बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. आज प्रतिनिधिसभाको  बैठक  बस्दै 
प्रतिनिधिसभाको  बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । सो विधेयक  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) प्रस्तुत गर्नेछन्। त्यस्तै सोही विधेयकलाई निर्णयार्थ पेस गर्ने कार्यसूची  रहेको छ ।

 २. कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्ग्याएर प्रतिवेदन बुझाउने तयारी
सत्तारुढ गठबन्धन सिट बाँडफाँड कार्यदलको आजको बैठक निष्कर्षमा पुग्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी  दिए   । बैठकमा १६५ निर्वाचन क्षेत्रमा कसको के  अवस्था छ भन्नेबारे छलफल गरेको र आज  पुन  दिउँसो छलफललाई निरन्तरता दिएर प्रतिवेदनलाई अन्तिमरुप दिइने  उनले बताए । कार्यदलले सिट बाँडफाँडमा सहमति जुटाएर  भोलिसम्म शीर्ष तहमा प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।

३. भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेट गर्दै  
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री देउवासँग  जनरल पाण्डेले आज अपराह्न ३ बजे  प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आज साँझ पाण्डे पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम रहेको  छ । पाण्डेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

४. अबको निर्वाचनमा राप्रपा बलियो पार्टीको रूपमा स्थापित हुन्छ : लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूले प्रतिनिधिसभा सदस्य त्याग गरे पछि सत्तारुढ दल र अन्य  ठुला  दललाई पनि दबाब परेको बताएका छन् । रेडियो क्यान्डिडको नियमित प्रस्तुति क्यान्डिड टकमा कुरा गर्दै अध्यक्ष लिङदेनले अबको  प्रदेशसभा र प्रतिनिधिसभाको  निर्वाचनमा राप्रपा बलियो पार्टीको रूपमा स्थापित हुने पनि दाबी गरे ।आउने संसदमा  राप्रपा राष्ट्रिय शक्ति रूपमा रहने पनि अध्यक्ष लिङदेनले जिकिर गरे । अहिले ठुला राजनीतिक दलबाट जनतामा असन्तुष्टि रहेको र यसको विकल्पमा राप्रपा रहेको पनि उनले उल्लेख गरे। त्यस्तै राप्रपाले पूर्ण  समानुपातिक ससंद हुनुपर्ने र  प्रदेश खारेज  भएर दुई तहको सरकार  हुनुपर्ने लगायतका नयाँ ढगंबाट एजेण्डा अघि सारेको पनि उनको  भनाइ राखे। ठुला पार्टीले शक्तिको आडमा संवैधानिक अगंमा आफ्नो मान्छे हाबी गर्ने प्रवृत्ति मौलाएको र लुटतन्त्र मच्चिएको बताए।  त्यसका राप्रपाले खबरदारी गर्ने उनले बताए । नेकपा एमालेसँग, गठबन्धको कुरा चले पनि अझै ठोस निर्णय नभएको उहाँले स्पष्ट पारे ।
त्यस्तै देशभक्त पार्टीहरुसगँ तुलनात्मक रूपमा सहकार्य हुनसक्ने पनि उनले बताए ।

५ . कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साहलाई पक्राउ पुर्जी जारी
जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको ब्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए । चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता  गरेकी थिइन् । गत भदौ २ गते बिहीबार प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’मा रहेका बेला डा साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको ब्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो । सोपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । डा साह जलेश्वर नगरपालिका–५ महोत्तरी जिल्ला निवासी रहेका छन् ।

६. सर्पको टोकाइबाट किशोरीको मृत्यु  
कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा  बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाई रहेकी छन् । घरमै सुतेको बेला सर्पको टोकाइबाट पुष्पा बेहोस अवस्थामा फेला परेकी थिइन् । आफन्तले उपचारका लागि  उनलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ । मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत गत शनिबार बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो ।महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको छ ।

 ७. चीनमा शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४६  पुग्यो 
चीनमा शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४६  पुगेको छ । सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अझै १४ जना  हराइरहेका छन् ।अन्य ५० जना घाइते भएका छन् । भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ भूकम्पका कारण अर्को शहरमा जाने बाटो अवरुद्ध भएको छ। मानिसहरू बसोबास गर्ने एक सय भन्दा बढी क्षेत्रहरूमा दूरसञ्चार लाइनहरू अवरुद्ध भएको छ ।

८. आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु  
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु  भएको छ  । बम आक्रमणमा परेर दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् । आक्रमणमा अन्य केही मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले  लिएको छ । आक्रमणमा एक कूटनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको  छ । सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला गरेको यो पहिलो पटक हो ।

९. महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौँमा सुरु  हुँदै 
छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौँमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रङ्गशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।यस्तै समूह ’बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

१०. एसिया कप क्रिकेटमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै 
युएईमा जारी एसिया कप क्रिकेटमा सुपर चार अन्तर्गत आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँछ । समूह ’ए’ बाट विजेता बनेको भारत र समूहको ’बी’ को उपविजेता श्रीलंकाबीच खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै फाइनलको सम्भावना जीवितै राख्न चाहन्छ । यता, पाँच पटकको च्याम्पियन श्रीलंका पनि सुपर चारमा जितको यात्रा निरन्तर गरी फाइनलको सम्भावना थप मजबुत बनाउन चाहन्छ । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् । समूह ’ए’ बाट भारत र पाकिस्तान तथा समूह ’बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् ।सुपर चारमा चारै टोलीले एक अर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १० : ५८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले