खाद्यबाली छाडेर केरा खेती  « Khabarhub

खाद्यबाली छाडेर केरा खेती 


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् । स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ । 

एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् । पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ । धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताए । 

‘अन्य आम्दानीको स्रोत छैन, गुजारा चलाउने आधार केराखेती हो’, उनले भने, ‘केराखेतीले खबराका बासिन्दाको जीवनस्तरमा धेरै परिवर्तन ल्याएको छ । यहाँको मुख्य आम्दानीको स्रोत केरा नै हो ।’ वर्षमा १० पाथी कोदो फल्ने बारी र दुई मुरी धान उत्पादन हुने खेतमा गरेको केराबाट मासिक पन्ध्रदेखि २५ हजारसम्म आम्दानी हुने सापकोटाले बताए ।

एक जनाले दुई देखि २० रोपनी जग्गामा केरा लगाएका छन् । केराखेतीबाट मासिक न्युनतम १०-१२ हजारदेखि ५० हजारभन्दा बढी कमाउने कृषक छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । घरव्यवहार चलाएर बचेको पैसाले कच्ची घरलाई पक्की बनाएको स्थानीय कृषक हिरा कुँवरले बताए ।  

‘खर हुने पाखो र खेती लगाउने खेतबारीमा अहिले केरा फलाएका छौँ’, उनले भने ‘दश वर्षको खेतीलाई एक वर्षको केराको आम्दानीले जित्छ ।’ दश वर्षदेखि केरा खेती गर्दै आउनुभएका कुँवरले खबरामा पक्की घर बनाएका छन् । 

गाउँमै परम्परागत खेती किसानी गर्दै आएकादेखि विदेशबाट फर्किएका युवाहरूले केराखेतीलाई आम्दानीको स्रोत बनाएका छन् । उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबरामा केराखेती फस्टाएको हो । किसानहरूले हजारी जातको केरा खेती गरेका छन् । बिरुवा रोपेको दुई वर्षदेखि उत्पादन लिन सकिन्छ । एक घरी केरामा एक हजारवटा सम्म कोसा लाग्ने गर्छ । धेरै पटक मलजल, खनजोत र गोडमेल गर्नु नपर्ने हुँदा केराखेती अन्य फलफूलको तुलनामा सजिलो भएको कृषकको अनुभव छ । केराको घारीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रति १२ कोसा काँचो केरालाई रु ८० देखि एक सय र पकाउँदा रु एक सयदेखि एक सय २० का दरले बिक्री हुने गरेको छ । विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । 

‘तीन वटा बिरुवा ल्याएको थिएँ, आफ्नो जग्गा र गाउँमा पुर्‍याएर म्याग्दीको सिमलचौर, भुरुङ तातोपानीसम्म र पर्वतको नाग्लीवाङ, शालीजा र बागलुङको तितौरेमा बिरुवा लगेका कृषकले राम्रै आम्दानी गरेका छन’, उनले भने, ‘एकै घारीबाट थोरैमा रु एक हजार दुई सयदेखि बढीमा चार हजार दुई सयसम्म आम्दानी हुने भएकाले फाइदा हुन्छ ।’ 

अन्य फलफूलको तुलनामा सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले केराखेती कृषकको रोजाइमा परेको हो । जिल्लामै उत्पादन हुन थालेपछि बेनीमा बाहिरबाट केरा आयात घट्न थालेको छ । बेनीको मल्लाजी फलफूल पसलका सञ्चालक श्रीकृष्ण सुवेदीले पहिलेको तुलनामा केरा आयात घटेको बताए । 

‘खबरा, बगरफाँट, काउलेगौडा, रिसिनचौतारीका कृषकले केरा बेच्न ल्याउँछन’, उनले भने, ‘ताजा र स्वस्थ केरा यहीँ पाइने भएपछि बाहिरबाट ल्याउन कम भएको छ ।’ खबरा म्याग्दी जिल्लामै सबैभन्दा धेरै केरा खेती हुने गाउँ हो ।

सडक भए पनि यातायात सेवा सहज नहुँदा केरा बेच्न डोकोमा बोकेर बजारमा जानुपर्ने, केराको साना कोसा बिक्री नहुने र कोसामा दाग देखिने समस्या रहेको अगुवा कृषक सोवित शर्माले बताए । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले दुई वर्षअघि बिरुवा वितरण गरेको थियो । 

रोग भित्रिन नदिनका लागि बगैँचा व्यवस्थापन र सरसफाईसम्बन्धी तालिम आवश्यक रहेको कृषक शर्माले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खबरालाई ब्लकमा समावेश गरेर केराखेती विशेष कार्यक्रम सञ्चालन गर्न माग गरिएको उनले बताए । 

ठूला कोसा बिक्री भए पनि साना कोसा बिक्री नहुने समस्या छ । बिक्री नहुने साना कोसा भएका केरालाई अन्य परिकार बनाउने सीपको आवश्यकता छ । दर्जनको विकल्पमा तौलको आधारमा मूल्य निर्धारण गर्न पनि खबराका कृषकले माग गरेका छन् ।  

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ६ : ४२ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ