दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ :  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. गठबन्धनभित्र भोलिसम्म सिट बाँडफाँड टुंगो लाग्ने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा गठबन्धनभित्र सिट बाँडफाँड टुंगो लाग्ने दाबी गरेका छन् । धनगढी विमानस्थलमा आज  सञ्चारकर्मीसँग कुरा गर्दै  अध्यक्ष दाहालले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने गरि कार्यदलमा छलफल भइरहेको भन्दै भोलिसम्म सबै टुङ्गो लाग्ने बताए ।

गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० र नेकपा एकीकृत समाजवादी र जसपाले २५/२५ सिटमा दाबी गरिरहेको भन्दै त्यसको वरिपरि सहमति जुट्ने  उनले बताए ।

त्यस्तै प्रचण्डले आगामी निर्वाचनको मनोनयन दर्तापछि वर्तमान संसद् नरहेमा स्पष्ट रहेको  बताए । संसद्को आयु लम्ब्याउन तिर जान नहुने विषयमा गठबन्धनमा सहमति जुटिसकेको उनको भनाई छ ।

प्रचण्डले संसद्को आयुका विषयमा कन्फ्युजन भएकाले प्राविधिक कारणले दलका प्रमुख सचेतकहरुले संसद्को आयु लम्ब्याउनेबारे सोचेको जिकिर गरे । उनले गठबन्धन निर्वाचनपछि पनि निरन्तर रुपमा अघि बढ्ने समेत बताए ।

२. गठबन्धन मुलुकको विकास र समृद्धिको लागि आवश्यक : मन्त्री कार्की

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । काठमाडौंमा आज नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटका क्रममा मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनसँगै मुलुकको आधारशिला बलियो बनेको भन्दै अव मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन पनि  स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्ने दायित्व सबैको रहेको धारणा राखे । त्यस्तै मन्त्री कार्कीले अहिलेको गठबन्धन कसैकोविरुद्ध लक्षित नभएर मुलुकको विकास र समृद्धिको लागि आवश्यकता भएको जिकिर गरे । मुलुकलाई अहिले राजनीतिक स्थिरता र संविधान र लोकतन्त्रको रक्षाका निमित्त गठबन्धन अपरिहार्य भएको उनको भनाई छ ।

त्यस्तै कार्कीले आगामी १० वर्षभित्र मुलुकलाई विश्वकै धनी देशका रुपमा परिचित गर्नका लागि एकताबद्ध भएर मुलुकको पक्षमा काम गर्नुपर्ने बताए ।

 ३. म्यादी प्रहरी भर्नाको आवेदन भदौ ३० गते खुल्ला गरिने   

आगामी प्रतिनिधि सभा र प्रदेशसभा  निर्वाचनका लागि म्यादी प्रहरी भर्ना भदौ ३० गते आवेदन खुल्ला गरिने भएको छ । म्यादी प्रहरीको छनोट तालिकाअनुसार भदौ २६ गते आइतबार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भदौ ३० देखि असोज ६ गतेसम्मका लागि आवेदन खुलाइने भएको हो ।

यस्तै आवेदन दिएकाहरूलाई असोज ७ गते सम्पर्क राख्न पनि आग्रह गरिने भएको छ ।  तालिकाअनुसार असोज ९ देखि  १४ गते ५ दिन भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ भने असोज २५ गते नतिजा प्रकाशन गरिनेछ ।

असोज २७ र २८ गते नियुक्ति पत्रको तयारी गरिने र  ३० गते नियुक्ति पत्र वितरण गरिने जनाइएको छ ।

 ४. संघीय संसद्को दुवै सदनका बैठक आज बस्दै

संघीय संसद्को दुवै सदनका बैठक आज बस्दैछ । प्रतिनिधि सभा  र राष्ट्रिय सभाको बैठक अहिले केहीबेरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्  भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बिमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची छ ।

५. पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पाको तिनाउ गाँउपालिका-३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।

६. करेन्ट लागेर एक जनाको मृत्यु 

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-४ जैसिथोकका ४२ वर्षीय मानबहादुर रानाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आफ्नै घरको छतमा करेन्ट लागेको रानालाई करेन्ट लागेको थियो । २ तला माथिबाट खसेर घाइते भएका उनको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

७. मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ 

काठमाडौँबाट टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१०  घर भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ टाकुरे  घर भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन् ।

उनीहरूले मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाउने र टिकटक बनाउने भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको, चोरी गरी ल्याएको मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको  प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

८. उत्तरी बजिरिस्तानमा आतङ्कवादीहरूसँग भएको झडपमा पाँच पाकिस्तानी सैनिकको मृत्यु   

उत्तरी बजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

गुप्त सूचनाका आधारमा सो  स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेसन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । सो स्थानबाट हातहतियार पनि बरामद भएको छ । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् ।

पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् । यसअघि सुरक्षा बलले उत्तरी बजिरीस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतङ्कवादीलाई मारेको थियो ।

९.  नेतृ ट्रसद्धारा ऊर्जाको बढ्दो लागत र कर कटौती गर्ने प्रतिबद्धता  

बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले ऊर्जाको बढ्दो लागत र कर कटौती गर्ने प्रतिबद्धता  गरेकी छिन् । टोरी नेतृत्वको प्रतिस्पर्धामा विजयी भएपछि  ट्रसले अर्थतन्त्रको विकास गर्न र बेलायतलाई मन्दीबाट जोगाउन कर कटौती गर्ने बताएकी हुन् ।

उनी माग्रेट थ्याचर ,थेरसा मेपछि को तेस्रो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।नयाँ प्रधानमन्त्री ट्रसलेथ्याचरपछिकै खराब समयको सामना गर्नुपर्ने सन्डे टाइम्सले जनाएको छ ।

ट्रस आज नै प्रधानमन्त्री पदको कार्यभार सम्हालेकी छिन् । बोरिस जोनसनको बिदाइ सम्बोधनपछि बेलायती महारानीले बालमोरल क्यासलमा उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्ति  गर्नेछिन् ।

युक्रेनमाथि रुसी हमलाको पृष्ठभूमिमा, मुद्रास्फीति दोहोरो अंकमा बढेको र उर्जाको मूल्य आकासिँदा खराब सङ्कटबाट गुज्रिएर बेलायतमा उनको कार्यकालमा  थप चुनौति देखिएको पनि विश्लेषहरुले  अनुमान गरेका छन् । 

१०. कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिमको घोषणा 

कर्णाली प्रदेशले रविन्द्र जंग शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट सञ्चालन हुँदैछ ।

क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ (क्यान) बाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो ।

समूह ’ए’ मा रहेको कर्णालीको पहिलो खेल भदौ २३ मा मूलपानी मैदानमा लुम्बिनी प्रदेशविरुद्ध रहेको छ ।  

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १ : ४० बजे

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ