सहज हुने देखिन्छ । अन्यथा चुनाव अगाडि सरकारले सर्वोच्च अदालतमा मुद्दा झेल्नुपर्ने अवस्था आउन सक्छ ।

तर पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापा आक्रामक रुपमा गठबन्धनमा बसेर सत्ता स्वार्थ मात्रै उपयोग गर्ने प्रचण्ड र माधव नेपालविरुद्ध आक्रोशित छन् । कांग्रेसकै सहारामा संसद्मा जाने दाउ पर्खिरहेका प्रचण्ड र माधव नेपाललाई गगन थापाले अहिले देखि नै तर्साउन थालेका हुन् । पार्टी भित्र र बाहिर चर्को भाषण गर्दै थापाले कांग्रेस एक्लै चुनावमा जाने बताउन थालेपछि प्रचण्ड र माधव नेपाल त्रसित भएका हुन् ।

खासगरी आगामी चुनावमा कांग्रेस एक्लै चुनावमा जाँदा धेरै सिट आउने दाबी गर्दै गगन थापा सोही रणनीतिअनुसार अघि बढेका छन् । यसले सत्ता गठबन्धनका शीर्ष नेताहरुमा तरंग ल्याएको छ । यसले प्रचण्ड र माधव नेपाल मात्रै होइन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि तरंगित छन् ।

यद्यपी एमसीसी प्रकरणमा परिपक्व रणनीतिअनुसार गठबन्धन जोगाएका गगनको रणनीतिक योजनामा अघि बढ्दा कांग्रेसलाई प्रत्यक्ष फाइदा पुग्नेमा देउवा विश्वस्त छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ०९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने