फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौँ महानगर | Khabarhub Khabarhub

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौँ महानगर


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरूप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ।

नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडक पेटी) व्यवस्थापन भएको बताए। उनले भने, “सडक पेटी पैदल यात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडक पेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।”

एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएका  उनले स्मरणसमेत गराए। महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगर सभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ ।

“महानगरको कार्यपालिका बैठकको निर्णयअनुसार हामीले काम अगाडि बढाएका हौँ, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडक पेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो”, सापकोटाले भने।

काम गर्दा आलोचना आउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले सडक अतिक्रमणलाई नियन्त्रण गर्ने काम महानगरले गरेको बताए। अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफूले  स्वभाविकरुपमा लिएको उनको भनाइ छ । फुटपाथ व्यवस्थापनको काम आम नागरिकको हितका लागि गरिएको प्रमुख सापकोटाले बताए।

“सडक पेटी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने काम कुनै पनि बहानामा सकारात्मक होइन, महानगरको नीतिमा २४ घण्टा फुटपाथमा व्यापार गर्न पाइने छैन, यदि कतै भएको छ भने त्यो महानगरको आँखा छलेर भएको हो, आगामी दिनमा ती सबैलाई कानुनी दायरामा ल्याउने प्रयास महानगरको रहन्छ”, उनी भन्छन् ।

फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उनले बताए । सडक किनारामा मकै पोलेर बिक्री गर्दै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका केही आलोचित भएको थियो ।

उक्त घटनाको स्मरण गराउँदै उनले भने, “साँझ बिहान केही त्यस्ता स्थानमा हामीले छाड्ने गरेका छौँ, तर त्यो पनि महानगरको नीतिमा पर्दैन, केही दिनअघिको घटनाको सन्दर्भमा भने दिउँसोको हो, त्यो त हामीले छाड्ने कुरै भएन ।” महानगरले अहिले दैनिक चार टोली खटाएर अतिक्रमण नियन्त्रणको काम गरिरहेको बताइएको छ । अहिले बढी मात्रामा सडक अतिक्रमण हुने स्थान  सुन्धारा, न्युरोड, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, नयाँ बसपार्क, बालाजु, कलङ्की, कालीमाटीलगायत छन् ।

महानगरले पटक–पटक सूचना जारी गर्ने, माइकिङ गर्ने काम गर्दा पनि अटेरी गरेपछि कामपा निरीह बन्नुपरेको उनी बताउँछन् । पटक पटकको आग्रहलाई बेवास्ता गरेपछि  महानगरले सामग्री जफत गर्नुपरेको जनाइएको छ ।

जफत गरिएका सामग्री लिलाम

सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ । सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्वलनशील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ ।

चालु आवमा रु १५ लाख सामग्रीको लिलाम प्रक्रिया अघि बढाइएको छ । गत आवमा रु ५२ लाख बराबरका सामान लिलाम गरिएको थियो । प्रमुख सापकोटाका अनुसार त्यसमा फलामजन्य, होडिङ बोर्ड, पाइप, साइकल र ठेला गाडालगायतका सामान रहेका थिए । यसरी लिलाम गरेर असुल भएको रकम महानगरको कोषमा जम्मा हुने गरेको बताइएको छ ।

‘फुटपाथको विकल्प चाहिन्छ’

महानगरले नीतिको कुरा गरिरहँदा सडकमा नै व्यापार गरेर गुजारा गरिरहेका परिवारको व्यथा भिन्न छ । विगत १० वर्षदेखि सुन्धाराको सडकमा कपडाको व्यापार गर्ने रामेछापकी ५३ वर्षीया मनमाया पौड्यालले सडक व्यापारले तीन जनाको परिवारलाई लालनपालन र छोराछोरीलाई पठनपाठन गरिरहेकी छिन् । अहिले परिस्थिति बदलिएपछि कति बेला नगर प्रहरी आएर सामग्री जफत गर्ने हो पत्तो नै नभएको उनी बताउँछिन् ।

“गाउँ छोडेको १५ वर्ष भयो, छोराछोरी ठूला भइसके, पुनः गाउँ जानका लागि छोराछोरी मान्दैनन्, आगामी दिनमा छोराछोरीको सहरमा बस्ने रहर पूरा गर्न कठिन छ”, उनले भनिन् । फुटपाथमा व्यापार नगर भनिरहँदा महानगरले अन्य विकल्प खोजिदिनुपर्ने मनमायाको भनाइ छ ।

सत्र वर्षदेखि डल्लुपुलको मुखमा फलफूलको व्यापार गर्दै आएका रामजनम मिश्रको समस्या पनि मनमायाको भन्दा फरक छैन । उनको पनि फलफूलको टोकरी नगर प्रहरीले जफत गरेको धेरै पटक भइसक्यो  । उनले पटक पटक जफत गरिएको सामानको जरिवाना तिर्दै फिर्ता ल्याउने गरेका छन्। फलफूलको व्यापार गरेकै भरका रामजनमले चार छोराछोरीसहित छ जनाको परिवार पाल्दै आएका छन् । आगामी दिनमा पनि फलफूलको टोकरी जफत भए आफ्नो छ जनाको परिवारको गाँस टुट्ने भन्दै व्यापार गर्नका लागि अन्य वैकल्पिक स्थानको उनले माग गरेका छन् ।

महानगरले भने तत्कालका लागि उनीहरूका लागि अन्य कुनै निश्चित समय वा ठाउँ दिने अवस्था नरहेको र फुटपाथ व्यवसाय व्यवस्थित गर्न नियन्त्रण गर्नेबाहेक अरू विकल्प नभएको जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १२ : ११ बजे

आईपीएल : दिल्लीविरुद्ध गुजरात १० विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

झापा – अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ

आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ