जलस्रोत तथा उर्जा विकास मन्त्रालयद्वारा तीन सय ३८ योजना  फिर्ता « Khabarhub

जलस्रोत तथा उर्जा विकास मन्त्रालयद्वारा तीन सय ३८ योजना  फिर्ता


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– आर्थिक वर्ष २०७८/७९ मा जलस्रोत तथा उर्जा विकास मन्त्रालयले काम गर्न नसकेर तीन सय ३८ योजना  फिर्ता भएका छन्  । दुई हजार सात सय २५ योजनामध्ये तीन सय ३८ योजना कामनै सुरु नभएकाले बजेट फिर्ता भएको हो। 

कर्मचारी अभावका साथै भौगोलिक रुपमा समेत विकट हुँदा योजना कार्यान्वयनमा समस्या आएको मन्त्रालयको भनाइ छ । मन्त्रालयमा ६० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त छ । उर्जा क्षेत्रमा त एक जना पनि प्राविधिक छैनन् । सेवा क्षेत्र विस्तार हुँदै गए पनि मन्त्रालयमा सोहीअनुसार जनशक्ति र मातहतका कार्यालय व्यवस्थापन हुन नसकेका हुन् । कर्णाली उज्यालो कार्यक्रम र ऊर्जासम्बन्धी कार्यक्रमहरूसमेत कार्यान्वयन गर्नेगरी मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको छ ।

विविध समस्याका कारण अपेक्षित प्रगति हासिल गर्न कठिनाइ हुने गरेको मन्त्रालयका निमित्त सचिव गोपाल शर्मा बताउँछन् । यो मन्त्रालयले नागरिकका मौलिक हकसँग सम्बन्धित खानेपानी, सरसफाइ, ढल निकास, सिँचाइ तथा उर्जा र नदी नियन्त्रण क्षेत्रहरूमा काम गर्नुपर्ने हुन्छ ।

भूगोल सुहाउँदो कार्यालयको सांगठनिक संरचना पनि छैन । जसले मन्त्रालयका काम प्रभावित बनिरहेका छन् । कर्णालीका दश वटै जिल्लामा मन्त्रालय मातहतका कार्यालयहरू स्थापना गरिएका छन् । तर, त्यहाँ पनि जनशक्ति अपुग समस्या उस्तै छ । मन्त्रालय र मातहतका कार्यालयमा गरी जम्मा दुई सय २२ जना कर्मचारीको स्थायी दरबन्दी छ । त्यसमध्ये दरबन्दीमा एक सय एक र १७ जना करारमा कार्यरत छन् । ८७ जना कर्मचारीको पद रिक्त रहेको  छ ।

योजना छनोट हुनुपूर्व अध्ययन नहुनुका साथै विस्तृत योजना प्रतिवेदन निर्माण नगरी पहुँचका भरमा योजना टिपाउँदा कामै नभएर योजना फिर्ता भएका हुन् । कर्मचारीको अभावका साथै सबै ठाउँमा यातायातको पहुँच नहुँदा तोकिएको समयमा काम हुन सक्दैनन् । जलस्रोत तथा उर्जा विकास मन्त्रालयका पूर्वमन्त्री दिनबन्धु श्रेष्ठको पालामा निर्माण भएको बजेटमा अधिकांश टुक्रे योजना थिए । आफन्त र नातागोताले टिपाएका योजनामा काम हुन नसकेको जिल्लास्थित कार्यालय प्रमुखहरूले रिर्पोट पेश गरेका छन् ।

अघिल्लो पटक जथाभावी योजना निर्माण गरेका कारण यस पटक निर्माण भएका योजनामा कम बजेट विनियोजन हुनुको साथै पुराना योजनामा ध्यान दिनु परेको मन्त्रालय स्रोतले बताएको छ । खानेपानीतर्फ मात्र दुई सय ७४ वटा योजना क्रमागतमा राखेर काम गर्न बाध्य हुनुपरेको मन्त्रालयले जनाएको छ । सिँचाइतर्फ दुई सय ४३ वटा योजना क्रमागत रहेका छन् । तटबन्ध तथा पहिरो व्यवस्थापनतर्फ क्रमागत योजनाको संख्या ६७ वटा रहेका छन् । 

योजना निर्माण गर्दा वस्तुनिष्ठ र सम्भाव्यता अध्ययन गरेर मात्र योजना सिफारिस गरेको भए यी सबै योजना तोकिएको समयमा निर्माण हुने जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार अघिल्लो सरकारले ल्याएका ४० प्रतिशत अधुरा योजना आफ्नो पालामा निर्माण गर्ने र नयाँ योजनामा विस्तृत योजना प्रतिवेदनका साथै पूर्व सम्भाव्यता अध्ययन समेत गरी काम सुरु भएको उनले जानकारी दिए । 

मन्त्रालयमा अहिले तीन हजारको हाराहारीमा नयाँ योजनाको प्रस्ताव आएकोमा सबै योजना निर्माण गर्ने खालका हुन वा होइनन् भन्ने प्राविधिक रुपमा अध्ययन गर्न लागिएको मन्त्री सिंहले जानकारी दिए । जनताको करबाट सबै योजना निर्माण हुने भएकाले हरेक हिसाबले राम्रो मानिने योजना मात्रै निर्माण गर्न लागेको उनले बताए । 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १ : ३४ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक