रोल्पामा बढ्दो दुर्घटना रोक्न सडक स्तरोन्नतिको आवश्यकता रहेको सरोकारवालाको भनाइ « Khabarhub

रोल्पामा बढ्दो दुर्घटना रोक्न सडक स्तरोन्नतिको आवश्यकता रहेको सरोकारवालाको भनाइ


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – गत कात्तिक २८ गते रोल्पाको माडी गाउँपालिका–१ घर्तीगाउँमा भएको जीप दुर्घटनामा एक महिलासहित तीन जनाको ज्यान गयो । दुर्घटना घर्तीगाउँ बजार नजिक शहीदमार्गमा भएको थियो । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका थिए । घटनामा तीन गम्भीर घाइते भए।

गत मङ्सिर १ गते माडी गाउँपालिका–४ तार्केवाङमा भएको बस दुर्घटनामा एक महिलासहित चार जनाको ज्यान गयो । दुर्घटनामा १८ जना घाइते भए। दाङ घोराहीबाट रोल्पाको थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाँउपालिका–४ तार्केबाङ शहीदमार्गमा दुर्घटना भएको थियो । बस शहीदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । जलजला दर्शनका लागि सो बस बुकिङ गरिएको थियो ।

यस्तै गत पुस १८ गते रोल्पा नगरपालिका–९ ह्वामा गर्पामा अटोरिक्सा दुर्घटना भयो । दुर्घटनामा चालकको मृत्यु भयो । रोल्पामा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-७८ मा रोल्पामा १४ सवारीसाधन दुर्घटनामा परे । दुर्घटनामा तीन महिलासहित १५ जनाले ज्यान गुमाए । दुर्घटनामा १५ महिला, ११ पुरुष र नौ बालबालिका घाइते भए ।

यस्तै आव २०७६-७७ मा जिल्लामा २४ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा परी दुई महिला, १० पुरुष र एक नाबालिकाको ज्यान गयो । दुर्घटनामा पाँच महिला, १९ पुरुष र ६ बालक घाइते भए । आव २०७५-७६ मा २६ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा एक महिला, १० पुरुष र चार बालबालिकाको ज्यान गयो । दुर्घटनामा २३ महिला, २५ पुरुष र नौ बालबालिका घाइते भए ।

जिल्लामा पक्की सडक ५८ किलोमिटर मात्रै छ । चकचके लिवाङ खुङ्ग्री लिवाङखण्ड ३८ किलोमिटर, लिवाङ सिमलवाङ पाँच किलोमिटर, घोराही चुनवाङ शहीदमार्ग १३ किलोमिटर र सुलीचौर काधधारादेखि केराबारी तीन किलोमिटर लामो छ । जिल्लाका अन्य सबै सडक कच्ची छन् । अधिकांश सडक मापदण्ड विपरीत छन् । साँघुरो मोड, मापदण्डभन्दा बढी उकालोओरालो भएका सडकमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रञ्जित आचार्यको भनाइ छ ।

जिल्लाभर सडक सञ्जाल विस्तार भए पनि यसको नियन्त्रण र नियमन गर्ने निकाय ट्राफिक प्रहरीको पहुँच भने निकै कम छ । जिल्लामा हाल १२ मात्रै ट्राफिक प्रहरी कार्यरत छन् । सदरमुकाम लिवाङमा पाँच जना, सुलीचौर र होलेरीमा दुई-दुई तथा सातदोबाटो, दारबोट र घर्तीगाउँमा एक-एक ट्राफिक प्रहरी कार्यरत छन् । सडकका खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाएको छ । सडक स्तरोन्नतिका नाममा बर्सेनी करोडौँ बजेट खर्च हुने गरेको छ । बाटोको अवस्था भने उस्तै छ ।

जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद् पक्ष भएको सरोकारवालाको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झण्डै ६० प्रतिशत बजेट विनियोजन गर्ने गर्दछन् । सङ्घीय सरकार र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । यो क्रमले विगत पाँच वर्षयता निरन्तरता पाइरहे पनि जिल्लाका सडक गुणस्तरीय भएको जिल्लावासीको गुनासो छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १२ : ०५ बजे

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि