चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गरेका छन् । जसले गर्दा अस्पतालमा बिरामीको चाप बढिरहेको छ । संसारमा धेरै लाग्ने समस्या भनेर रुघाखोकीलाई लिइएको चिकित्सकको भनाइ छ । रुघाखोकीलाई भाइरसको कारणले लाग्छ भनिएता पनि अरू कारणले पनि आउने चिकित्सकको भनाइ छ । यसै विषयमा आधारित भएर जनरल फिजिसियन डा. चन्दन ठाकुरसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
चिसो मौसममा हुने मौसमी रुघाखोकीलाई हामीले कसरी बुझ्ने ? मौसम बदलिने बेला हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति भन्दा भाइरसको सङ्क्रमण बढी हुन्छ र ब्याक्टेरिया पनि सङ्क्रमण हुन्छ ।
यो सबैलाई एउटै प्रकारले लाग्ने हो कि फरक हुन्छ ? यसलाई हाम्रो मेडिकल भाषामा सिजनल फ्लु पनि भनिन्छ यो धेरै भाइरसको कारणले हुन्छ । त्यसैले खानपानमा ध्यान दिएर यो मौसमी फलफूलहरूको सेवन जस्तोः सुन्तला, कागती पानी र महको सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।
यो एकबाट अर्कोमा कसरी सर्छ त ? यो मौसमी रुघाखोकी को बेलामा जो कोहीले पनि अरूको अगाडि बस्दा मास्कको प्रयोग गर्ने, हाछ्यू गर्दा मुख छोप्ने यसरी अरूमा सर्नसक्ने सम्भावना निकै कम भएर जान्छ । सङ्क्रमितले अरूको सामान प्रयोग नगर्ने । धेरै भिडभाडमा नजाने । जो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कम छ उसमा यो छिटो सर्छ ।
रुघाखोकीसँग मिल्दो जुल्दो अरू समस्या पनि देखिन्छन्, यो मौसमी फ्लु नै हो भनेर कसरी थाहा पाउने ? यसमा सबैभन्दा पहिला ज्वरो १०० डिग्री भन्दामाथि जाँदैन । यसका लक्षणहरू आँखा रसाउने नाकबाट पानी बग्ने, खोकी लाग्ने हुन्छ । र रगतको जाँच गरेर पनि थाहा हुन्छ ।
मौसमी रुघाखोकी लाग्दा घरमा के गर्ने त ? यो कसैलाई ३ देखि ५ दिनसम्म रहन्छ र कसैलाई ७ दिनसम्म पनि रहन्छ । त्यस्तो भयो भने, झोलिलो खाना खाने, सुन्तला खाने,फ्रिजमा भएका खाना नखाने गर्दा यो आफै हराएर जान्छ । यो ५ दिन भन्दा बढी लम्बियो भने तुरुन्त अस्पताल गएर परामर्श लिनुपर्दछ ।
कस्तो अवस्थामा अस्पताल जाने ? श्वास फेर्न निकै गार्हाे भयो । खकारमा रगत देखा पर्याे । मुटुको ढुकढुकी बढ्यो भने तुरुन्त अस्पतालमा गएर रगत र खकारको जाँच गर्नुपर्दछ ।
यस्तो समस्या हुँदा आफू खुसी मेडिकल गएर औषधि खाँदा पछि के असर गर्दछ ? यस्तो बेला रुघाखोकी लागेको छ भने हामीले सिटामोल खाने भन्छौ । यदि कुनै मान्छेमा ज्वरो आएको छ भने प्लेन प्यारा सिटामोल भन्दा बाहेक अरू औषधि नखाने त्यसले उल्टो असर गर्नसक्छ । झोलिलो खानेकुरा खाने, जथाभावी औषधि खायो भने पछि कडा औषधिको प्रयोग गर्नु पर्दछ ।
आफूखुसी औषधि खाँदा अरू औषधिले काम गर्दैन भनिन्छ यसको वास्तविकता के हो ? हरेक औषधिको समय र कति मात्रामा खाने भन्ने हुन्छ । कुनै औषधिको मात्र पुगेन भने हाम्रो शरीरभित्र भएका किटाणुहरु मर्दैनन् र पछि त्यही औषधि खाँदा त्यो किटाणु मर्दैनन् । त्यसैले जथाभावी औषधि खानु हुँदैन ।
यो रोग जँचाएर औषधि खाइरहेकाले के के कुरामा ध्यान दिने त ? रुघाखोकी भनेको भाइरसको कारणले हुने हो । त्यसैले यसमा यान्टिबायोटिकको प्रयोग नगर्ने, झोलिलो खाना खाने, सिटामोल खाँदा यो आफै निको हुन्छ र भएन भने चिकित्सकको सल्लाहमा अरू औषधि खानु परे खान सकिन्छ ।
यस्तो समस्या नै नआओस् भनेर के के कुरामा ध्यान दिने ? रोग प्रतिरोधात्मक क्षमता बढाउने त्यसमा उसिनेको अण्डा खाने, त्यसमा ४० वर्ष कटेकाले अण्डाको सेतो भाग मात्र खाने, स्याउ र सुन्तला खाने, बासी खाना नखाने । पानी मनतातो बनाएर खाने ।
एउटा जनरल फिजिसियन भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ? बिहान ३० देखि ६० मिनेट जति घाममा बस्ने, कागतीको सेवन गर्ने, चिसोबाट बच्ने र मौसमी फलफूलको सेवन गरेर मौसमी रुघाँखोकिबाट बच्न सकिन्छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)