काठमाडौँ– आज दिनभर जबराविरूद्धकाे महाअभियोग प्रस्तावमा भोलिदेखि छलफल हुने, विदेशमा भएका नेपालीलाई मताधिकार दिने तयारी रहेको प्रचण्डको भनाई, नेसपाको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन, ठूला पार्टीका नेताहरुद्धारा भष्ट्रचारीको संरक्षण भएको आरोप, डा. गोविन्द केसीद्वारा भदौ १२ गतेदेखि सत्याग्रह घोषणा, सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो लगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
जबराविरूद्धकाे महाअभियोग प्रस्तावमा भोलिदेखि छलफल हुने
प्रतिनिधिसभा बैठकमा भोलिदेखि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।
भोलिको बैठकमा राणामाथिको महाअभियोगबारे छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयले प्रकाशन गरेको प्रतिनिधिसभाको भोलिको बैठकको सम्भावित कार्यसूचीको अन्तिम तथा चौथो बुँदामा ‘२०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने’ उल्लेख छ ।
गठबन्धनले फेरी पनि सरकार चलाए मुलुक अस्थिपञ्चर हुन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनले फेरी पनि पाँच बर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका छन ।
शनिबार काठमाडौंमा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले १ बर्षको अवधिमा नै वर्तमान गठबन्धनको सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको भन्दै फेरी पनि पाँच बर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका हुन ।
उनले देश बचाउन, देशलाई अघि बढाउन र देशको बिकास गर्न एमालेको बहुमत आवश्यक पर्ने बताए । ओलीले यसपटकको निर्वाचनमुखी महासंग्राम जसरी भएपनि राष्ट्रबादी देशभक्ती शक्तिले जित्नुपर्ने बताए ।
विदेशमा भएका नेपालीलाई मताधिकार दिने तयारी रहेको प्रचण्डको भनाई
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा मतदानको अधिकार दिलाउने प्रयास भइरहेको बताएका छन ।
जापानको फुकुओकामा आयोजित नेपाली फेस्टिभल समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताए ।
उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नागरिकता विधेयक पारित गरेर त्यसको सुरुवात भएको बताए ।
पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति क्षेत्रको निरीक्षण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन ।
मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न ठाउँमा पुगेर निरीक्षण तथा व्यवस्थापन पक्षबारे जानकारी लिएका हुन ।
मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा, विश्वरुपा मन्दिर, मृगस्थली विभिन्न मठमन्दिर, स्तूपा, सत्तललगायतको अवलोकन गरे ।
अवलोकन तथा निरीक्षणपछि उहाँले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन ।
उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन समेत निर्देशन दिए ।
उत्साहित हुनेगरी काम गर्ने श्रम मन्त्री कुँवरको प्रतिबद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
मन्त्री कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि पदमा बसुञ्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन ।
राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पु¥याउने आश्वासन समेत दिए ।
नेसपाको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन
नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् ।
पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ ।
नेसपाले विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गर्ने
नेपाल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बताएका छन ।
आज ललितपुरमा बसेको नेपाल समाजवादी पार्टी पहिलो बैठकलाई सम्बोधन गर्दै भट्टराईले पुरानै धारमा मोडिएको जसपालाई रुपान्तरण गर्ने कोशिस गरेपनि पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भएको र संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बतााएका हुन ।
जनजाती आन्दोलनहरुसंग मिलेर नया प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी र जसपा बनाएर अघि बढेपनि त्यसले मात्रै खोजेजस्तो परिणाम दिन नसकेको उनले बताए ।
ठूला पार्टीका नेताहरुद्धारा भष्ट्रचारीको संरक्षण भएको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरुले भष्ट्रचारीलाई संरक्षण गरेको आरोप लगाएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देशका ठूला दलका नेता र मन्त्रीहरु नै भष्ट्रचारमा लिप्त भएको भन्दै अब देशको ढुकुटी रोक्न पनि नेपाली जनताले आगामी चुनावमा ठूला दलहरुलाई पाखा लगाउनुपर्ने बताए ।
उनले ठूला पार्टीहरूले नेपाली जनतालाई आश्वासन मात्र बाडेँर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाए ।
लामिछानेले आफुहरु २४ सैं घण्टा नागरिकको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको बताउदै भ्रष्टाचारलाई न्युनिकरण गर्न, जनताको असली शासन व्यवस्था ल्याउन आफु राजनीतिमा आएको जानकारी दिए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्नेमा जोड दिए ।
डा. गोविन्द केसीद्वारा भदौ १२ गतेदेखि सत्याग्रह घोषणा
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ १२ गतेदेखि सत्याग्रह बस्ने घोषणा गरेका छन ।
शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै डा. केसीले यसअघिका र शेरबहादुर देउवा नेतृत्वको सरकारसँग बारम्बार गरिएको सम्झौता कार्यान्वयन नभएको अवस्थामा ६ सुत्रीय मागसहित सत्याग्रहको घोषणा गरेका हुन ।
माग पूरा गर्नका लागि आगामी तीन साताको समय दिँदै पूरा नभए सत्याग्रह सुरु गर्ने उनले बताए ।
डा. केसीले तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने माग राखेका छन ।
पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ८२ जनाको नमूना परीक्षण गर्दा ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, थप चार सय ४४ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।
अहिले नेपालमा पाँच हजार ६ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २० हजार ६ सय ६६ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मधेस प्रदेश सरकारले खरिद गरेको करिब दुई करोडको सामान प्रयोगविहीन
मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले आवश्यकताविनै खरिद गरेको करोडौंका सामान एक पटक पनि प्रयोग नभइ थन्किएका छन् ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, मुख्यमन्त्री कार्यालयले मात्रै आर्थिक वर्ष २०७७÷७८ मा दुई करोड ७५ लाखभन्दा बढी रूपैयाँको उपकरण र सफ्टवेयरमा खर्च गरेको पाइएको छ । तर, ती उपकरण तथा सफ्टवेयरहरू अहिलेसम्म एक पटक पनि चलाइएको छैन । प्रयोगमा नै नआइ उपकरणको ग्यारेण्टी अवधि समेत सकिएकोछ ।
सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो
सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । लगातारको वर्षातका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ति बालिएको छ ।
सप्तकोसीमा शनिबार ४ः५० बजे पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ३ सय ५० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रतिक्रिया