नेपालमा रोजगारीका अवसर नपाउँदा दैनिक हजारौं युवाहरु वैदेशिक रोजगारीका लागि नेपाल छोडिरहेका छन् ।अर्कातिर नेपालमा सम्भावना देख्नेहरु विदेशबाट फर्किएर पनि यहीँ केही गर्ने सोचका साथ अगाडि बढेका छन् । नेपालमा राजनीतिक, सामाजिक तथा अन्य थुप्रै कारणले युवाहरुलाई अलमल बनाइदिएको छ । उनीहरुले भविष्यमा के गर्ने भन्ने पनि निर्णय लिन सकेका छैनन् । यतिबेला विदेश छाडेर नेपाल आएर आफ्नो व्यवसाय थालेका युवा व्यवसायी अभिषेक वलीले भने सेनेटरी प्याड र डाइपरको उत्पादन गरेर मासिक दुई लाख बराबरको व्यापार गरिरहेका छन् । यसै सन्दर्भमा खबरहबकर्मी सुवास प्रधानले सदा केयरका सञ्चालक अभिषेक वलीसँग कुराकानी गरेका छन् । उनीसँगको कुराकानीको सम्पादित अंशः
सदा केयरले सेनेटरी प्याडबाट समाजमा पछिल्लो समय धेरैको मन जितेको छ यो खुसी र सुरुवाती दिनका सङ्घर्षलाई कसरी लिनुहुन्छ ?
यो सुरु गर्न धेरै सजिलो छ । तर बजारसम्म पुर्याउनका लागि शुरुमा निकै कठिन थियो । हामीले यो व्यवसाय लकडाउनका बेला शुरु गरेका थियौँ । त्यसैले शुरुमा लकडाउनका कारण बजार नपाएर ६ महिना त बन्द नै गर्नुपर्यो ।
त्यो समयमा मैले भारतका विज्ञहरुसँग मापदण्ड अनुसार कसरी बनाउने भनेर छलफल गर्ने मौका पाएँ । सोही अनुरुप प्याडहरूमा साइड इफेक्ट हुन भएन । चिलाउने अथवा पाछ्ने हुनु भएन र मापदण्ड अनुसार बनाउनु पर्यो । त्यो पनि त्यही लकडाउनको समयमा मैले सिक्ने अवसर पाएँ ।
बजारमा नेपालबाहिरबाट धेरै ब्रान्डका प्याडहरू आउने हुनाले हामीले प्रतिस्पर्धा गर्नुपर्ने थियो । सुरुवाती दिनमा प्याड लिएर बजारमा गयो तर कसैले पनि नराख्ने नयाँ प्याड न नाम सुनेको डिजाइन पनि राम्रो नभएको दिनमा १ दर्जन पनि बिकेन । त्यसपछि अब यो गर्न नसकिने रहेछ, यत्रो ४० लाख लगानीबाट खोलेको कसैलाई बेचौँ कि भन्ने पनि लाग्यो । त्यसपछि म गाउ तिर बसमा प्याड लिएर गएँ ।
होलसेल रेटमै दिएर ३ महिना जति मैले गाउँमा लगेर त्यसरी बिक्री गरेपछि ठूला कम्पनीहरुबाट मलाई खोज्दै आउनुभयो र उहाँहरूले यसरी गाउँ गाउँमा गएर नबेच्नुहोस् बरु हामीलाई दिनुहोस्, हामी बेच्छौँ भन्नुभयो । त्यसरी नै पछि बिस्तारै राम्रो हुँदै गयो ।
यो प्याड प्रयोग गरेपछि महिला दिदीबहिनीबाट कस्तो प्रतिक्रिया आयो ?
प्याड जहिले पनि बायो डिग्रेटेवल हुनुपर्दछ । यो मापदण्ड हो । त्यसैले हाम्रो प्याड प्रयोग गरेपछि ६ महिना माटोमा पुरेर राख्यो भने कुहिन्छ । ५/६ लेयरको बीचमा प्रयोग हुने जेल सिट कटन सिट लगायतका सामग्रीहरू समेटेर बनाउनुपर्दछ । त्यसैले हामीले त्यो सबै मापदण्ड अपनाएर अगाडि बढेका छौँ ।
विदेश गएर पनि फर्किएर धेरैलाई रोजगारी दिनुभएको छ, कस्तो अनुभव गर्नुभएको छ ?
अहिले प्लस टुको पढाइ सकेपछि विदेश जाने प्रक्रिया बढिरहेको छ । त्यसैले म पनि बाहिर गएर पढेँ । होटेलमा पनि काम गरेँ । धेरै दुख र मेहनत गरियो तर भनेको जस्तो भएन र त्यसपछि यति मेहनत नेपालमा गरियो भने त नेपालमा नै केही हुन्छ नेपालमा नै मेहनत गर्छु भनेर पाँच महिनामा नै नेपाल फर्किएँ ।
नेपालमा आएर के गर्ने भनेर यस्तो समान बनाऊँ कि, जुन जहिले पनि प्रयोग होस् भनेर युट्युबमा भिडियोहरु हेर्न थालेँ । पछि त्यही कामलाई नै निरन्तरता दिन थालेँ ।
आर्थिक रूपमा कत्तिको कमाइ भएको छ र त्यसमा कत्तिको खुसी हुनुहुन्छ ?
सरकारलाई कर तिरेर पनि म खुसी छु । मैले मासिक २ लाख बराबर कमाइ गर्छु । प्याडसँग सँगै डाइपर पनि बनाएको छु । यो पनि बजारमा आइसकेको छ । स्वास्थ्य क्षेत्रमा नै मेरो काम गर्ने इच्छा चाहिँ छ ।
उमेरको हिसाबले पनि धेरै परिपक्व हुनुहुन्न तर पनि नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले अगाडि बढ्दा साथीभाइले यो के गरेको हो भन्दा कस्तो सोचाइ लिनुभयो ?
साथीभाइले पहिला नेपालमा अवसर नै छैन बरु सापटी दिउँला यतै केही गर भन्ने सल्लाह पनि दिए ।समाजमा पनि फलानोको छोरो त्यत्रो पैसा खर्च गरेर बाहिर गएर पढ्न पनि सकेन भन्ने सुन्न थालियो । तर त्यसलाई मैले सकारात्मक ऊर्जाको रूपमा लिएर म केही गरेर देखाउँछु भनेर आज नभए भोलि गर्छु भनेर लागेँ । यसका लागि मलाई मेरो परिवारले पनि धेरै सर्पोट गर्नुभयो । लगानी गर्नुभयो । त्यसैले म यो ठाउँमा छु ।
युवाहरूलाई म के भन्न चाहन्छु भने यदि तपाईँहरूमा काम गर्ने आइडिया, भिजन र चाहना छ भने तपाईँलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन । कहीँ न कहीँबाट त्यो संयन्त्र जुट्छ । मलाई अहिले सबै साथीहरूले राम्रो गरिस् भन्नुहुन्छ । पहिला साथीभाइले त्यति भनेका कारणले म केही गर्छु, अगाडि बढ्छु भन्ने हौसला मिलेको अनुभव गरेको छु ।
केही गर्नुपर्छ ,अगाडि बढ्नुपर्छ भन्ने युवा र केही नगर्ने युवाहरूलाई के भन्न चाहनुहुन्छ ?
जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शिक्षा हो । त्यसैले जुन विषय पढ्दै हुनुहुन्छ त्यो राम्रोसँग पढ्नुहोस् भन्न चाहन्छु । किनभने पढाइ विना अहिलेका कुनै पनि काम कार्यहरू सम्भव हुँदैन । मानिसहरूमा अन्तर्क्रिया गर्न सकिँदैन । त्यसैले पढाइ महत्त्वपूर्ण छ । र यदि तपाईँहरूमा काम गर्ने चाहना र भिजन छ भने एकपटक सोचेपछि अर्कोपटक नसोच्नुहोस् । त्यो काम गर्नुहोस्, किनकि गलत काम गर्नुहुन्छ बाबा आमाको सल्लाह लिनुहोस् तर उहाँहरूमा नै पूरै आश्रित नबन्नुहोस् ।
यदि तपाईँहरू १८ वर्षभन्दा माथि हुनहुन्छ भने आफ्नो केही काम गर्न सक्नुहुन्छ । केही गर्न सक्नुभएन भने घरमा ५०० माग्नुहोस् र सेयर बजारमा लगानी गर्नुहोस् । त्यसबाट मानिसहरूले अहिले करोडौँ कमाएका छन् । कुनै काम गर्दा मन देखि नै गर्नुहोस् । कसैलाई ढाँटेर छलेर काम नगर्नुहोस् खाली कहिल्यै नबस्नुहोस् । केही भएन भने पुस्तक मात्र भए पनि पढ्नुहास् ।
(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया