युक्रेनबाट के चाहन्छन् पुटिन ? के ले प्रेरित गर्‍यो युक्रेनमाथि घातक सैन्य हमला ? « Khabarhub

युक्रेनबाट के चाहन्छन् पुटिन ? के ले प्रेरित गर्‍यो युक्रेनमाथि घातक सैन्य हमला ?



यही फागुन १२ गते (२४ फेब्रुअरी) बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै युक्रेनमा ‘विशेष सैनिक कारवाही’ शुरु गरेको घोषणा गरे । पुटिनको आदेशसँगै रुस – युक्रेन सीमामा महिनाअघिदेखि तैनाथ रुसी फौजले युक्रेनमाथि सैन्य कारवाही थालिहाले ।

धेरैले विश्वास नगरेको रुसले युक्रेनमाथि निकट भविष्य मै आक्रमण गर्दै छ भन्ने अमेरिकी गुप्तचर रिपोर्टलाई सही साबित गर्दै पुटिनले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा ठूलो सैन्य आक्रमण थाले ।

धेरैले पुटिनले सैन्य कारवाही गरिहालेपनि सीमित क्षेत्रमा मात्र गर्नेछन् भन्ने अनुमान पनि गलत साबित भयो । बहुसङ्ख्यक रुसी भाषीको बसोबास रहेको पूर्वी युक्रेनकोडोनबास क्षेत्र तर्फ मात्रै सीमित हुने धेरैको अनुमान थियो । आक्रमणको केही दिनअघिमात्रै पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्र  ‘लुहान्स्कजनगणतन्त्र’ र ‘डोनेत्स्क जनगणतन्त्र’ लाई स्वतन्त्र राज्यका मान्यता दिएका थिए । धेरैले तीनै क्षेत्रमा मात्र रुसी कारवाही हुन सक्ने ठाने पनि पुटिनले सिंगो युक्रेनमै कब्जा गर्ने सैन्य अतिक्रमण थाले ।

दक्षिणमा क्राइमिया, उत्तरमा रुसको कठपुतली सरकार रहेको बेलारुस र पूर्वमा रुसी भूमिबाट गरी तीन दिशाबाट युक्रेनमा रुसी सेना प्रवेश गरी ठूलो सैन्य कारवाही थाल्यो । युद्धका घटनाक्रमहरू छर्लङ्ग हुँदै जाँदा विश्लेषक र विशेषज्ञहरूको अनुमान गलत साबित हुन पुग्यो । पुटिनको लक्ष्य डोनबास मात्रै नभई पूरै युक्रेन नै कब्जा गर्नु रहेको स्पष्ट हुँदै गयो ।

अहिले धेरैको मनमा उब्जेको प्रश्न हो, आखिर पुटिन के प्रेरणाले युक्रेनमाथि आक्रमण गरिरहेका छन् र उनको दिमागभित्र के चल्दैछ ? पुटिनले किन युक्रेनविरुद्ध आक्रमण गरे भन्ने प्रश्नको जवाफ थाहा पाउन हामीले पुटिन को हुन् भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ । जसका लागि हामी ९० को दशकतिर फर्कनुपर्छ ।

सन् १९८९ मा साम्यवादी पूर्व र लोकतान्त्रिक पुँजीवादी पश्चिमको सीमा ठानिने बर्लिनको पर्खाल ढल्यो । पुटिनको जीवनी ‘द न्यू जार–राइज एण्ड रेइन अफ भ्लादिमिर पुटिन’ मा स्टिभन ली मायर्सले एउटा चाखलाग्दो घटना लेख्छन्, – १९८९ । बर्लिन पर्खाल ढल्यो । पूर्वी जर्मनीको डेस्डन शहरमा रुसी गुप्तचर एजेन्सी केजीबीको अधिकृतको रुपमा युवा पुटिन तैनाथ छन् । मानिसहरूको भीडले जर्मन गुप्तचर प्रहरी कार्यालयमा आक्रमण गर्छन् । उनीहरूको रिस केजीबीको आवास तर्फ सोझिन्छ । पुटिन स्थानीय सोभियत सैनिक कमाण्ड सँग सहयोग माग्छन् । सहयोगको उत्तर ‘मस्को मौन छ ।’ भन्ने आउँछ । पुटिन त्यसबेलासम्म पूर्वी जर्मनीको शासन गर्ने मस्कोबाट आएको जवाफलाई विश्वासघात ठान्छन् र पुटिन आफै क्रुद्ध भीडलाई शान्त पार्न जान्छन् । ‘मेरा सैनिकसँग हतियार छन् । र म आदेश दिन्छु- जो कोही भवनको प्राङ्गण आउन खोज्छ, उनीहरुले गोली चलाउने छन् ।’

बर्लिनको पर्खाल ढलेको घटनाले उनको मानसपटलमा गहिरो छाप परेको बताउने गरिएको छ। बर्लिनको पर्खाल ढलेको घटनालाई धेरैले तानाशाही साम्यवाद विरुद्ध लोकतान्त्रिक पुँजीवादको विजयको रुपमा व्याख्या गरेपनि पुटिनका लागि भने यो पूर्वी युरोपमा सोभियत संघ र रुसको शक्ति पतन भएको र रुसको हार भएको घटनाले पिरोलिरहेको थियो । पुटिनले लामो समयसम्म साम्यवादको पतनलाई शताब्दीकै भयाभह भूराजनीतिक दुघर्टनाको रुपमा चित्रण गर्ने गरेका छन् र उनी पुरानो सोभियत संघको विरासत फर्काउँने प्रयासमा रहेको पश्चिमा देशहरुको बुझाई छ ।

युरोपमा यस्तै राजनीतिक उथलपुथलका बीच उनको देश सोभियत संघ पनि पतनको संघारमा थियो । सोभियत संघको पतनसंगै नयाँ व्यवस्था रुसमा व्यवहारमा नै लागू भइसकेको थिएन । यतिमात्र होइन, नयाँ व्यवस्था कस्तो हुने भन्ने पनि अन्यौल कायमै थियो ।

यति नै बेला पूर्वी जर्मनीको ड्रेस्डन शहरमा तैनाथ केजीबी एजेन्ट पुटिन गृह नगर सेन्ट पिटर्सबर्ग (लेनिनग्राद) फर्के । जीवनको यो मोडमा पुटिनसँग कुनै रोजगारी थिएन । पुटिन आफैँले खर्च जुटाउनका लागि ९० को दशकमा रातीको समयमा कसैलाई थाहा नदिई ट्याक्सी चलाउने काम गरेको समेत बताइन्छ।

अन्य रुसी नागरिकहरुका लागिजस्तै पुटिनका लागि पनि सोभियत संघको पतन खुशीको खबर थिएन । सोभियत संघको विघटनसँगै पूर्वी युरोप र मध्य एसियामा रुसको प्रभुत्व पनि गुम्न पुग्यो । पुटिनको राजनीतिक दर्शन पनि सोभियत संघको विघटनबाट प्रभावित भएको बताइन्छ । सन् २०१७ मा ओलिभर स्टोनलाई दिएको अन्तरवार्ताका क्रममा पुटिनले तत्कालीन सोभियत नेता मिखाइल गोर्भाचेभविरुद्ध भएको ‘कु’ पछि विकसित घटनाक्रम प्रति विमती राख्दै केजीबीबाट पनि राजीनामा दिएको बताएका थिए । यतिमात्रै होइन, उनले सोभियत संघको पतन २० औँ शताब्दीमा भएको सबैभन्दा घातक भूराजनीतिक परिवर्तन रहेको जनाएका थिए ।

‘द इन्भेन्सन अफ रसिया’ पुस्तकमा अर्केदी ओस्त्रोभ्स्की पुटिनको राजनीतिक दर्शन रुसी साम्राज्यको शक्तिलाई पुनर्स्थापना गर्ने प्रेरणाबाट प्रभावित रहेको बताउँछन् । ‘जसले सोभियत संघलाई सम्झिदैन, उसँग हृदय छैन अनि जो सोभियत संघलाई फिर्ता ल्याउन चाहन्छ, उसको दिमाग छैन ।’ पुटिनको यो भनाई लोकप्रिय छ ।

विश्लेषकहरु यसलाई पुटिन सोभियत संघ जत्तिको शक्तिशाली तर सोभियत शासनव्यवस्था रहित रुसी राष्ट्रको पक्षमा रहेको शैलीमा विश्लेषण गर्छन् ।

पुटिन के सोच्छन् भन्ने कुरा पुटिन वरपर भएका मानिसहरुले पनि बुझ्न गाह्रो पर्ने बताइन्छ् । दुई महिना अघिमात्रै सार्वजनिक नीतिका लागि सानफोर्ड विद्यालयका सिमोन माइल्सले पत्रकारहरुलाई भनेका थिए, ‘पुटिनको लक्ष्य के हो रुसी कूटनीतिज्ञहरुलाई समेत यसबारे थाहा होला जस्तो मलाई लाग्दैन ।’

उनी के सोच्छन् भन्ने उनले युक्रेनमाथि आक्रमण गर्ने बेला दिएको बयानबाट केही अनुमान भने लगाउन सकिन्छ । ‘उनीहरुको एउटै उद्देश्य छ । रुसको विकास नहोस् । उनीहरु पहिले जसरी नै कुनै कारण बेगर प्रस्तुत भइरहेका छन् ।’ यो पुटिने युक्रेनमाथि आक्रमण गर्नुअगाडि दिएको भाषण हो ।

‘अठारौं उन्नाइसौं र बीसौं शताब्दीमा जस्तै रुसलाई रोक्ने राजनीति अझैपनि जारी छ । हाम्रो अस्तित्व र स्वतन्त्रता रहेकै कारण हामीलाई एक्लो पार्ने प्रयासहरु भइरहेका छन् ।’ क्राइमियालाई आफ्नो मुलुकमा गाभ्ने बेला पुटिनले यस्तो बयान दिएका थिए ।

‘हामीविरुद्ध उनीहरु’ वा ‘रुस विरुद्ध पश्चिमा मुलुहरु’ भन्ने सोचलाई पुटिनले राजनीतिक हतियार समेत बनाइरहेका छन् । रुसी सोचाई सम्बन्धी इतिहासकार एवम् दार्शनिक मिकल एल्चानिनोफ गाजिर्यनमा लेख्छन्, ‘पुटिन २० औं शताब्दीका इतिहासकार लेभ गुलिमोभले अघि सारेको ‘पेशनआर्नोष्ट’ भन्ने अनौठो सिद्धान्तमा विश्वास गर्छन् ।’ यो सिद्धान्तअनुसार हरेक मानिसमा निश्चित ज्योतिषीय शक्ति रहेको हुन्छ । यही शक्तिबाट मानिस प्रभावित भएर काम गर्ने एल्चानिनोफ बताउँछन् ।

पुटिनले गत वर्षको फेब्रुअरीमा भनेका थिए, ‘म पेशनआर्नोष्टमा विश्वास गर्छु । समाजमा जस्तै प्रकृतिमा पनि विकास, चरम र पतन हुन्छ । रुस अहिलेसम्म सर्वोच्च अवस्थामा पुगेको छैन । हामी त्यही बाटोमा छौं ।’

युक्रेनमाथिको आक्रमणमात्रै नभई सन् २००८ मा जर्जियामाथि सैनिक आक्रमण होस् वा २०१४ मा क्राइमियालाई रुसमा गाभ्नेजस्ता कदम पुटिनका यस्तै सोचाईबाट प्ररित रहेको एल्चानिनोफ बताउँछन् ।

अहिले नै किन ? सन् २०१८ मा पुटिन पुनः निवार्चित भएयता सन् २०१४ मा क्राइमियालाई गाभेपछि रुसमा उत्पन्न राष्ट्रवादी लहर विस्तारै साम्य हुँदै गयो । योसँगै रुसमाथि पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्धका कारण देशबासीले जीवनस्तर पनि खस्केको, गरिबी बढेको, मुद्रस्फिती र स्वास्थ्य संकटको महशुस गर्न थाले ।’ उनी लेख्छन्, ‘यससँगै अमेरिका पनि रुसभन्दा चीनसँगकै सम्बन्धमा व्यस्त हुन थाल्यो ।’

पुटिन ‘आफूहरुमाथि अरुबाट अन्याय भइरहेको’ पीडित मानसिकताका साथ जनसद्भाव बटुल्न खोज्ने यसैमा टेकेर आफ्नो र रुसको शक्ति विस्तार गर्ने अभियानमा रहेको विश्लेषकहरु बताउने गर्छन् । अहिले पुटिनले युक्रेनमा आक्रमण गर्दा पनि ‘रुसीहरु विरुद्ध भइरहेको आम नरसंहार’ को बहाना बनाएका छन् । कृत्रिम रुपमा आफैँलाई पीडित देखाएर अनि मानवीय संकटको सिर्जना गर्ने रुसी राष्ट्रपति ‘विवेकी राजनीतिज्ञ’ हुनै नसक्ने एल्चानिनोफको धारणा छ ।

उनी मनोरोगी हुन् कि भन्ने विषयमा अहिले अनेक टिकाटिप्पणीहरु भइरहेका छन् । इजरायलबाट प्रकाशित हुने हारेजमा लेखक योसी मेल्मान प्रश्न गर्छन्, ‘युक्रेन युद्ध अगाडि नै गुप्तचर एजेन्सीहरुले पुटिनको मनोवैज्ञानिक रुपरेखा तयार पारिसकेका थिए । के युक्रेनमाथिको आक्रमण रुसी राष्ट्रपति मानिसक रुपमा बिमार हुन् भन्ने लक्षण हो या यो इतिहास र वास्तविकताबारे विकृत बुझाई भएको लामो समयसम्म शक्तिमा रहेको तानाशाहको रुप हो ?’

अहिले युक्रेनमा रुसी आक्रमण सुस्ताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउने गर्छन् । युक्रेनीहरु जनस्तरबाटै रुसी आक्रमणविरुद्ध प्रतिकारमा उत्रेका छन् । यतिमात्रै नभई रुसी सैनिक उपकरणहरु बन्दोबस्तीका सामानको अभावको चुनौतिका कारण बाटोमै छाड्नुपर्ने अवस्था आइरहेको छ । एनपीआरलाई दिएको अन्तरवार्तामा रुसी इतिहासकारसर्गेईराड्चेन्को भन्छन्, ‘… यो जस्तै  कुनै पनि सैनिक कारवाहीमा बन्दोबस्तीका सामानको समस्या परेकै हुन्छ । र अहिले रुसीहरुले पनि समस्या खेपेको हामीले देखेका छौँ । युक्रेनी प्रतिवादका बीच गाडीहरु नै बीच बाटोमा अलपत्र छाडिरहेका छन् ।’

पश्चिमा मुलुकहरुले युक्रेन आक्रमण विरुद्ध रुसमाथि आर्थिक नाकाबन्दीका साथै अन्तर्राष्ट्रिय समुदायबाट समेत एक्लो बनाइरहेका छन् । फलस्वरुप रुसको अर्थतन्त्र संकटको अवस्थामा छ । रुबलको भाउ ह्वात्तै घटेको छ भने केन्द्रिय बैंकले व्याजदर पनि बढाएर २० प्रतिशत पु¥याएको छ । बैंक र एटीएम मेसिनबाट पैसा निकाल्न मानिसहरूको लामो लाम लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

प्राय सबैखाले ठूला अन्तर्राष्ट्रिय ब्राण्ड र कम्पनीहरुले रुसमा व्यापार नगर्ने घोषणा नै गरिसकेका छन् । मास्टरकार्ड, जारा, सामसुङ्, एप्पलजस्ता कम्पनीले रुसमा व्यापार बन्द गर्ने घोषणाले रुसको अन्तर्राष्ट्रिय साख पनि गिरेको छ । अहिले पश्चिमा मुलुकहरुले मात्रै होइन, जापान, दक्षिण कोरिया, सिंगापुर मात्रै होइन इतिहासमा तटस्थताको पर्याय देशको रुपमा रहेको स्विट्जरल्याण्डले समेत रुसमाथि नाकाबन्दीको घोषणा गर्न भ्याएको छ ।

पुटिन अन्तर्राष्ट्रिय समुदायमा पनि एक्लो बनिरहेको अवस्था छ । केही दिनअघि संयुक्त राष्ट्रसंघ महासभामा युक्रेनमा जारी रुसी आक्रमण बारे छलफल गर्न बसेको बैठकमा भएको मतदानमा नेपालसहित १४१ देशले युक्रेनको पक्षमा मतदान गरेका थिए ।

रुसको कठपुतली सरकार रहेको बेलारुस, रुसी सैनिक तागतको बलमा सत्ता टिकेको सिरिया, आणविक र क्षेप्यास्त्र कार्यक्रमका कारण अन्तर्राष्ट्रिय नाकाबन्दी र एक्लोपन भोग्दै आएको उत्तर कोरिया र जानकारहरुले ‘अफ्रिकाको उत्तर कोरिया’ भन्ने गरेको इरेट्रिया र रुस गरी ५ ले मात्रै रुसको पक्षमा मत दिएका थिए । मतदानमा क्युबा, भेनेजुएला, कजाखस्तान, भारत, चीनजस्ता रुसका साझेदारहरुले अनुपस्थित हुनु नै उचित ठाने ।

यतिमात्रै होइन युद्धका क्रममा युक्रेनी फौजले ११ हजार रुसी आक्रमणकारीलाई मारेको दाबी गर्दै आएको छ । रुस आफैँले पनि ५ सय जति रुसी सैनिकको हताहती भएको स्वीकार गरिसकेको छ । विदेशी भूमिमा आक्रमण गर्दा भएको सैनिक हताहती र पश्चिमा मुलुकहरुले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसमा पुटिनले शुरु गरेको युद्धको विरोधमा प्रदर्शनहरु पनि चर्किरहेका छन् ।

अझ त्यसमाथि रुसी सुरक्षा संस्थापनकै केही वरिष्ठ अधिकारीहरु पुटिनको युक्रेन युद्धप्रति असन्तुष्ट रहेको बताइन्छ । केही दिनअघि बेलायतको द टाइम्स अखबारले युक्रेनी राष्ट्रपतिको हत्या गर्ने पुटिनको योजना रुसी गुप्तचर एजेन्सी एफएसबीकै अधिकारीहरुको सहयोगमा असफल पारिएको खुलासा गरेको थियो ।

एक्कासी युक्रेनमाथि आक्रमण गरेको र अपेक्षा अनुसार नतिजा हासिल गर्न नसकेको अहिलेको अवस्थामा पुटिन पनि व्यक्तिगत रुपमा नै एक्लो बनिरहेको जानकारहरु बताउने गर्छन् ।

के युक्रेनमा भएका हताहतीले रुसीहरुको जनमत परिवर्तन गर्न सक्छ र पुटिनमाथि यसको असर के हुन्छ भन्ने एनपीआरको प्रश्नमा रुसी इतिहासका सेर्गेई राड्चेन्को भन्छन्, ‘यो अवस्थामा पुटिनमाथि यसको कस्तो असर पर्छ भन्न गाह्रो छ । एकदम थोरै विश्वासपात्रबीच घेरिएर पुटिन अहिले बंकरमा बस्ने गरेका छन् । सायद पुटिन अहिले उनीहरूको कुरा पनि सुन्दैनन् । पुटिन आफ्नो कुरा मात्रै सुन्ने किसिमका मान्छे हुन् ।’ उनी भन्छन्, ‘र पुटिन अर्थशास्त्री पनि होइनन् । किनकी उनको दुस्साहसको परिणाम रुसी अर्थतन्त्रका लागि एकदमै नकारात्मक बन्न पुगेको छ । प्रतिबन्धहरुले रुसको अर्थतन्त्रलाई वर्षौंमात्रै होइन दशकौं पछाडि धकेलेको छ जुन चाँडै फुकुवा होला जस्तो लाग्दैन ।’

पुटिन अरुका कुराहरू कति सुन्छन् भन्ने मै संशय छ। गुप्तचर पृष्ठभूमिबाट आएकाले उनका हरेक मुभहरु गोप्य रहन्छन्। पुटिन अहिलेपनि इलेक्ट्रिक सामानहरू प्रयोग गर्दा रणनीतिक कुराहरू गर्दैनन् । उनी निकै सानो घेरामा हुन्छन र निकै कम मात्र खुलस्त कुराकानी गर्छन ।

पुटिन गुप्तचर सेवाबाट आएकाले अरुको सल्लाह औपचारिक रुपमा लिएपनि साँचो सल्लाह चाँही गुप्तचर र सुरक्षाबलकै विश्वासपात्रबाट लिन्छन्।

पुटिनका विश्वासपात्रहरू रक्षामन्त्री सर्गेई शोइगु, विदेशमन्त्री सेरगेइ लाभरोभ, रुसी सैन्य बलका प्रमुख भालेरी गेरासिमोभ, सुरक्षा परिषद्का सचिव निकोलास पात्रुशेभ, संघीय सुरक्षा सेवाका प्रमुख अलेक्जेन्डर बोर्त्निकोभ, विदेशी गुप्तचर प्रमुख सर्गेई नारीश्किनलगायत राजनीतिक र अन्य फाँटका व्यक्तिहरू हुन्। पुटिनसँग रुसका धनाढ्यहरूको पुटिनसँग लामो सङ्गत रहेपनि उनीहरूको संगत भनेको नाफा भइन्जेल र पुटिनबाट फाइदा प्राप्त गर्ने बेलासम्म रहन्छ।

युक्रेनमाथि सैन्य कारवाहीबाट भोगेको क्षति र विश्व जगतबाट एक्लिनुपरेपछि पुटिनमा बदलाभाव बढेको छ । पुटिन सहरै नष्ट गर्न र लाखौं सर्वसाधारण मार्न पनि पछि पर्दैनन् भन्ने यसअघिका युद्धहरुको उदाहरणले देखाउँछ । युक्रेनी सैनिक र नागरिकबाट रुसी सेनाले भोगीरहेको क्षति र अप्रत्याशित प्रतिकारसँगै खस्केको रुसी सेनाको मनोबल बढाउँन पुटिन जुन हदसम्म पनि जानसक्छन् ।

रुसले युक्रेनमाथि कारवाहीलाई घातक रुपमा लैजान लागेको भनी चिन्ताहरू हुन थालेका छन्। कतै पुटिनले आफ्नै देशको चेचन्यामा र सिरियामा आक्रमण गरेजस्तो ध्वस्तै हुनेगरि युक्रेनमा सैन्य कारवाही त गर्ने होइनन् भन्ने चिन्ताहरू छाएका छन् ।

पुटिन आफ्नो उद्देश्य पुरा गर्न कुनै धनजनको क्षति नहेर्ने गरेको पृष्ठभूमि रुसी गणतन्त्र चेचन्याली विद्रोह दमनमा र सिरियामा भएको हमलाबाट देखिन्छ । सोभियतको विरासत फर्काइने लहडमा रहेका पुटिनले कतै युक्रेनबाट भोगेको प्रतिरोधको सामना गर्न विध्वंसक हमला गर्ने जोखिम छ । रुसले युक्रेनको खार्किभ लगायत सहरहरूमा गरेको हमलाको स्तर हेर्दा पुटिनले युक्रेनमा पनि ठूलो मानवीय र भौतिक क्षति पुर्‍याउने देखिन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : ३६ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको