बैतडी- बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् ।
यस्तै जिल्लाका ती स्थानीय तहमा बाढीको समेत जोखिम रहेको उल्लेख गरिएको छ । सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम रहेको बताइएको छ ।
त्यहाँको स्थानलाई विगतका वर्षमा पहिरो र बाढीले गरेको क्षति र विभिन्न सर्वेक्षणका आधारमा उच्च र मध्यजोखिम भनेर छुट्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने,“ उच्च र मध्य जोखिम छुट्टाएका छौँ, सोही आधारमा सम्बन्धित स्थानीय तहलाई पूर्व तयारी गर्न भनिएको छ । साथै सुरक्षित स्थानको पहिचान पनि गर्न आग्रह गरेका छौँ । ”
वर्षात्को समयमा विपद्का घटना हुनसक्ने भएकाले सम्भावित घटनाबाट जोगिनका लागि आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ ।
पहिरोका कारण विगतमा जनधनको क्षति भएकामा अहिले पनि पहिरोको जोखिम बढिरहेकोले सतर्क हुन आग्रह गरिएको छ । गत वर्ष मात्रै जिल्लामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र करोडौँको सम्पत्ति र कृषि बालीमा क्षति पुगेको थियो ।
प्रतिक्रिया