दिनभर आजः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आजः यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने मुख्य समाचारहरू (अडियोसहित)


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 10 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज दिनभर विश्व बैंकबाट प्राप्त हुने ५९ दशमलव ६ मिलियन ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय, मंसिर २ गते शुक्रबार एकै चरणमा चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव, अर्थमन्त्री जनार्दन शर्माको राजीनामा लगायतका विषय चर्चामा रहे । 

सरकारको निर्णय

सरकारले विश्व बैंकबाट प्राप्त हुने ५९ दशमलव ६ मिलियन ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधारका लागि प्राप्त हुने ५९ दशमलव ६ मिलियन ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले हरित ग्यास उत्सर्जन न्यूनीकरणका लागि प्राप्त हुने अमेरिकी डलर २१ मिलियन सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल प्रहरीमा क्षमता सहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ भने पहाडी क्षेत्रमा कास्टफल तथा फलफूल अयोजनका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता सम्बन्धी अन्तिम रूप दिन अर्थमन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । बैठकले प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिस्ट्रेसन दिवस मनाउन स्वीकृत प्रदान गर्ने, विभिन्न २३ जिल्लाका दुई लाख २३ हजार ३३० गरिव परिवारहरूको सूची स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले नेपाल दुरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गरेको छ भने नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ठ रिक्त पदमा सहसचिव डा. गोपिकृष्ण खनाललाई बढुवा गरेको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापिका निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको हो ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी २०७९ मंसिर २२ गते पूरा हुने निश्कर्ष निकालेको छ ।

यस्तै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १० अर्ब बजेट माग गरेको छ । आयोगले प्रधानमन्त्री देउवासगँको भेटवार्ताका क्रममा निर्वाचनका लागि करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यसअघि ०७४ को प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न ७ अर्ब ८० करोड खर्च भएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शर्माले आफुमाथि निष्पक्ष रुपमा छानविन गर्नका लागि पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । सो क्रममा उहाले आफुले देश र जनतालाई केन्द्रमा राखेर बजेट बिनियोजन गरिएको दावी गर्नुभयो । मुलुकको आर्थिक बिकासका लागि काम गर्नु आफ्नो अपराध नभएको उहाको भनाई छ । शर्माले बजेट बनाउदा आफुले कुनै अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश नगराएको जिकिर गनुभयो ।

उहाले सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको भन्दै यसबारे जनतामा भ्रम पैदा गर्न खोजेको गुनासो गर्नुभयो । शर्माले आफु मुलुकको ठूला ठूला आन्दोलनमा सहभागी भएको र आफ्नो प्रतिवद्धताबाट नझुकेको भन्दै बजेट निर्माणका क्रममा पनि आफ्नो नैतिकतालाई डगमगिन नदिएको बताउनुभयो । उहाले एउटा मात्रै नभई हजारौ छानविनका लागि तयार रहेको तर्क गर्नुभयो । यस्तै उहाले छानविन समितिको रिपोर्ट आएपछि आफ्नो आत्मविश्वास प्रष्ट हुने तर्क गर्नुभयो । बजेट निर्माण गर्दा आफुले स्थापीत मूल्य मान्यअनुसार नै काम गरेको उहाको भनाई छ । त्यसअघि प्रतिनिधिसभा बैठकले अर्थमन्त्री शर्माका बिषयमा अध्ययन गर्न संसदीय छानविन बिशेष समिति गठन गरेको थियो ।

११ सदस्यीय विशेष समितिलाई बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको सभामुख अग्नी सापकोटाले जानकारी दिनुभयो । समितिमा खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहनुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको र सीसीटीभी फुटेज अर्थ मन्त्रालयका कर्मचारीको मिलेमतोमा डिलिट गराइएको आरोप लागेको छ ।

बर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गर्नुभएको छ । अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै उहाले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गर्नुभएको हो । संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गर्नुभयो ।

पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताउनुभयो । अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ ।त्यस्तै उहाले छानविन समितिले नै सत्यतथ्य ल्याउने भएपनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ती जनाउनुभयो ।

प्रहरी सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी भरत बोहोरा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा जनक भट्टराईको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।

यस्तै विकासराज खनाललाई लागुऔषध नियन्त्रण व्युरो पठाइएको छ । यस्तै विष्णु केसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा काज सरुवा गरिएको छ । त्यस्तै राष्ट्रिय सुरक्षा परिषद्को सचिवयल सिंहदरवारमा कार्यरत कुवेर कडायतलाई विपद् व्यवस्थापन महाशाखा र प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यररत अनुराग द्विवेदीलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोमा काज सरुवा गरिएको छ ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजाह) का अवसरमा आइतबार बिदा दिइने भएको हो । सो पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । विसं २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख छ ।

बिप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा पार्टीले भाग नलिने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनतासंग संगै रहने र निर्वाचनमा भने भाग नलिने बताउनुभयो । उहाले जनताका मुद्धाहरुलाई अघि बढाउनका लािग क्रान्तिकारी मोर्चाको बिषयमा छलफल गर्ने बताउनुभयो ।

त्यस्तै उहाले अमेरिकी सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम(एसपीपी) कुनै हालतमा लागु हुन नदिने चेतावनी दिनुभयो । मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उहाको भनाई छ । उहाले एमसीसी र एसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राख्नुभयो । उहाले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको प्रति आपत्ती जनाउनुभयो ।

राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको केहि नेताले भन्ने गरेको आफुले सुनेको भन्दै उहाले देशहित बिपरित काम गर्नेलाई प्रतिवन्ध नै लगाउने जिकिर गर्नुभयो । विप्लवले जनताले पूर्ण रुपमा अधिकार प्राप्ती नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पार्नुभयो ।

माओवादी बैठक स्थगीत

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलिसम्मका लागि स्थगीत भएको छ । आज दिउँसो १ बजे बोलाइएको माओवादी बैठक भोलि विहान ११ बजे बस्नेगरि स्थगित भएको माओवादी नेता रामनारायण बिडारीले जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संगठनात्मक प्रस्तावलाई अन्तिम रुपम दिन थप समय लाग्ने देखिएपछि बैठक सारिएको बताइएको छ ।

बिडारीले पार्टीको आन्तरिक तयारीका साथै संसदमा शिर्षनेताहरु गम्भीर बिषयको छलफलमा केन्द्रीत हुनुपरेकाले बैठक स्थगीत गरिएको बताउनुभयो । आइतबारबाट सुरु भएको माओवादी केन्द्रीय समितिको बैठकमा सोमबार ४१ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।भोलि बस्ने बैठकमा अध्यक्षले उठेका प्रश्नहरुको जवाफ दिने, संगठनात्मक तथा राजनीतिक प्रस्ताव पास गरेर बैठक सक्ने माओवादी तयारी छ ।

नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी

सरकारले प्रतिनिधिसभाको बैठक आगामी बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसदको आगामी बैठकमा यसअघि पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने जानकारी गृहमन्त्रीले दिएको बताउनुभयो ।

संसद भवनमा पत्रकारसंग कुरा गर्दै उहाले लामो समयदेखि नागरिकता बिधेयकलाई अल्झाई राखेकाले नयाँ बिधेयक ल्याउनु सकारात्मक भएको बताउनुभयो । दलहरुबीच नागरिकताका बिषयमा भएको सहमतिलाई समावेश गर्दै नयाँ बिधेयक ल्याउने जानकारी पनि गृहमन्त्रीले गराएको उहाको भनाई छ । उहाले जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर पास गर्ने भन्ने सहमति भएको बताउनुभयो । यसअघि प्रतिनिधि सभामा करिव चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।

रेडक्रस

नेपाल रेडक्रस सोसाइटीले संस्थाका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्लिसनाको समूहले अनाधिकृत रुपमा कार्यालय प्रवेश गरेर तोडफोड गरेको आरोप लगाएको छ । केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष तिम्लिसिनाको समूहले हिजो तोडफोड गरेको आरोप लगाउनुभएको छ । निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित नभएको भन्दै उहाले रेडक्रसको साखलाई उच्च राख्न चाहेको बताउनुभयो ।

सरकारले जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , सो निर्णयप्रति निवर्तमान अध्यक्ष तिम्सिना अदालत जानुभएको थियो । सर्वोच्चले दुवै पक्षलाई असार २७ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोसाइटीका अध्यक्ष नेपालले यस बिषयमा अदालतले गर्ने निर्णय मान्य हुने समेत बताउनुभयो । पत्रकार सम्मेलनमा रेडक्रसका महामन्त्री भूपतीलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताउनुभयो ।

तुइनबाट खसेर बेपत्ता

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्कने बेला तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा टुट्दा स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता भएका हुन् । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको हो । बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन् । बेपत्ताको खोजीमा महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् ।

कोरोना अपडेट

नेपालमा थप १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ४९ पिसिआर परिक्षणका क्रममा ९० जना र १ हजार १ सय ७५ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप २० संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

थप २ जनामा हैजा पृष्टि

भक्तपुर र मकवानपुरमा गरी थप दुईजनामा हैजाको संक्रमण पुष्टि भएको छ । चाँगुनारायण नगरपालिकामा र हेटौंडा नगरपालिकामा दुईजना हैजाका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती दुवैजनाको अहिले उपचार भइरहेको छ । नयाँ थपिएकासँगै अहिलेसम्म २१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म पाँचजना बिरामीको उपचार भइरहेको छ । काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

६ जना पक्राउ

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा दिउँसै चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट चोरी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्दै आएका ४७ वर्षीय अमितबहादुर श्रेष्ठ, नुवाकोटको विदुर नगरपालिका गेर्खु घर भई हाल फर्पिङ बस्ने ४३ वर्षीय बुद्धविर तामाङ, रामेछापको शैलुङ दोरम्बा गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरकालि–४ बस्ने १९ वर्षीय निरज थापा मगर रहेका छन् ।

यस्तै रामेछापको शैलुङ दोरम्बा गाउँपालिका–४ घर भइ हाल काठमाडौं महानगरपालिका–४ बस्ने २० वर्षीय विशाल थापा मगर र बागलुङ नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका– ४ बस्दै आएका ३० वर्षीय सचिन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले १७ थान विभिन्न कम्पनीका मोबाइल, ३ थान सिक्री, २ थान ब्रासलेट, ७ थान औठी, २ थान लकेट, १ थान पहेलो सुनको सिक्री, ८९ हजार नगद र २२० सीसीको निलो पल्सर बाइकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

नेपाल प्रहरी श्रीमती संघ

नेपाल प्रहरी श्रीमती संघले महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई स्टीकरण हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी कार्यालयमा आज संघका तर्फबाट अध्यक्ष कुसुम लता सिंहले ट्राफिक प्रहरी कार्यालयका प्रमुख उमेशराज जोशीलाई जनसचेतनामुलक स्टीकर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख जोशीले यातायात व्यवसायीहरुसंगको सहकार्यमा सार्वजनिक यातायातका साधनमा स्टीकरण टासिने बताउनुभयो । उहाले अहिले लेन थपेर मात्रै ट्राफिक समस्या समाधान नहुने भन्दै जनचेतना आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै श्रीमती संघकी अध्यक्ष सिंहले यौन तथा महिला हिंसा अन्त्य गर्न प्रहरीले गरेको काममा श्रीमती संघले पनि सहकार्य गर्न खोजेको बताउनुभयो । स्टीकरण हस्तान्तरण संगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाटै सवारी साधानमा महिला हिंसा सम्बन्धी जनसचेतनामुलक स्टीकर टास्न सुरु गरेको छ ।

हवाई भाडा दर

वायुसेवा कम्पनीले हवाई भाडा दर बढाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसगैँ वायुसेवा सञ्चालक संघले नयाँ भाडा दर कायम गरेको हो । काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ भाडा दर वुद्धी भएको छ । नयाँ भाडा दर अनुसार अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ ।

काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ ।सो रुटमा १७० रुपैयाँ बढेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ । त्यसैगरी काठमाडौंदेखि विराटनगरसम्म पुग्नका लागि अब १० हजार २०५ रुपैयाँ लाग्नेछ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।

यात्रुवाहक बस सेवा सुचारु

भारत पश्चिम बंगालको सिलिगुडीदेखि झापा हुँदै काठमाडौँसम्मका दुईवटा यात्रुवाहक बस सेवा आजदेखि सुचारु भएको छ । नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन (एनबीएसटीसी) र निजी कम्पनी ग्रिन लाइनको पहलमा सिलिगुडी–काठमाडौँ अन्तरराष्ट्रिय बस सेवा शुरु भएको हो । पश्चिम बंगालका यातायात मन्त्री फिरहाद हकिमले आज एक कार्यक्रमबीच सो बस सेवाको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै यातायात मन्त्री हकिमले ‘नेपाल–भारत दुई देशबीचको अन्तरराष्ट्रिय बस सेवा धेरै पहिला नै शुरु गर्नुपर्ने भएपनि ढिलै भए पनि सो बस सेवाबाट दुवै देशका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्क्त गर्नुभयो एनबीएसटीसीका चियरमेन पार्थ प्रतिम रायले ग्रिन लाइन निजी कम्पनीको सहयोगमा अन्तरराष्ट्रिय बस सेवा शुरु भएको बताउनुभयो । सिलिगुडीबाट प्रत्येक सोमबार, बुधवार, शुक्रबार र काठमाडौँबाट प्रत्येक मङ्गलवार, बिहीबार र शनिवार बस सेवा सञ्चालन हुनेछ ।

नेप्से

सेयर बजार परिसूचक नेप्से आज भने झिनो अंकले बढेको छ । नेप्से आज २ हजार ४ दशमलव ९२ अकंले बढेर १३ दशमलव ३३ विन्दुमा पुगेको हो । आज दुई सय २८ वटा कम्पनीका ६२ लाख ६३ हजार ३ सय १० कित्ता शेयर कुल २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय १ रुपैयाँमा कारोबार भएको छ । आज सीवाईसी नेपाल लघुवित्त र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर १० प्रतिशतले बढेको छ । यस्तै ङादी ग्रुप पावरको शेयर भने तीन प्रतिशतले घटेको छ ।

आज बैकिंङ , नन् लाइफ इन्स्योरेन्स , म्युचअल फण्ड बाहेक सबै उपसमुहका शेयर सामान्य अंकले उकालो लागेको छ । कारोबार रकमका आधारमा आज गोर्खा फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, सिभिल बैंक, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमश अगाडि रहेका छन् ।

अफगानिस्तानमा बम आक्रमणमा

अफगानिस्तानमा बम आक्रमणमा एक जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा रहेको एक मस्जिदमा गराइएको बम आक्रमणमा अन्य ७ जना घाइते भएका छन् । श्रद्धालुहरुले प्रार्थाना गरिरहेका बेला बम विष्फोट भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । गत अप्रिल महिनामा पनि सोही क्षेत्रमा बम आक्रमण भएको थियो । सो आक्रमणमा दर्जनौँको मृत्यु भएको थियो भने अरु कैयाँ घाइते भएका थिए । कुन्दुज प्रान्तको इमाम साबिह जिल्लामा रहेको अलिफ बिरडी मस्जिदमा आक्रमण भएको प्रान्तीय प्रहरी प्रवक्ता करी ओबाइदुल्लाह अबेदीलाई उद्धृत गर्दै डन अखबारेको अनलाइन संस्करणले जनाएको छ ।

फिजीमा पनि ५—११ बर्षका बच्चालाई खोप दिन सुरु

फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको हो । सो उमेर समूहका एक लाख ३२ हजार ८९३ बालबालिकालाई खोप लगाउनु पर्ने भएकाले त्यही अनुसारको तयारी गरिएको मन्त्रालयको भनाई छ । फिजीका स्थायी स्वास्थ्य सचिव जाम्स फोङ्गले कोरोना भाइरसको महामारी फेरि फैलिने खतरालाई मध्यनजर गर्दै बालबालिकालाई खोप लगाउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले बालबालिकालाई आवश्यक पर्ने सबै खोपको व्यवस्था गरिएको र कुनै नकारात्मक असर नपर्ने पनि दावी गर्नुभयो । बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरूलाई समन्वयकारी भूमिकामा परिचालन गरिने पनि उहाँले बताउनु भयो । त्यसैगरी विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि बालबालिकालाई खोप लगाउन पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

सन्दीप लामिछाने

नेपाली कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी लिग खेल्ने भएका छन् । जमैकाले २०२२ को सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको सीपीएलले जनाएको छ । सन्दीपले २०१८ देखि वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएल खेल्दै आएका छन् । गत संस्करण उनी ट्रिन्बागो नाईट राईडर्समा अनुबन्ध भएका थिए । तर,सोही समयमा नेपाली राष्ट्रिय टोलीको ओमान टुर परेकाले उनले सहभागीता जनाउन पाएनन् । सन्दीपले जमैकाबाट दोस्रो पटक खेल्न लागेका हुन् । २०२० को आठौं संस्करण सन्दीपले जमैकाबाट खेलेका थिए ।

यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ आजबाट

यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ आजबाट इंग्ल्यान्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्ड र अष्ट्रियाबीच खेल नेपाली समयअनुसार राति पौने १ बजे म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरु हुनेछ । प्रतियोगितामा सहभागी १६ टोेलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । आजदेखि सुरु भएको प्रतियोगिता जुलाई ३१ गतेसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ४७ बजे

प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से

काठमाडौं– प्रि सेसन अवधिमा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासङ्घको आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।