निर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारमा व्यस्त « Khabarhub

निर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारमा व्यस्त


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

घोराही– आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ-गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरू उनीहरूलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् । 

तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा अधिकांश उम्मेदवार घोषणापत्रसँगै आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । 

प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवारले  मतदातालाई रिझाउन काम गरेको ठाउँमा पुगेर धान काट्ने, खेत जोत्नेदेखि खन्ने समेतका काम गर्ने गरेका छन् । निर्वाचन प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिन्हको विषयमा मतदातालाई सिकाउने काम गरिरहेको नेपाली कांग्रेस दाङका सचिव क्षेत्र नं. २ का सचिव रमेश केसीले जानकारी दिए ।

क्षेत्रीय सचिव केसीका अनुसार गठबन्धनले चुनावी प्रचारप्रसारका क्रममा भेटघाट, घरदैलोसँगै मत बदर हुन नदिन मतदान गर्ने तरिका बारेमा सिकाउने गरिरहेका छन । ‘निर्वाचनका लागि घरदैलोसँगै मतदाता भेटघाटका कार्यक्रमहरू सबै निर्वाचन क्षेत्रहरूमा भैरहेका छन्’, सचिव केसीले भने, ‘स्थानीय तह निर्वाचनमा गठबन्धनको धेरै मत बदर भएकाले यसपटक बदर मत घटाउनका लागि मतदातालाई सिकाउने काम भैरहेको छ ।’

एमालेले पनि सबै निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा भेटघाट तथा वडा भेला गरी उम्मेदवारले आफ्ना कुरा मतदातालाई राख्ने काम गरिरहेको नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । ‘मतदता भेटघाटसँगै वडास्तरीय भेलाको आयोजना गरेर उम्मेदवारहरू प्रचारप्रसारमा हुनुहुन्छ’, सचिव बुढाथोकीले भने। त्यसैगरी सत्ता गठबन्धन र एमालेसँगै निर्वाचनमा आफ्नो पक्षमा मत तान्न अन्य साना दलका उम्मेदवार पनि मतदाता भेटघाट र घरदैलोमा जुटेका छन् । 

यद्यपी जिल्लामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी र एमाले उम्मेदवार एवं निवर्तमान सांसद शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । यद्यपि उक्त क्षेत्र थारू बाहुल्य क्षेत्र हो । सो क्षेत्रमा पूर्व सांसद गङ्गा चौधरी, रुक्मिनी चौधरी र नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा गएर उम्मेदवार बनेका सुरेन्द्र चौधरी पनि प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेता रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि चुनावी प्रचार–प्रसारका क्रममा व्यस्त छन्। नेतृ शर्मा र एमालेका महासचिव समेत रहेका पोखरेलबीचको प्रतिस्पर्धालाई यहाँ चासोका साथ हेरिएको छ । त्यसैले निर्वाचनमा आफ्नो पक्षमा मत बढाउनका लागि शर्मा र पोखरेल आफ्नो क्षेत्रमा बिहानैदेखि मतदाता भेटघाट र वडास्तरका चुनावी सभामा सहभागी हुँदै आएका छन्। 

क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेबाट उम्मेदवार कोमल वली पनि प्रचारप्रसारका लागि घरदैलोमा जुटेका छन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्रमा उम्मेदवारहरू मतदाता भेट्नका लागि घर पुग्नेदेखि वडाहरूमा कार्यक्रम गरेर आफ्ना एजेण्डाहरू राख्दै चुनाव प्रचारप्रसार गर्दै आएका छन् । जिल्लामा ४ लाख बढी मतदाता छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : ३० बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको