अडियो सुन्नुहोस्ः
प्रधानमन्त्रीले गरे टाइफाइड खोप अभियानको शुभारम्भ
प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड रोग नियन्त्रणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गर्न सकेको उल्लेख गरे ।
नवनियुक्त कानुनमन्त्री कोइरालाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै बिभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नसकेको भन्दै आफ्नो ध्यान यसैमा केन्द्रित गर्ने बताए । प्रधानमन्त्रीले शान्ति प्रक्रियाका विषयलाई निष्कर्षमा पुराउन दिएको जिम्मेवारी पुरा गर्ने उनको भनाइ छ ।
नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको राष्ट्र बैंकको दाबी
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेपालमा अर्थतन्त्र भयावह अवस्था नरहेको र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताए । उनले नेपालको मुद्रा स्फिर्तीमा पनि समस्या परेको उल्लेख गरे । शोधनान्तर स्थिति, नेपालबाट कति रकम बाहिर गयो ? र नेपालमा कति रकम बाहिरबाट आयो ? भन्ने कुरा हेर्दा शोधनान्तर स्थिति २४७ अर्बले घाटामा रहेको उनले बताए ।
आपूर्ति व्यवस्थाको समस्यालाई समधान गर्ने उद्योगमन्त्री बडुको भनाइ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चुनौतिपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताएका छन् । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाद्यान्न देखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने बताए । यसका लाग अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारवालासँग छलफल गरिने उनले बताए । उनले थप मूल्यवृद्धिको भार जनतालाई नपार्ने गरि देखिएका समस्याको समाधान खोजिने उल्लेख गरे ।
ओली सरकारका मन्त्रीहरूले सरकारी सम्पत्ति कौडीको भाउमा निजीलाई दिएः आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरूले भ्रष्टाचार गर्दै सरकारी सम्पत्ति कौडीको भाउमा निजी क्षेत्रलाई दिएको आरोप लगाएका छन् । आज छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री ओलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पत्ति फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने पनि बताए । उनले आफू मन्त्री भएपछि सरकारी सम्पत्तिको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैयाँ उठेको जिकिर गरे ।
एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताका केही बुँदामा असहमति जनाएको छ । आज एमालेका महासचिव शंकर पोखरेलको टोलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै आचारसंहितामा संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै लिखित रूपमा ६ बुँदे असहमति प्रस्तुत गरेको हो । एमालेले आचारसंहितामा संविधान र कानुनसँग बाझिएको बाहेकका विषय मात्रै मान्ने भन्दै जनाएको छ । उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था, कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने आचार संहिताको व्यवस्थामा एमाले असहमति छ ।
विप्लव नेतृत्वको नेकपाद्वारा चुनावमा भाग लिने वातावरण बनाइदिन आग्रह
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितको टोलीले आज आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाइदिन आग्रह गरेको हो । प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ ।
संसदीय व्यवस्था संकटग्रस्त, व्यवस्थाको चुनाव गरौँ भाग लिन्छौँ : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले २०३६ सालमा पञ्चायत र बहुदलबीच जनमतसंग्रह गरेजस्तै अहिले संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको बीचमा जनमतसंग्रह गरे चुनावमा भाग लिने बताएका छन् । संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै उनले जनताले शासन गर्न पाउने व्यवस्था ल्याउन वैज्ञानिक समाजवादको व्यवस्था लागू गर्नुपर्ने बताए । नेकपाले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगर्ने भन्दै यो व्यवस्था दलाल र पुँजीपति वर्गको मात्रै व्यवस्था भएको बताए ।
संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई छैन : दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको बताएका छन् । सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार नरहेको बताए । संविधानमा धेरै विषय समेट्न बाँकी रहेको भन्दै उनले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको बताए । नागरिकतासम्बन्धी समस्या मधेसमा रहेको बताउँदै उनले अध्यादेशमार्फत भए पनि नागरिकताको समस्या समाधान गरिने बताए ।
समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई उर्जामन्त्री पम्फा भुषालको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छन् । आज ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकासको लक्ष्य लिइएको समेत बताइन् । मन्त्री भुसालले निजी क्षेत्रका जति संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने विश्वास व्यक्त गरिन् ।
गण्डकीका मन्त्री मनाङ्गेलाई कारबाही गर्न कर्मचारीको माग
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् । निजामती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको पेसागत हक हितको संरक्षण अनिवार्य हुनुपर्ने मागसहित उनीहरू आन्दोलित बनेका हुन् । राजनीति र प्रशासन एकै सिक्काका दुई पाटा भएको भन्दै राजनीतिले प्रशासनलाई विभिन्न आक्षेप लगाएको स्पष्ट रहेको भन्दै उनीहरूको संयुक्त विज्ञप्तिमा जारी गरी मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले गरेको निन्दनीय घटनाप्रति ट्रेड युनियनकर्मीले भर्त्सना गरेका छन् ।
म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने
म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने भएको छ । आउँदो निर्वाचनका लागि पाँचवटै दलका जिल्ला नेतृत्व बसेर सबै पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । यहाँ ६ वटा पालिका छन् । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा बिहीबार कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले साझा उम्मेद्वार घोषणा गरेर जाने सहमति गरेका हुन् । वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्वारको टुंगो लाग्ने नेताहरूले बताएका छन् ।
चुनावी तालमेलका लागि प्रदेश १ मा बन्यो गठबन्धनको कार्यदल
सत्तारुढ गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलका प्रदेश १ मा कार्यदल गठन गरेको छ । विराटनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूले आज कार्यदल गठन गरेका हुन् । कांग्रेस प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीबाट प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा कार्यदलमा रहेका छन् ।
सर्लाहीमा ५ दिनदेखि बेपत्ता बालकको छिमेकीद्वारा हत्या
सर्लाहीमै छिमेकीले हत्या गरेर सेप्टी ट्याङ्कीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठु भनिने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेप्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ । गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएका थिए ।
जनकपुरको फोहोर तत्काल उठाउन उच्च अदालतको आदेश
उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तत्काल उठाउन आदेश दिएको छ ।उपमहानगरपालिकामा लामो समयदेखि फोहोर नउठाइँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै परेको रिटमा उच्च अदालतले फोहोर मैला संकलन, व्यवस्थापन र सुरक्षित विसर्जन तत्काल गर्न आदेश दिएको हो ।
नेप्सेमा दोहोरो अंकको सुधार
यस साता लगातार चार दिन घटेको बजार पाँचौं दिन आज भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ । बजार उकालो लागे पनि कारोबार रकममा भने खासै सुधार आएको छैन । २२४ वटा कम्पनीको सेयर कारोबार हुँदा कारोबार रकम भने दुई अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२४ वटा कम्पनीमध्ये १९० वटा हरियो २७ वटा रातो र सातवटा भने स्थिर रहेका छन् ।
भन्सार छलेर भित्र्याएका ७ बुलेट मोटरसाइकल बरामद
प्रहरीले भन्सार छली चारी पैठारी गरि नेपाल भित्राएर नक्कली नम्बर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाइकल बरामद गरेको छ । भारतीय नाकाबाट बिभिन्न मोटरसाइकल भन्सार छली र चारी पैठारी गरि नेपाल भित्र्याई नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका बिभिन्न स्थानबाट ७ वटा बुलेट मोटरसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।
हतियारसहित पर्सामा ३ जना पक्राउ
सर्लाहीको मलंगवामा गोली हानी एक युवकको हत्या भएको २४ घण्टा नबित्दै पर्साबाट लङ रेन्जको दुईनाले हतियार सहित ३ अभियुक्त पक्राउ परेका छन् । उनीहरूलाई मोटरसाइकलबाट गल्लीमा निस्केको सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गर्न सफल भएको हो।खुला सिमानाका कारण सीमावारि हुन सक्ने आपराधिक गतिविधि रोक्न खटेको सशस्त्रको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–३ नहर चोकबाट बिहीबार पक्राउ गरेको हो ।
प्रतिक्रिया